ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१ आंै वार्षिक साधारणसभाको मिति आगामी भाद्र २० (सेप्टेम्बर ६) तोकिएपश्चात टानको आगामी नेतृत्वका विषयमा पदयात्रा व्यवसायीहरु विच बहस सुरु भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहेका सफल पर्यटन व्यवसायी अञ्जन थापा (कुमार) आँफुले टानको नेतृत्व लिन तयार रहेको वताउँदै आएका छन । आसाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक थापा होटल उडल्याण्ड काठमाडौं, व्युटिफुल काठमाडौं होटलका समेत सञ्चालक हुन । यसै सन्दर्भमा अर्थ र व्यापारले थापासंग टानको आगामी नेतृत्व, टानमा देखिएको गतिरोध, नेपाल भ्रमण वर्ष–२०२० लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ–थापासंगको कुराकानीको सम्पादीत अंश :
० टिम्स वापतको रकम टानले प्राप्त गर्न नसक्दा र अन्य कारणवश टान पछिल्लो समय समस्यामा पर्दै गएको बुझ्न सकिन्छ । यसैविच टानले ४१ औं वार्षिक साधारणसभा तथा आगामी निर्वाचनको मिती तोकेको छ । यस्तो अवस्थामा टानको आगामी नेतृत्व कस्तो हुनु आवश्यक छ ?
विगतका दुई तीन कार्यसमिति हेर्दा टान विभिन्न विवादमा फस्दै गर्ने र साधारणसभा पनि समयमै नगर्ने परिपाटी बसेकोमा यसपटक टान कार्यसमितिले सेप्टेम्वरमै साधारणसभा घोषणा गर्नु सकारात्मक विषय हो । विगतको अभ्यास हेर्दा टानको साधारणसभा सेप्टेम्बरमै गर्ने हो तर पछिल्ला केहि वर्ष त्यसो हुन सकेको थिएन । समयमै साधारणसभा घोषणा गरेकोमा टान कार्यसमितिलाई धन्यवाद दिनैपर्छ ।
ट्रेकर्स ईन्फर्मेशन म्यानेजमेण्ट सिस्टम (टिम्स) टान र नेपाल पर्यटन वोर्डको साझेदारीमा चल्ने हो । त्यति हुँदा हुँदै पनि पर्यटन वोर्डले टानलाई गर्ने निकृष्ठ व्यवहारले गर्दा समस्या निम्तिएको हो । समग्र टानको गतिविध नै यसका कारण समस्यामा परेको देखिन्छ । सवैको नजर टिम्समा पर्ने र टिम्स वापतको एक तिहाई रकम टानले प्राप्त नगर्दा समग्र टानको गतिविधिमा नै औंला उठाउने अवस्था आएको छ । तर वास्तवमा टानको १६–१७ सय त सदस्य कम्पनीहरु नै छन । वार्षिक ७०–८० लाख स्रोत त सदस्यहरुवाट नै संकलन हुन्छ । यि सवै विषयवस्तुहरुलाई बुझ्ने र सरकार, नेपाल पर्यटन वोर्डसंग गम्भिर ढंगले समस्या समाधानका लागी पहल गर्न सक्ने, अग्रज व्यवसायीहरुको सुझाव लाई ग्रहण गर्दै नयाँ र युवा व्यवसायीहरुको उर्जामा काम गर्न सक्ने व्यक्ति नै टानको आगामी नेतृत्वमा आउनुपर्छ भन्ने मलाई लाग्छ ।
० ट्रेकर्स ईन्फर्मेशन म्यानेजमेण्ट सिस्टम (टिम्स) नै आवश्यक छ कि छैन भन्नेमा पनि ट्रेकिङ व्यवसायीहरु विच बहस हुने गरेको देखिन्छ । यसका सन्दर्भमा देखिएको समस्या समाधानका लागी के गर्नु आवश्यक छ ?
