नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा निर्वाचित भएपश्चात यसका अध्यक्ष कृष्णप्रसाद दुलाल विभिन्न सरकारी निकायहरुसंग यो क्षेत्रको नितिगत समस्या समाधानका लागी सक्रिय छन । यसै सन्दर्भमा अर्थ र व्यापारले नाडाका अध्यक्ष दुलालसंग अटो क्षेत्रको वर्तमान अवस्था,यसका चुनौति र सम्भावनाहरु वारे कुराकानी गरेको छ । प्रस्तुत छ–नाडाका अध्यक्ष दुलालसंगको कुराकानीको सम्पादित अंश :
० नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा निर्वाचित भएर आएपछि के –कस्ता एजेण्डाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
नाडाको ४३ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निवार्चित भएपछि मैले यो क्षेत्रका समग्र व्यवसायीहरूको व्यवसायिक हकहितका लागि काम गर्ने नै हो । नाडाले व्यवसायीहरूका लागि व्यवसायिक वातावरण निर्माणका लागि नीति बनाउन सहयोग गर्ने नै हो । हाल अटोमोबाइल व्यवसाय शिथिल अवस्थामा छ । अटोमोबाइल क्षेत्र यस्तो क्षेत्र हो जसले समग्र अर्थतन्त्रलाई नै चलायमान गराउँछ । व्यवसायी भनेको सरकारले तोकेको कर तिरेर केही नाफा राखेर काम गर्ने हो । व्यवसायीले कानुन बनाउने पनि होइन र करको दर तोक्ने पनि होइन ।
नेपालमा अटोमोबाइल क्षेत्रको विकास नहुनुको प्रमुख कारण सडकको विकास नहुनु हो । व्यवसायसँगै सडक पूर्वाधारको समेत विस्तार हुनुपर्छ । त्यसका लागि बैंकले लगानीलाई सहज बनाउनु पर्छ । हामीले केही दिनअघि राष्ट्र बैंकका गभर्नरलाई भेटेर समेत यो विषय राखेका छौ ं। पूर्वाधारमा लगानी भयो भने बाटोघाटोको विस्तार त हुन्छ नै त्यसले सवारी बजारलाई समेत विस्तार गर्छ । त्यसैले यो विषयमा सरकार र व्यवसायी सँगसँगै अघि बढ्नु पर्ने हुन्छ । यस विषयमा मैले बारम्बार कुरा उठाउँदै आएको छु ।
० सरकारले एकातिर राजश्व उठाउने प्रमुख क्षेत्र पनि अटोमोवाईल्स नै हो भने अर्कोतिर यो क्षेत्रमा गरिने लगानीलाई पनि कसिँदै आएको देखिन्छ । अटोमोवाईल्स क्षेत्रको विकासका लागी सरकारले के गर्नु आवश्यक छ ?
पहिले मोटरसाइकलको अन्तः शुल्क र सडक मर्मत दस्तुर कम थियो । धेरै मानिसको पहुँचमा थियो र बिक्री हुन्थ्यो अनि सरकारलाई राजस्व पनि आउँथ्यो । तर, अब त्यस्तो हुँदैन । जसरी करका दर बढेका छन, यसले सवारीको पहुँच कम हुन्छ र त्यसको असर बिक्रीका साथै सरकारी राजस्वमा समेत पर्छ । हरेक नेपालीको घरमा एउटा कार नभए पनि कम्तीमा एउटा मोटरसाइकल हुनुपर्छ । आय स्रोत राम्रो नभएकाले गाडी नै किन्नुपर्छ भन्ने सरकारी भनाइ नकारात्मक नै होइन । यस विषयमा सरकारी निकायहरु संग कुराकानी गरिरहेका छौं ।
सरकारले सडकको गुणस्तर सुधार र विस्तारमा मुख्य ध्यान दिनुप¥यो । मर्मतका लागि उठाइएको कर खर्च भएको छैन । त्यो खर्च गर्नुर्पयो । वर्षौंदेखि सुनिएको नयाँ रिङरोड बनाउनुप¥यो,फास्टट्रयाक सम्पन्न गर्नुप¥यो, फ्लाइओभर ब्रिज, अन्डर पास, नदी किनारको करिडोर बनाउनुप¥यो । जसका कारण सवारी सहज रुपमा कुदाउन वातावारण बनोस । यहि सडक कायम गरेर अटो क्षेत्रको अपेक्षाकृत विकास हुन सक्दैन ।
० सरकारले आर्थिक वर्ष २०७५/ ७६ मा सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क र सडक मर्मत दस्तुर इन्जिन क्षमताका आधारमा वृद्धि गरेको छ । यसले यो क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
सरकारको उक्त व्यवस्थाले विशेष गरी बढी इन्जिन क्षमताका मोटरसाइकलको व्यवसाय धराशायी बनेको छ । पहिले धेरै मानिसको पहुँचमा थियो र बिक्री हुन्थ्यो अनि सरकारलाई राजस्व पनि आउँथ्यो । जसरी करका दर बढेका छन, यसले सवारीको पहुँच कम भएको व्यवसायीहरूले महशुस गरेका छन् । त्यसको असर बिक्रीका साथै सरकारी राजस्वमा समेत परेको देखिएको छ । सडक मर्मत शीर्षकबाट उठेको रकम सडक विस्तारमै खर्चनु पर्छ । यसले सडक दुर्घटना न्यूनीकरण गर्न समेत सहयोग पु¥याउँछ । नाडाले समेत सवारी दुर्घटना कम गर्न पहल गर्नेछ । शिक्षित व्यक्तिलाई चालक बनाउने, चालकलाई लाइसेन्स दिने प्रणालीमा सुधार हुनुपर्ने, चालकको ड्रेस कोड हुनुपर्ने, भेइकल फिटनेस टेस्ट सेन्टर लगायत सडक दुर्घटनासँग जोडिने विषयमा नाडाले आफ्नो सक्रिय भुमिका निर्वाह गर्नेछ ।
० नेपालमा सवारी एसेम्बलिङको सम्भावना कत्तिको छ ? यस विषयमा व्यवसायीहरुले के सोचिरहेका छन ?
नेपालमा सवारीको एसेम्बल प्लान्ट, उद्योग खुल्नु पर्छ । त्यो सरकारी तवरबाट होस् या निजी क्षेत्रबाट होस् । एसेम्बल प्लान्ट खुल्नका लागि बजारको जरुरी हुन्छ । नेपालमा त्यस्तो बजार नबनिसकेकाले यहाँ आधिकारिक बिक्रेता बनेर सवारी बिक्री गरिरहेका ठूला कम्पनीहरू आकर्षित हुनु नसकेको हो । बजारको सृजना गर्न सरकारले सहजीकरण गर्नुपर्छ । व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई एकै खालको सुविधा दिनुपर्छ । एउटा गाडी उद्योग चल्नका लागि कम्तिमा पनि १० हजार गाडी बिक्री हुनुपर्छ । एउटा कम्पनीको १० हजार गाडी बिक्री हुने वातावरण नेपालमा बनेको छ जस्तो मलाई त्यस्तो लाग्दैन । त्यसैले व्यवसायीहरू उपयुक्त समयको पर्खाइमा रहेको हुनुपर्छ । एसेम्बलिङ प्लान्टबाट नै हो पूर्ण उद्योग तर्फ जाने । दुईबाट मोटरसाइकल कम्पनीले एसेम्बल थालिसकेका छन् भने विस्तारै कार एसेम्बल पनि सुरु हुन्छ होला ।
तपाईको प्रतिक्रिया