–राजन सिंखडा
अध्यक्ष
अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि
चर्चित युवा पर्यटन व्यवसायि राजन सिंखडा नेपालमा पर्यटन क्षेत्रको विकासका लागी पूर्वाधार निर्माण सवैभन्दा महत्वपूर्ण रहेको वताउँछन । पूर्वाधारहरुको निर्माण र सुधार विना पर्यटन क्षेत्रको विकास सम्भव नरहेकोले राज्यको ध्यान पूर्वाधार निर्माणमा जानैपर्ने उनको भनाई छ । अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि का अध्यक्ष,ठमेल ईको रिसोर्ट तथा ठमेल मःम हटका निर्देशक सिंखडा नेपाल योग एशोशियसनका महासचिव पनि हुन । सिंखडाले नेपाल योगा रिट्रिट र हिमालयन योगा सेन्टर पनि सञ्चालन गरिरहेका छन । उनै सिंखडासंग अर्थ र व्यापारले गत वर्षको भुकम्प र नाकाबन्दी पछिको पर्यटन क्षेत्र पुनरुत्थानको गति,पदयात्रा पर्यटन,योग पर्यटन तथा समग्र पर्यटन क्षेत्रको विषयमा विशेष कुराकानी गरेको छ । प्रस्तुत छ–कुराकानीको सम्पादीत अंश ः
० गत वर्ष भुकम्प र नाकाबन्दीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र यस वर्षको नोभेम्बर सम्म आईपुग्दा कहाँ आईपुगेको छ ? पर्यटन क्षेत्रको पुनरुत्थान कसरी भईरहेको छ ?
गत वर्षको तुलनामा केहि न केहि पुनरुत्थान भएकै हो । प्रतिशतका हिसावले गत वर्ष भन्दा करिव ३० प्रतिशत पर्यटक बढेकै हो तर भुकम्प भन्दा अगाडीको नेपाल आउने पर्यटकको संख्या करिव आठ लाख पु¥याउन सन २०१८ सम्म नै कुर्नुपर्छ । भुकम्प पछाडी पर्यटनको पुनरुत्थान हुन नसक्नुका पछाडी पुर्ननिर्माण नै सह ढंगले अगाडी नबढ्नु प्रमुख कारण हो । सरकार आँफैले पुर्ननिर्माणका लागी केहि गर्न सकेन । संसारभर नेपाल सरकारको छवि विग्रियो । नेपालको सरकार भ्रष्ट छ भनेर संसारभर प्रचार भयो र पर्यटकहरु नेपाल आएनन ।
वास्तवमा हुनुप¥थ्यो त के भने भुकम्पलाई हामले अवसरको रुपमा लिनुपर्ने थियो । पुर्ननिर्माण गर्दा हामीले अवसरको रुपमा त्यसलाई लिनुप¥थ्यो । भुकम्प पछि हामीले विमानस्थलहरुको सुधार गर्नुप¥थ्यो, गाउँहरु व्यवस्थित र योजनावद्ध ढंगले विकास गर्नुप¥थ्यो । पहिलो कुरा प्राधिकरण गठन हुनै ढिला भयो, गठन भएपछि पनि काम राम्रो छैन । हामीकहाँ परिवर्तन भयो तर प्रगति भएन । जस्तो मुग्लिन–नारायणघाट सडकको कुरा गरौं,३६ किमि रोड वनाउनलाई तीन वर्ष लाग्ने भनेको के हो ? यसको कारण चितवनको पर्यटन कसरी खस्कियो ? हामीले यता तिर ध्यान नै दिन सकेनौं । यस्ता काम त राष्ट्रिय प्राथमिकतामा पर्नुप¥यो नि । हामी विश्व पर्यटन वजारको तुलनामा प्रतिस्पर्धी नै हुन सकेनौ । आज तिव्वत, भारत र भुटानका सडकहरु हेरौं । एकातिर हामीले प्रतिस्पर्धा तिव्वत र भारतसंग गरिरहनुपरेको छ भने अर्कोतिर उनीहरुको तुलनामा हाम्रा पूर्वाधारहरु निकै कमसल खालका छन,अनि कसरी उनीहरुसंग प्रतिस्पर्धी हुन सकिन्छ ? अर्को नितिगत समस्या जस्ताको तस्तै छ । अझै पनि मनासलु जाँदा एक जना मात्र पर्यटकले पर्मिट नपाउने अवस्था छ । तिव्वतमा निशुल्क पर्यटक जान सक्छन भने हामीले मुस्ताङ र डोल्पोमा पैसा लिईरहनुको के अर्थ ? जवकि ५–७ दिनमा मुस्ताङको पदयात्रा सकिन्छ भने दश दिनको पर्मिट गराईरहनुको के अर्थ ? यस्ता नितिगत विषयमा सम्बोधन गर्नैपर्छ ।
० आजकाल पदयात्राका लागी कस्ता पर्यटकहरु नेपाल आईरहेका छन ? व्यवसायिहरु विचकै अस्वस्थ प्रतिस्पर्धाले पदयात्रा पर्यटनमा समस्या निम्तिएको भनिन्छ,के यो यथार्थ हो ?
