३ फागुन/अर्थ र व्यापार – सेयर बजारमार्फत सरकारले पाउने पुँजीगत लाभकर माघ महिनामा बढेको छ । सिडियस एण्ड क्लियरिङ लिमिटेड(सिडियससी)का अनुसार लगानीकर्ताहरुले माघमा ९७ करोड २० लाख ३७ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्।
यो रकम पुसको तुलनामा झण्डै २३ करोड रुपैयाँ बढी हो । सेयर बजारमार्फत सरकारले पुसमा ७४ करोड ३९ लाख रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो। माघ पहिलो साता सेयर बजार २२१५ विन्दुसम्म पुगेको थियो। लगानीकर्ता प्रोफिट बुकिङमा लागेका थिए । एकै दिन १० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो। प्रोफिट बुकिङ र उच्च कारोबारका कारण पुँजीगत लाभकर बढ्न पुगेको हो।
सेयर लगानीकर्ताले माघमा तिरेको लाभकर विवरणमा सिडियसीको तथ्यांक अनुसार माघमा सर्टटर्म लगानीकर्ताबाट मात्र ७४ करोड १३ लाख ८७ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ। यस्तै दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ बुझाएका छन्। संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँ लाभकर संकलन भएको तथ्यांक छ।
पुसमा सर्टटर्म लगानीकर्ताबाट ५२ करोड ४४ लाख, दीर्घकालिन लगानीकर्ताबाट १७ करोड २८ लाख र संस्थागत लगानीकर्ताबाट ४ करोड ५८ लाख लाभकर उठेको थियो।
तपाईको प्रतिक्रिया