यथास्थितिमा टिम्सको कुनै आवश्यकता छैन । यहि अवस्था रहने हो भने बरु करिव १०–१२ वर्ष अघि कायम रहेको ट्रेकिङ पर्मिटमा फर्किनु आवश्यक छ । ट्रेकिङ पर्मिट लागु हुँदा एकातिर पर्यटक कम्पनीवाटै पदयात्रामा जान बाध्य हुन्छन भने अर्कोतिर यसले रोजगारी वृद्धिमा पनि सहयोग पुग्छ । त्यसभन्दा अगाडी टान र नेपाल पर्यटन वोर्डसंग स्पष्ट कुरा हुन जरुरी छ । पर्यटन वोर्डले पनि टानसंग भएको सम्झौताका आधारमा अगाडी बढ्न जरुरी छ । टिम्सका सन्दर्भमा टान र नेपाल पर्यटन वोर्ड समान साझेदारीको विषयमा अगाडी बढेको हो । त्यहि आधारमा यसको समाधान खोजिनुपर्छ र सवै पक्ष गम्भिर हुने हो भने समस्या समाधान गर्न सकिन्छ ।
० पदयात्रामा जाँदा विभिन्न दुर्घटनामा परि मृत्युबहन गरेका मजदुरहरुले टिम्सको रकम नआउँदा क्षतिपुर्ति नपाएको वा धेरै ढिला पाउने अवस्था छ । यसविषयमा पनि गम्भिर भएर टानले सोच्नुपर्ने होईन ?
मजदुरहरुको क्षतिपूर्तिको सन्दर्भमा गम्भिर भएर सोच्नैपर्छ । नेपाल पर्यटन वोर्डले टानमा भएको बेरुजुको कारण देखाएर टिम्सको रकम रोकिराखेको छ । टानले पहल गर्दा पनि नेपाल पर्यटन वोर्डले यसमा पर्याप्त गम्भिरता देखाएको पाईंदैन । यसअघि पर्यटन वोर्डमा आन्दोलन भईरहँदा वोर्ड र टानको संयुक्त रुपमा अडिट भएको थियो । त्यसपश्चात पर्यटन वोर्डको भ्रष्टाचार लगायतका विषय समाधान हुने र टानलाई मात्र अल्झाईरहने परिपाटी गलत छ । यस विषयमा आगामी नेतृत्वले समाधान गर्नैपर्छ । यदि टिम्स नरहने हो भने पनि सवै पक्ष मिलेर छलफल गरि नयाँ व्यवस्था पनि कायम गर्न सकिन्छ । कम्पनी, टान र मजदुरहरु मिलेर मजदुरहरुको बिमाको व्यवस्थाका लागी नयाँ व्यवस्था पनि गर्न सकिन्छ । मजदुरहरुलाई क्षतिपूर्ति दिने सन्दर्भमा वर्षौंसम्म अल्झाएर राखिनु हुँदैन ।
० पदयात्रामा काम गर्ने मजदुर र व्यवसायीहरुबीचमा बारम्वार विवादको अवस्था आईरहन्छ । यसको सन्दर्भमा दीर्घकालिन समाधानको उपाय खोज्न के गरिनुपर्छ ?
पदयात्रा व्यवसायमा मजदुर र व्यवसायीहरुमा त्यति ठूलो अन्तर छैन । अधिकांश व्यवसायीहरु मजदुर, पोर्टर र गाईड हुँदै नै कम्पनीको सञ्चालक बनेका हुन । बढ्दो महंगी अनुसार मजदुरहरुको ज्यालामा समयसापेक्ष समायोजन गरिनुपर्छ । उनीहरुको बिमाका लागी पनि टान,कम्पनीहरु र मजदुर सवै पक्ष बसेर त्यसमा व्यापक छलफल गरेर उचित व्यवस्था कायम गर्न सकिन्छ ।
तर पछिल्लो समय देखापरेको समस्या नेपालमा आउने कम शुल्क तिर्ने पर्यटकहरुका कारण पनि आईरहेको छ । मुल्य घटाघटमा प्याकेज बेच्ने अस्वस्थ प्रतिस्पर्धाले न ट्रेकिङ कम्पनीहरुलाई फाईदा भएको छ, न त मजदुरलाई नै । सरकार र टानले यस विषयमा सोच्ने वेला आएको छ । यो विषयमा सही समाधान खोज्ने हो भने मजदुरहरुको समस्याको विषय पनि हल भएर जान्छ । हालसालै प्रकाशित एक तथ्यांक अनुसार नेपाल आउने पर्यटकको नेपाल बसाईं घट्दो छ र पर्यटकले प्रतिदिन गर्ने खर्च ४२ डलरमा घटेको छ । यसका कारण नेपाल आउने पर्यटकको बसाई लम्व्याउने र उनीहरुले गर्ने खर्च वढाउने तिर पनि सोच्नु आवश्यक छ ।
० पुराना ट्रेकिङ रुटहरु विग्रदो अवस्थामा छन, नयाँ ट्रेकिङ रुटहरुको निर्माणमा कसैले ध्यान दिएको देखिँदैन । यस्तो अवस्थामा कसरी पर्यटकको बसाईं लम्व्याउन सकिएला ?
