१५ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको बजेट विशेषगरि खर्च कटौतीमा केन्द्रित छ ।
कुल विनियोजन बजेट मध्ये चालुखर्च तर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ अर्थात् १७.५५ प्रतिशत रहेको छ। यो रकम चालु आवको तुलनामा २ दशमलब ३७ प्रतिशतले न्युन हो ।
चालु आवकालागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
विशेष गरि खर्च कटौतीमा जोड दिएर ल्याएको यो नयाँ बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटाईएको छ ।
चालु आर्थिक वर्षमा मन्त्रालयले चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो । तर, आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट पाएको छ ।
यसैगरि, अर्थमन्त्री महतले विभिन्न सडकमार्गहरुको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने बताएका छन । सरकारले यो बजेट मार्फत ६ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ ।
तपाईको प्रतिक्रिया