चिनियाँ पर्यटकहरु आउनको लागी वोर्डर नै खुल्ला छैन । वोर्डर नै खुल्ला नभएपछि चिनियाँ पर्यटक कसर आउने ? हाम्रो दक्षिणको छिमेकी भारतवाट पर्यटकहरु आउन सडकको अवस्था राम्रो छैन । सिजनमा काठमाडौ–दिल्लिको हवाई भाडा ५६ हजार रुपैयाँ सम्म पुगेको अवस्था हो ,जवकि कलकत्ता–मलेसया को टिकट सात हजार छ । अनि कसरी पर्यटकहरु नेपाल आउँछन त ? हाम्रो पर्यटन ब्याकप्याकर भन्दा माथि उठ्नै सकेन । त्यसमाथि हामी भित्रै अस्वस्थ प्रतिस्पर्धा यसरी बढ्यो कि मुल्य घटाघटमा हामीले प्रडक्टहरु वेच्न थाल्यौं । हामीकहाँ कुनै मापदण्ड नै भएन । समस्या के हो भने हामीसंग कुनै बेन्चमार्किङ भएन । पैसा घटायो भने पर्यटक वढ्छ भनेर हामी मुल्य घटाउने तिर लाग्यौ ं,जुन सत्य होईन । व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेकै हो । नेपालको पर्यटन क्षेत्र दिर्घकालिन सोचले अगाडी बढ्नै सकेन । मुल्य घटाउने भन्दा पनि व्यवसायिक ढंगले अगाडी बढ्नुप¥यो । यहाँ त ३० डलरको होटलको रुम १६ डलरमा बेचिरहेका छन । त्यसैले अव ट्रेकिङलाई ५० डलरभन्दा घटिमा बेच्नै नपाउने,तारे होटलले निश्चित रकम भन्दा कममा रुम बेच्न नपाउने भनेजस्तो कुनै न कुनै मापदण्ड चाहिन्छ नै । मुल्य कटौती भन्दा पनि सेवा बढाउने तिर लाग्नुपर्छ वा भनौं व्यवसायिक हुनुप¥यो ।
० तपाईंले पूर्वाधार विकास नभएका कारण नेपालको पर्यटन क्षेत्रको विकास नभएको वताउनुभयो, हामीकहाँ कस्ता पूर्वाधारहरु विकास गर्नु आवश्यक छ ?
उदाहरणको लागी भनौं, सन १९८५ मा पनि पर्यटकलाई काठमाडौं वाट पोखरा जान ६ घण्टा लाग्दथ्यो, आज २०१६ मा पनि ६ घण्टा नै लाग्दछ । सन १९८५ मा पनि चितवन जान चार घण्टा लाग्दथ्यो भने आज पनि चारै घण्टा लाग्छ वा भनौं अझै वढि लाग्छ । सडकहरु त्यतिवेला भन्दा झन जीर्ण भएका छन । मान्छेको आतिथ्यता प्रदान गर्ने तरिका पनि हिजो जस्तो नम्र छैन । हामीकहाँका पूर्वाधारहरु अन्तर्राष्ट्रिय गन्तव्यहरुका तुलनामा प्रतिस्पर्धि हुन सकेका छैनन तर प्रतिस्पर्धा भने हामीले अन्तराष्ट्रिय पर्यटकिय गन्तव्यहरु संग गर्नु परिरहेको छ । भुटानमा अहिले सडक चौडा पारिँदै छ । हामीकहाँ भएका विमानस्थलहरु व्यवस्थित हुनुप¥यो, नयाँ विमानस्थलहरु वनाउनै पर्छ, काठमाडौ–पोखरा सडक, काठमाडौ–चितवन सडक सुधार गर्नुप¥यो । कोरिडोरहरु खोल्ने कुरा पन्ध्र वर्ष देखि भईरहेको छ,तर किन आज सम्म खुलाउन सकिएको छैन ? सधैं काठमाडौंमा खाल्डा खुल्डी नै हुनुपर्ने ? किन विकासको लयमा हामी अगाडी वढ्न सकेका छैनौं । समस्या यहि हो कि हामीले पूर्वाधारहरुको विकास नै गर्न सकेनौं ।
त्यतिमात्र होईन हामीकहाँ पर्यटनको विषयमा अध्धयन अनुसन्धान नै हुन सकेन । यसको लागी एउटा पर्यटन सर्भे गर्नैपर्छ,जसवाट कस्ता किसिमका पर्यटकहरु नेपाल आउँछन भन्ने थाहा हुन्छ । नेपाल आउने पर्यटकलाई सवैभन्दा मनपर्ने विषय के हो त ? मान्छे के का लागी नेपाल आउँछन त भन्ने तथ्यांक भएपछि पो हामीले कुन क्षेत्रमा पूर्वाधार विकास गर्ने भन्ने सहि जानकारी आउँछ । तर हामीकहाँ कुनै तथ्यांकै छैन ।
० तपाईंले गत वर्ष भन्दा करिव ३० प्रतिशतले पर्यटक वृद्धि भएको वताईरहको अवस्थामा होटल क्षेत्र कसरी टिकिरहेको छ ? त्यसमाथि गएको एक वर्षमा धेरै होटलहरु थपिएका छन,होटलहरुको भविष्य कस्तो छ ?
