प्रेम कुमार खत्री
प्रबन्ध निर्देशक
एस दि हिमालय ट्रेकिङ प्रा.लि.
युवा पर्यटन व्यवसायि प्रेम कुमार खत्री पछिल्लो समयका एक सफल व्यवसायि मानिन्छन । एस दि हिमालय ट्रेकिङ, एस दि हिमालय ट्राभल प्रा.लि.का प्रबन्ध निर्देशक खत्री व्यवसायका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन । विशेषगरी देशभित्र पूर्वाधारहरुको निर्माण गर्न सके पर्यटन क्षेत्रको विकास हुनसक्छ भन्ने सोच राख्ने खत्री सामाजिक संस्था सम्भव नेपालका अध्यक्ष पनि हुन । उनै व्यवसायी खत्री संग अर्थ र व्यापारले पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना तथा व्यवसायिक संस्थाहरुको गतिविधिमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ–कुराकानीको सम्पादीत अंश :
० हालसम्म आईपुग्दा भुकम्प पछिको दुई बर्षको अवधिमा नेपालको पर्यटन क्षेत्रमा कत्तिको पुनरुत्थान भएको अवस्था छ ?
भुकम्प पछिको दुइ वर्षमा पर्यटन क्षेत्रमा रिकभरी पुर्ण रुपमा हुन सकेका छैन । मेरै आफ्नै कम्पनीको कुरा गर्दा पनि पहिलेको जस्तो पर्यटक आएका छैनन र समग्र देशको पर्यटन क्षेत्रको कुरा गर्दा पनि अवस्था त्यहि हो । भुकम्प मात्र भन्दा पनि भुकम्प पछिको नाकाबन्दी लयागतका कारण पहिलाको पर्यटन व्यवसाय भन्दा आजका दिनमा पर्यटकको संख्यामा कमि आएको हो । भुकम्प एउटा निहँु मात्र भयो । राजनितिक कारण पनि अर्को मुख्य कारण वन्यो । चुनावको समयको अन्यौल हुनु पनि एउटा कारण हो किनभने चुनाव नभए सम्म पर्यटकहरु नेपाल आउन मान्दैनन् । भुकम्प पछि विदेशमा नेपाल वारे विभिन्न भ्रम फैलाइयो । नेपाल पुरै तहस नहस भएको र पुर्ननिर्माण हुन लामो समय लाग्ने भ्रम फैलाइयो । भुकम्पपछिका दिनमा म विश्वका विभिन्न देशको भ्रमण गर्दा त्यस्ता भ्रमहरुको कारण पर्यटकहरु नेपाल आउन नचाहेको पाईयो । त्यसैकारण आजका दिनसम्म पनि पर्यटन क्षेत्र रिकभरीको तहसम्म आईपुग्न नसकेको हो ।
० हालका दिनमा नेपाल आउने पर्यटकको संख्या हेर्दा कुन देशका पर्यटकहरु वढि आउने गरेको पाईन्छ ?
आजका दिनमा विशेषगरी नेपालमा चीन र भारतका नै वढि पर्यटकहरु आउने गर्छन । भुकम्प पछि चीनिया पर्यटकको संख्यामा अलि कमि आएको छ । नेपाल धार्मिकरुपमा हेर्दा पनि यि देशको पर्यटकहरुसंग बढि मिल्ने हुनाले उनीहरु व्ढिमात्रामा आउँछन् । नेपालको पर्यटन क्षत्रे चलेको नै विशेष गरी एशियाका पर्यटकहरुले नै हो । यसको अर्थ अरु देशवाट आउँदैनन भन्ने होईन, अरु देश बाट पनि पर्यटकहरु आउँछन । अमेरिकन र युरोपियन पर्यटकहरु पनि आउन त आउँछन तर उनीहरुको कारणले पर्यटन क्षेत्र चल्न सक्दैन ।
० गुणस्तरीय पर्यटनको कुरा गर्दा नेपाल आउने पर्यटकमा गुणस्तरको हिसावले एसिया भित्रका देशका र अरु देशका पर्यटकहरुमा के फरक पाइन्छ ?
