१९ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा ५१ प्रतिशत संस्थापक शेयर रहनै पर्ने स्पष्ट पारेको छ । साथै राष्ट्र बैंकले ५१ प्रतिशत भन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेका संस्थाका शेयरधनीले चाहेमा संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न पाउने जनाएको छ । तर त्यसका लागि राष्ट्र बैंकले तोकेको शर्त भने पुरा गर्नुपर्नेछ ।
राष्ट्र बैंकले यस अघि जारी गरेको निर्देशनलाई परिमार्जन गर्दे नयाँ निर्देशन जारी गरेको हो । राष्ट्र बैंकका अनुसार संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार संचालन गरेको दश बर्ष पुरा हुनुपर्नेछ ।
संस्थापक शेयर साधारणमा रुपान्तरण गर्दा संस्थापक वा संस्थापक समूहको शेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायमै रहनुपर्ने स्पष्ट पारेको छ । ५१ प्रतिशत भन्दा बढी रहेको शेयर धितोपत्र विनिमय बजार मार्फत संस्थापकहरुको शेयर लगानी अनुपातमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्न पाइनेछ । तर कुनै संस्थापक शेयरधनीले शेयर रुपान्तरण गर्न नचाहेमा बाँकी रहेका संस्थापक शेयरधनीको शेयर स्वामित्व ५१ प्रतिशत भन्दा कम नहुनेगरी त्यस्तो शेयर अनुपात उपयोग गर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।
एक पटक सर्वसाधारणमा परिणत भईसकेको शेयर पुन संस्थापक वा संस्थापक समूहको शेयर परिणत नहुने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ । संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति र संस्था कालोसूचीमा रहेको भएमा निजको शेयर बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनको लागि मात्र बिक्री गर्न पाइने छ । कालोसूचीमा रहेनरहेको व्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै एकिन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।
यस व्यवस्था अनुरुप संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एक पटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न सकिनेछ । साथै, यसरी परिणत गर्ने कार्य कम्तिमा दुई पटकसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा सञ्चालक कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यत्तिले त्यस्तो पदमा बहाल रहेको अवस्थामा समेत संस्थापक समूहको शेयर यस व्यवस्था अनुरुप सर्वसाधारणमा परिणत गर्न बाधा पर्ने छैन । तर, खरिदरबिक्री सम्बन्धी प्रक्रिया प्रचलन कानुनको अधीनमा रही गर्नु पर्नेछ ।
तपाईको प्रतिक्रिया