भन्नैपर्छ, धेरै होटलहरुको हालत खराव छ । घाटै खाएर पनि सञ्चालन गर्नुको विकल्प छैन । तर आज पर्यटक नआए पनि भोलि पर्यटक बढ्न सक्छ भन्ने आशा त छ नी । यहि स्थिति रहिरहे र पर्यटकको संख्या वढाउन सकिएन भने अस्वस्थ प्रतिस्पर्धा वढ्छ र अनि फेरी हायातले ३५ डलरमा रुम बेच्नुपर्ने दिन आउन सक्छ ।
० प्रसंग बदलौं, तपाईं नेपाल योग एशोशियसनको महासचिव पनि हुनुहुन्छ । हाल नेपालमा योगका लागी आउने पर्यटकहरुको संख्या वढेको हो ?
सवैभन्दा महत्वपूर्ण ढंगले बुझ्नुपर्ने कुरा के हो भने पर्यटकिय दृष्टिकोणले हाम्रो देशको सशक्त पक्ष के हो हामीले पहिचान गर्नैपर्छ । हिमालयको देश नेपालमा आध्यात्मीक पर्यटनको असाध्यै सम्भावना छ । हामी नेपालीहरुले विश्वमै उत्कृष्ठ घडी,मोवाईल वा टेलिभिजन हामी उत्पादन गर्छौ भनेर कसैले वश्वास गर्ने वाला छैन तर नेपालमा उत्कृष्ठ योगा सेन्टर छ भन्दा सवैले विश्वास गर्छन । वास्तवमा भन्ने हो भने नेपालको सशक्त पक्ष भनेकै योगा र अध्यात्मिक पर्यटन हो । आज न्युयोर्कमा उत्कृष्ठ योगा सेन्टर हुने तर योगाको सुरु भएको नेपालमा एउटा योगा सेन्टर नहुने ? हामीसंग योगाको चार हजार वर्षको ईतिहास हुने तर हामीकहाँ उत्कृष्ठ योगा सेन्टर नहुनु लाजमर्दो कुरा हो । आजका दिनमा हामीले ईन्टरनेट मार्फत नेपाल योगका लागी उत्कृष्ठ देश हो भनेर प्रचार–प्रसार गर्न सकेको खण्डमा नेपालमा योगा गर्नकै लागी भने वर्षेनी प्रशस्तै पर्यटकहरु आउँछन । अहिले पनि वार्षिक करिव बाह्र हजार पर्यटक योग,विपश्यनाका लागी नेपाल आउँछन ।
० हाल नेपालमा योग पर्यटनको कस्तो किसिमको अभ्यास भईरहेको छ ? योग पर्यटनको विकासको लागी सरकारी भुमिका के हुनु आवश्यक छ ?
नेपालमा पदयात्राका लागी पर्यटकहरु आउँछन,पदयात्रा आँफैमा योगा हो । अध्यात्म त हामीसंग छ तर त्यसलाई सहि ढंगले प्रस्तुती र वजारीकरण गर्न सक्नुपर्छ । नेपालमा अध्यात्म त्यसै पनि छ तर त्यसलाई सहि ढंगले प्रस्तुत गर्नकै लागी हामी योगगुरुहरु राखेर स्टुडीयो मार्फत योगा गराईरहेका छौं । भएको कुरालाई पनि कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हो । हामी व्यवस्थित ढंगले योगा गराईरहेका छौं । नेपालमा योगा विश्वविधालय खोल्नुपर्छ र नेपालमा अध्यात्मिक गाउँ बनाउनुपर्छ जहाँ विदेशीहरु योगा र अध्यात्मका लागी आउन र जीवन जीउन सिकुन भन्ने मेरो सोच हो । वास्तवमै नेपालमा विश्वको एक नम्वर योगा सेन्टर खोल्न सकिन्छ । अहिले योगका लागी पनि हामीले भारतसंग प्रतिस्पर्धा गरिरहनु परेको छ । तर योगको लागी भारत भन्दा पनि नेपाल उत्कृष्ठ हो भन्ने प्रचार हामीले गर्न चाहेका हौं ।
तपाईको प्रतिक्रिया