logo

संघिय राजधानी केन्द्रित वैदेशिक लगानी , कुल लगानीको ४३ प्रतिशत हिस्सा काठमाडौंमै

    752   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पछिल्लो ४ महिनामा नेपालमा २३ अर्ब बढीको वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८ / ७९ को वितेको चार महिना गत साउन महिनादेखि कात्तिक महिनासम्म विभिन्न ११० परियोजना मार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 
गत आवको सोही अवधीको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ बढीले लगानी प्रतिवद्धता आएको छ तर, यसरी वृद्धि भएको लगानी प्रतिवद्धता भने मुलुकको संघिय राजधानी काठमाडौं केन्द्रित हुँदैं गएको देखिन्छ ।
गत आवको यही अवधिमा नेपालमा एकसय परियोजना मार्फत १९ अर्ब ७० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यो वर्ष बढेर २३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसरी, वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गर्दा लगानी भने संघीय राजधानी काठमाडौं केन्द्रित भएको देखिन्छ । धेरैजसो वैदेशिक लगानीकर्ताहरुले विभिन्न साना ठूला परियोजनाहरु काठमाडौंमै निर्माण गर्नेगरि विभागमा लगानी प्रतिवद्धता गरेको पाईएको छ । चालु आवको पछिल्लो ४ महिनामा काठमाडौंमै केन्द्रित रहेर ६३ उद्योगले १० अर्ब ३४ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । 
चालु आवको वितेका ४ महिनामा आएको कुल वैदेशिक लगानीको ४३ प्रतिशत बढी लगानी काठमाडौंमै केन्द्रित रहेको विभागले जनाएको छ । पछिल्लो ४ महिनामा काठमाडौंमा आएको वैदेशिक लगानी प्रतिवद्धता मध्ये सबैभन्दा बढि प्रतिवद्धता भने पर्यटन क्षेत्रमा आएको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा काठमाडौंमा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 
यस्तै, सेवा क्षेत्रमा पनि यस अवधिमा २ अर्ब ५८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रका उद्योगमा ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । पछिल्लो ४ महिनामा काठमाडौंमा उत्पादनमुलक र सूचना प्रविधि क्षेत्रमा क्रमशः ३५ करोड र ३० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।
अझ गत आर्थिक बर्षमा काठमाडौं केन्द्रित लगानी प्रतिबद्धता झण्डै दोब्बर रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं केन्द्रित वैदेशिक लगानी प्रतिवद्धतामा ६५ प्रतिशत कम प्रतिबद्धता आएको विभागको तथ्यांकमा छ । गत आर्थिक बर्षको पहिलो ४ महिनामा काठमाडौं केन्द्रित वैदेशिक लगानी १५ अर्ब ७३ करोड रुपैयाँ बराबरको आएको थियो ।
विभागका अनुसार चालु आवमा काठमाडौं जिल्ला पछि दोस्रो धेरै वैदेशिक लगानी प्रतिवद्धता पाउने जिल्ला ललितपुर रहेको छ । चालु आवको  वितेका ४ महिनामा ललितपुर जिल्लाका लागि भन्दै ६ अर्ब ३० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यस्तै पछिल्लो ४ महिनामा भक्तपुर, बारा, धादिङ लगायत गरी ११ जिल्लामा लगानीको प्रतिवद्धता आएको छ । यी सबै जिल्लामा आएको लगानी प्रतिवद्धता मार्फत ७ हजार २ सय ८१ जनाले प्रत्यक्ष रोजगारी पाउने सो प्रतिवद्धतामा उल्लेख गरिएको छ । 
काठमाडौंमा मात्र हालसम्म १ खर्ब १४ अर्ब रुपैयाँ वैदेशिक लगानी
उद्योग विभागका अनुसार नेपालमा कानुनी रुपमा वैदेशिक लगानी भित्रिन थालेयता काठमाडौंमा मात्रै १ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतवद्धता आएको छ । यो हालसम्म आएको कुल वैदेशिक लगानी प्रतिवद्धताको ३४ प्रतिशत हो । हालसम्म नेपालमा कुल ३ खर्ब ८५ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
वैदेशिक लगानीकर्ताहरुले काठमाडौंमा खासगरी सेवा तथा पर्यटन क्षेत्रका उद्योगमा रुचि देखाउँदा यो लगानी अन्य जिल्लाको तुलनामा बढ िदेखिन्छ । विभागका अनुसार हालसम्म वैदेशिक लगानीकर्ताहरुले काठमाडौंमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको देखिन्छ । यो क्षेत्रमा विदेशी लगानीकर्ताहरुले ५५ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका छन् ।
यसैगरि, काठमाडौंमै केन्द्रित रहेर विदेशी लगानीकर्ताहरुले सेवा क्षेत्रमा पनि सोहीअनुसारको लगानी प्रतिवद्धता जाहेर गर्ने गरेको देखिएको छ । काठमाडौंमा मात्रै सेवा क्षेत्रमा हालसम्म ४४ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ । यस्तै हालसम्म उत्पादनमुलक क्षेत्रमा पनि काठमाडौं केन्द्रित १० अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका तथ्यांक अनुसार हालसम्म धेरै वैदेशिक लगानी प्रतिवद्धता पाएका जिल्लाहरुमा ललितपुर रसुवा र कालिकोट छन् । यी ३ जिल्लामा हालसम्म क्रमशः ४० अर्ब, ४० अर्ब, ३३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
सबैभन्दा धेरै लगानी चीनबाट
चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा काठमाडौंले भित्र्याएको कुल वैदेशिक लगानीका १० अर्ब ३४ करोडको ९५ प्रतिशत लगानी प्रतिवद्धता चीनको छ । उद्योग विभागका चीनबाट यस अवधिमा काठमाडौंमा विभिन्न उद्योग परियोजना संचालन गर्नेगरी ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । कुल ५४ परियोजनामार्फत आएको यस्तो परियोजनाले ३ हजार ६ सय १० जनालाई रोजगारी सिर्जना गर्ने बताईएको छ । यस्तै यस अवधिमा काठमाडौंमा अमेरिका, नेदरल्याण्ड जापान भियतनामलगायतका देशहरुबाट लगानीको प्रतिवद्धता आएको छ ।
यता हालसम्मकै तथ्यांक हेर्दा काठमाडौंमा भित्रिएको कुल लगानी प्रतिवद्धताको ५८ प्रतिशत हिस्सा चीनले ओगटेको छ । नेपालमा वैदेशिक लगानी प्रतिवद्धता आए यताको तथ्यांकमा काठमाडौंमा मात्रै चीनले हालसम्म ७६ अर्ब ९२ करोड रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको छ । यस्तै काठमाडौंमै धेरै लगानी भित्र्याउने अन्य देशहरुमा क्रमशः भारत, हंगकंग, बेलायत, सिंगापुरलगायत देशहरु रहेका छन् । हालसम्म विश्वका ८२ देशहरुले काठमाडौंमा लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।