हो, पुराना ट्रेकिङ रुटहरु विग्रँदो अवस्थामा छ । उदाहरणको लागी अन्नपूर्ण सर्किट २१ दिनको थियो, अहिले मुस्किलले १३–१४ दिनमा घटेको छ । नयाँ रुट बनाउने सन्दर्भमा पनि यसअघि म नै टानको कोषाध्यक्ष हुँदा पनि हामीले खप्तड, तल्लासोलु, धादिङको रुवि भ्याली लगायत १० वटा ट्रेकिङ ट्रायल निर्माण गरेका थियौं । पछिल्ला कार्यसमितिहरुले ति रुटहरुको प्रचार–प्रसार र वजारीकरणमा पर्याप्त ध्यान दिन सकेनन । अव टानले यस्ता कार्यहरुमा केन्द्रित भएर लाग्नु जरुरी छ । पछिल्लो समय टान अस्वभाविक राजनीतिक हस्तक्षेपको सिकार बन्यो, जसले गर्दा अग्रज र नयाँ दुवै व्यवसायीहरुको आस्था टानप्रति हराउँदै गएको हो । आम सदस्यहरुको आस्था टान प्रति कायम राख्न व्यवसायलाई बढाउने, प्रवद्र्धन गर्ने र वजारीकरण गर्ने काममा टानले आँफुलाई केन्द्रित गर्नैपर्छ ।
० पछिल्लो समय विभिन्न स्थानिय निकायहरुले उठाउने पर्यटन शुल्कको व्यवसायीहरुले विरोध गरेको देखिन्छ । शुल्कै नलिई पूर्वाधारको विकास कसरी गर्ने ?
स्थानिय निकायहरुको अधिकार एकातिर छ भने पर्यटक नेपाल आईसकेपछि नेपाल घुम्न पाउने उनीहरुको अधिकार अर्कोतिर छ । पर्यटकले विभिन्न शिर्षकमा सरकारी निकायलाई शुल्क बुझाएका नै छन । हरेक स्थानीय निकायले शुल्क लिने परिपाटी रहिरहे अन्त्यमा पर्यटन व्यवसाय नै ध्वस्त हुन जान्छ । पछिल्लो समय अख्तियारले स्थानिय निकायहरुले उठाएको शुल्क नउठाउन निर्देशन दिएको जानकारीमा आएको छ । यस विषयमा संघिय सरकारले नै एकद्वार ढंगले शुल्क उठाउने र त्यसको वितरणको उचित व्यवस्था कायम गर्न जरुरी छ ।
० सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्षको तयारी गरिरहेको छ । नेपाल भ्रमण वर्षलाई सफल पार्न टान र नीजि क्षेत्रको भुमिका कस्तो हुन्छ ?