नेपाल जस्तो देशमा स्तरीय पर्यटक ल्याउन निकै गाह्रो छ । स्तरीय पर्यटक ल्याउन हाम्रो पूर्वाधार नै पर्याप्त छैन । भएका राम्रा र अन्तर्राष्ट्रिय चेन होटलहरु पनि काठमाडौंमा मात्र केन्द्रित छन । जवसम्म हामीकहाँ पूर्वाधारको विकास हुँदैन तवसम्म स्तरीय पर्यटनको कुरा गफमा मात्र सिमित हुन्छ । अर्को कुरा लगभग सवै देशवाट स्तरीय पर्यटकहरु पनि आउँछन,औसत पर्यटक पनि आउँछन । कुनै देशको पर्यटक भन्दैमा सवै स्तरीय र अर्को कुनै देशको भन्दैमा स्तरीय नहुने भन्ने होईन । तैपन संख्याको हिसावले हेर्दा युरोपियन,अमेरिकन नै अलि स्तरीय हुन्छन ।
० नेपाल पर्यटकिय महत्वका दृष्टिले निकै सम्भावना भएको मुलुक भएपनि पर्यटकलाई हामीले किन नेपालमा आकर्षित गर्न सकेका छैनौं ?
यसको मुख्य कारण नपालको राजनितिक कारण नै मुख्य हो । छिन छिनमा सरकार परिवर्तन हुनु, सडक यातायातको अवस्था दयनिय हुनु, अन्तर्राष्ट्रिय एयरपोर्ट एउटा मात्र हुनु नै खास कारण हुन । त्यसवाहेक नेपालमा हुने अव्यवस्थित किसिमका विकाश निर्माण अर्को कारण हो । पूर्वाधारहरुको निर्माण नहुँदा सम्म हामीले चाहेर मात्र पर्यटक आउँदैनन । सरकारले भएको एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट लाइ व्यवस्थित वनाउन सक्नु पर्छ । कमसेकम पनि एउटा एयरपोर्ट त चौविसै घण्टा सञ्चालनमा आउनै पर्छ ।
० गएको सिजन सम्रग पर्यटन क्षेत्रको लागी कस्तो रह्यो ?
गएको सिजन समग्रमा राम्रै भयो तर जुन रुपमा हुनुपर्ने हो, त्यो भएन । गत वर्षको तुलनामा यो सिजनमा सुधार त आयो तर जति हुनु पर्ने हो त्यति हुन सकेन । अर्को कुरा हामी आँफैले सुधार गर्नुपर्ने चिज धेरै छन । बाटो असारमा आएर भत्काउन सुरु गरिन्छ । यस्ता प्रशस्तै समस्या छन । दिल्लीको जस्तो २४ घण्टा सञ्चालन हुने कमसेकम एउटा एयरपोर्ट हामीलाई चाहियो । एयरपोर्टको वातावरण सुधार हुनुप¥यो ।
अहिले पर्यटक ल्याएर कसैले पर्यटकलाई सडकवाट चितवन पठाउन सक्ने अवस्था छैन । जति मार्केटिङ भएपनि यहाँ पूर्वाधार भएन भने पर्यटक ल्याउन सकिँदैन । सरकारको तहवाट पूर्वाधार निर्माण हुनैपर्छ, नितिनियम सहज हुनैपर्छ । त्यति भयो भने आगाम दिनमा पर्यटन क्षेत्रले गति लिन सक्नेछ ।
० प्रसंग बदलौ, पर्यटन क्षेत्रको विकास र व्यवसायिको हक हितको लागि भनेर खोलिएका विभिन्न छाता संस्थाले पर्यटन क्षेत्रको विकाशको लागि के–कस्ता कामहरु गरेको पाउनुहुन्छ ?
