१६ चैत/अर्थ र व्यापार – सुनको मुल्य नेपालको इतिहासमै सबैभन्दा धेरै बढेर शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
पछिल्लो समय अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै विश्व बजारमा सुनको मूल्य थप अकासिएको छ । बैंक ब्याजदर निरन्तर घटेपछि अहिले निक्षेपकर्ताहरु समेत बहुमुल्य बस्तु सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् ।
यसैगरी, मुलुकको अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेको पाइएको छ । यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । महासंघका अनुसार शुक्रबार असली चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया