२६ जेठ/अर्थ र व्यापार – विश्व बैंकले सन् २०२२ को विश्वव्यापी आर्थिक वृद्धि दर प्रक्षेपण २.९ प्रतिशत गरेको छ । सम्भावित आर्थिक मन्दी, आकाशिएको मुद्रास्फीतिलाई ध्यानमा राख्दै विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिदर २.९ प्रतिशत प्रक्षेपण गरेको हो ।
कोभिड–१९ का कारण माग र आपूर्तिबीचको बढेको दूरी हालै रुसले युक्रेनमा आक्रमण गरेपछि झन् बढेको छ । मूल्यवृद्धि आकाशिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न विभिन्न विकसीत तथा विकासोन्मुख राष्ट्रका केन्द्रीय बैंकहरुले औसत ब्याजदर वृद्धि गरेपछि विश्व आर्थिक मन्दीको बाटोमा जान्छ कि भन्ने टिप्पणी विज्ञहरुबाट आउँदै गरेका छन् ।
विश्वव्यापी आर्थिक वृद्धि कमजोर हुनुमा रुस–युक्रेन युद्ध, चीनमा पैmलिएको कोभिड–१९ संक्रमण, माग र आपूर्तिबीचको असन्तुलन, आपूर्ति श्रृङ्खला अवरोध र सन् १९७० यताकै उच्च विन्दुमा पुगेको मूल्यवृद्धि रहेको विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले जनाएका छन् । उनीले यहि क्रममा मूल्यवृद्धि बढ्दै जाने र केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर बढाउँदै जाने हो भने सन् २०२२को आर्थिक वृद्धि दर २.१ प्रतिशत हुने र सन् २०२३को आर्थिक वृद्धि दर घटेर १.५ प्रतिशत हुन सक्ने अनुमान गरेका छन ।
यसैगरी यहि अवस्था यथावत् रहिरहे पर क्यापिटा ग्रोथ शून्य प्रतिशतमा पुग्ने धावी माल्पासले गरेका छन् । सन् २०२१ मा ५.१ प्रतिशत रहेको विकसीत अर्थतन्त्रहरुको आर्थिक वृद्धि दर सन् २०२२मा घटेर २.६ प्रतिशत पुगेको छ । सन् २०२१मा ५.७ प्रक्षेपण गरिएको अमेरिकाको आर्थिक वृद्धि दर सन् २०२२मा २.५ प्रतिशत गरिएको छ ।
यसैगरी, सन् २०२१मा ६.६ प्रतिशत आर्थिक वृद्धि दर प्रक्षेपण गरिएको विकासोन्मुख अर्थतन्त्रहरुको वृद्धि दर घटेर सन् २०२२मा ३.४ प्रतिशत पुगेको छ । सन् २०२१मा ८.१ प्रक्षेपण गरिएको चीनको आर्थिक वृद्धि दर सन् २०२२मा ४.३ प्रतिशत पुगेको छ ।
यसैगरी, दक्षिण एसिया क्षेत्रका देशहरुको आर्थिक वृद्धि दर ६.८ प्रक्षेपण गरिएको छ । सन् २०२१मा दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि दर ७.६ प्रतिशत रहेको थियो । श्रीलंकाले सबरेन बन्ड भुक्तानी गर्न नसक्नु, नेपाल र पाकिस्तान जस्ता देशहरुको विदेशी सञ्चितिमा कमी आउनु, चालु घाटा बढ्दै जानु र रुस–युक्रेन युद्धका कारण खाद्य तथा इन्धनको मूल्य वृद्धि हुँदै जानुले दक्षिण एसियाको आर्थिक वृद्धि दर ६.८ प्रक्षेपण गरिएको हो ।
यसै क्रममा भारतको आर्थिक वृद्धि दर ७.५ प्रतिशत रहेको छ भने भारत बाहिरका दक्षिण एसियाली राष्ट्रहरुको समग्र आर्थिक वृद्धि दर ४.० प्रतिशत रहेको छ ।
दक्षिण एसियाली राष्ट्रहरु मध्ये सबैभन्दा धेरै आर्थिक वृद्धि दर माल्दिभ्सको ७.६ प्रतिशत रहेको छ भने सबैभन्दा कमजोर श्रीलंकाको अर्थतन्त्र ७.८ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिएको छ । यसैगरी सन् २०२१मा ६.४ प्रतिशत रहेको बाङ्लादेशको आर्थिक वृद्धि दर सन् २०२२मा ६.७ प्रतिशत प्रक्षेपण गरिएको छ । यसैगरी, वैदेशिक सञ्चितिमा कमी आएको पाकिस्तान र नेपालको आर्थिक वृद्धि दर क्रमश ४.० र ४.१ प्रतिशत रहेको छ ।
रुस–युक्रेनबीचको युद्ध कायम रहिरहनु, निर्यात र आयातको सन्तुलन नमिल्दा चालु घाटा फराकिलो हुँदै जानु, बेरोजगारी दर बढ्दै जानु, महंगी आकाशिनु तर आम्दानी नबढ्नु, विकसीत देशहरुले नियन्त्रणात्मक नीति अवलम्बन गर्दै औसत ब्याजदर बढाएका कारण वैदेशिक ऋण चुलिँदै जानु र काभिड–१९ संक्रमण यथावत रहनुले दक्षिण एसियाली राष्ट्रहरुको आर्थिक वृद्धिमा थप जोखिम थपेको छ ।
तपाईको प्रतिक्रिया