दुखका साथ भन्नुपर्छ, पर्यटन विकाश गर्न खोलिइएका ति छाता संस्थाहरुमा नेतृत्व गर्ने योग्य व्यतिm नै पुगेका छैनन । पर्यटन क्षेत्रका व्यवसायिक संस्थाहरु ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान), नेपाल पर्वतारोहण संघ लगायतका संस्था राजनितिक भर्ति केन्दको रुपमा अगाडी आए । वास्तविक पर्यटन व्यवसायि हरु नै व्यवसायिक संस्थामा पुग्न नै सकेनन । जसले गर्दा व्यवसायिको मर्का बुझ्न नसक्ने व्यक्तिहरुवाट व्यवसाय विकासको अपेक्षा गर्नु नै गलत छ । आफ्नो पार्टीको हरेक क्रियाकलाप राम्रो मान्ने अरुले गरेको काम राम्रो भए पनि विरोध गर्ने प्रवृत्तिको विकाश भएको छ । व्यवसायक संस्थाको नेतृत्व गरेका व्यक्तिहरु क्षमतावान हुनुहोला तर उहाँहरुको क्षमता व्यवसायिको संस्थामा होईन,अन्यत्रै काम लाग्ला ।
० पर्यटन क्षेत्रका संस्थाहरु नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को साधारणसभा नजिकँदै गईरहेको छ । यसपटक यि संस्थाहरुमा कस्तो नेतृत्व आवश्यक छ ?
अहिले आएर त वास्तविक व्यवसायिहरु संघ–संस्थामा जानै नचाहने भए । व्यवसायिहरु व्यस्त छन, उनीहरु ति संस्थामा जान चाहँदैनन । तर विशेषगरी अहिले आएर व्यवसाय खोलेका तर प्रशस्तै समय भएका व्यक्तिहरु ले हानालुछ गर्न थाले पछि पछिल्लो समय विभिन्न नेताहरुको मान्छे हुँ भन्दै ति संस्थामा जाने प्रवृत्ति देखियो । राजनीतिक आस्थाले गदगद् भएको ति संस्थामा केहि वास्तविक व्यवसायीहरु पुगे पनि उनीहरुले केहि गर्न सक्ने अवस्था रहँदैन । यसकारण पनि धरै व्यवसायिहरुमा यस्ता संस्थामा जाने चाहना देखिँदैन । यस वारेमा सवैले गम्भिर ढंगले सोच्न आवश्यक छ ।
० देश संघियतामा गईसकेको छ । संघियतामा गईसकेपछि पर्यटन क्षेत्रको विकासमा मद्दत पुग्ने अपेक्ष ागर्न सकिन्छ ?
पहिलो कुरा त भर्खर सम्पन्न स्थानिय निकायको निर्वाचनमा जुन–जुन पार्टीका व्यक्तिहरु विजयी भएपनि उनीहरु युवा तथा केहि गरौं भन्ने सोच भएका व्यक्तिहरु विजयी भएको मैले पाएको छु । त्यसकारण अव स्थानिय स्तरमा वाटोघाटो वन्ने,पूर्वाधार निर्माणमा विशेष पहल हुने देखिन्छ । त्यसवाहेक कतिपय स्थानिय तहमा त विजयी नेतृत्वले पर्यटन क्षेत्रको विकासका लागी छुट्टै समिति हरु वनाउन पनि पहल गरिरहनुभएको मैले पाएको छु । यसवाट पक्कै पनि स्थानिय स्तरमा पर्यटन विकासका लागी केहि हुनेछ भन्ने अपेक्ष ागर्न सकिन्छ ।
० तपाईं पर्यटन व्यवसायका अतिरिक्त सेवाका क्षेत्रमा र विशेषगरी भुकम्प पछि विद्यालयहरुको पूर्ननिर्माणमा केन्द्रित हुनुहुन्छ । विद्यालयहरुको पूर्ननिर्माणमा लाग्ने प्रेरणा कसरी आयो र हालसम्म के–कस्ता कामहरु भएका छन ?
सानै देखि मलाइ परोपकारी काम गर्न मन लाग्दथ्यो । समाजका लागी केहि गरौं भन्ने हिसावले मैले भुकम्प अगाडी देखि नै विद्यालयहरुको निर्माणमा सहयोग गर्दै आएको थएँ । महाभुकम्प पछि म अध्यक्ष रहेको सामाजिक संस्था सम्भव नेपाल मार्फत व्यवस्थित रुपमा नै सेवा र विद्यालयहरुको पूननिर्माण र निजि घरहरुको पूर्ननिर्माणमा केन्द्रित भएको हुँ । हालसम्म तीन वटा विद्यालयमा सरकारले तोके बमोजिमका चार कोठे पक्कि भवनहरु निर्माण गरिसकेका छौं भन्ने अरु पनि बन्ने प्रक्रियामा छन ।
तपाईको प्रतिक्रिया