नेपाल भ्रमण वर्ष पर्यटन क्षेत्रको लागी ठूलो उत्सव हो । तर त्यति हुँदा–हुँदै पनि भ्रमण वर्षको विषयलाई लिएर पर्यटन क्षेत्रमा ठूलो उत्साह देखिँदैन । नेपाल भ्रमण वर्षकै संयोजक पर्यटन क्षेत्र भन्दा वाहिरको व्यक्ति भएको भन्दै पर्यटन क्षेत्रवाटै विरोध आएको छ । त्यतिमात्र होईन, आजका दिनसम्म नेपाल पर्यटन वोर्डले विभिन्न ट्राभल फेयरमा जाने वाहेकको अन्य केहि काम गरेको छैन । यहि अवस्था कायम रहे भ्रमण वर्ष सफल पार्न कठिन छ । अव सिएनएन, बिबिसि, एनएचके लगायतका टेलिभजनहरुमा नेपालको प्रचार–प्रसार सामग्रीहरु प्रशारण गर्नैपर्छ र मास मिडिया प्रवद्र्धनमा लाग्नैपर्छ । अर्कोतिर नेपाल वायुसेवा निगमवाट कमसेकम १० वटा वोईङ चलाउन सक्ने वातावरण निर्माण गर्न सकियो भने विश्वका विभिन्न गन्तव्यहरुमा उडान गर्न सकिन्छ । त्यो वातावरण निर्माण गर्न सकियो भने २० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।
० सरकारले ट्रेकिङ व्यवसायमा धरौटी वृद्धिको व्यवस्था गर्दैछ भन्ने जानकारी आएको छ । यसका सम्बन्धमा यहाँको धारणा के छ ?
पर्यटन व्यवसाय, त्यसमा पनि पदयात्रा व्यवसाय भनेको मजदुर हुँदै मालिक हुने व्यवसाय हो । हाल २५ लाख धरौटीको कुरा सुन्नमा आएको छ, त्यो कुनै पनि हालतमा हुनु हुँदैन । यस्तो व्यवसायमा २५ लाख धरौटी पु¥याउनु भनेको यहि देशमा बसेर व्यवसायी बन्न चाहने आम युवाहरुलाई निराश पार्नु हो । यो एक किसिमको सिन्डिकेट नै हो, त्यो हामीहरुलाई कुनै पनि हालतमा स्विकार्य हुँदैन । यस विषयमा टानले पहल गर्नैपर्छ ।
० अन्त्यमा, टानको नयाँ नेतृत्वका विषयमा पनि बहस हुन थालेको छ । तपाईं पनि टानको आगामीअध्यक्ष पदको आकांक्षी हो ?
ट्रेकिङ व्यवसायमा नै लागेको करिव २५ वर्ष भयो । त्यसका साथै होटल लगायतका पर्यटन व्यवसायमा पनि संलग्न हुँदै आएको छु । यसअघि पनि टानमा कोषाध्यक्षको रुपमा काम गरिसकेको छु भने एकपटक महासचिव पदमा पराजित पनि भईयो । यस भन्दा अघिल्लो निर्वाचनमा नै धेरै अग्रज व्यवसायी र साथीभाईले मलाई टानको नेतृत्व गर्न सुझाव दिनुभएको थियो । तर पछिल्लो अवस्थामा मैले नवराज दाहाललाई छोडेको हुँ । त्यतिवेलै यस वर्ष मैले टानको नेतृत्व गर्ने भन्ने एक किसिमको सहमति भएकै हो । त्यसैले भए सहमतिवाट सर्वसम्मत रुपमा नेतृत्व लिन तयार छु, यदि सहमति तोडियो भने चुनावी प्रक्रियावाट भएपनि टानको नेतृत्व लिन तयार छु । त्यसैकारण पनि अग्रज व्यवसायीहरु र आम युवा पर्यटन व्यवसायीहरुले पनि यस वर्ष मलाई टानको नेतृत्व लिन सुझाव दिईरहनु भएको छ । मैले पनि नेपालको पदयात्रा पर्यटन र टानमा देखिएका समस्याहरुलाई समाधान गर्न सकिन्छ कि भनेर यसपटक टानको अध्यक्ष पदमा जाने धारणा वनाएको हुँ । विगतका अनुभव,अग्रज पर्यटन व्यवसायीहरुको सुझाव र युवा साथीहरुको उर्जालाई समाहित गरेर काम गर्न सकिन्छ भनेर नै टानमा नेतृत्व गर्ने धारणा वनाएको हुँ । हालसम्म सवैतिरवाट सकारात्मक नै सुझाव पाएको छु । सवैको साथ रहेमा पक्कैपनि टानको गरिमा उच्च गर्दै नेपालको पदयात्रा पर्यटनलाई सही दिशामा अगाडी बढाउन सकिन्छ भन्नेमा विश्वस्त छु ।
तपाईको प्रतिक्रिया