३ कात्तिक / अर्थ र व्यापार – सरकारले पहिलो पटक घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पहिलोपटक यसरी घरजग्गाको मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबीच सो प्रतिवेदन सार्वजनिक गरेका हुन । राष्ट्र बैंकले तीन चार वर्ष अघिदेखि नै तयारी सुरु गरेको यो प्रतिवेदन तयारपार्न दुई वर्ष लागेको र पहिलोपटक औपचारिक रुपमा सार्वजनिक भएको जनाएको छ ।
राष्ट्र बैंकद्धारा सार्वजनिक गरिएको यस प्रतिवेदन अनुसार हाल नेपालमा बैंकबाट प्राप्त भएको तथ्यांकको आधारमा घरजग्गाको मूल्यवृद्धि औसत २६.४५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७६/७७ को तथ्यांकका आधारमा राष्ट्र बैंकले तयार पारेको यस्तो मूल्य बृद्धि मालपोत कार्यालयबाट पाप्त तथ्यांकको भन्दा बढी हुने गरेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मालपोत कार्यालयको तथ्यांक अनुसार यस आवको मूल्यबृद्धि जम्मा १९.७३ प्रतिशत रहेको पनि सो सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक तयार पारिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो सूचक नियमित रूपमा सार्वजनिक गर्ने र घरजग्गाको अवस्थाको बारेमा यथार्थ चित्रण गर्ने माध्यम भएको पनि बताए ।
यसैगरि, गर्भनर अधिकारीले घरजग्गाको सूचक मापद गर्न पहिलेदेखि नै खोजिरहेको भएपनि अब भने एउटा मापक तयार भएको बताए ।
राष्ट्र बैंकले यस्तो सूचकांक तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पनि राष्ट्र बैंकले आफ्नो उल्लेख गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो ९ महिनाको अवधीमा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको निष्कर्ष पनि सो सर्वेक्षणले निकालेको छ ।
यसैगरि, मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८,९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १०,३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । त्यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २,४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो ।
राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकांक महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।
घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता केन्द्रबाट तथ्यांक संकलन गरिएको सो प्रतिवेदनमा उल्लेख छ ।
छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुईवटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम ६ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो । यी स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको थियो ।
नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको छ ।
घरजग्गा मूल्य सूचकांक निर्माणको लागि भार अंक निर्धारण गर्ने सम्बन्धमा २०७५/७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ। यी अंक भारलाई जिल्लागत, प्रदेशगत एवं राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको राष्ट्र बैंकले जानकारि दिएको छ ।
राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक प्रकाश श्रेष्ठले यो प्रतिवेदन पहिलो पटक सार्वजनिक भएकाले समय लागेको बताए । उनले अब यही तरिकममा नियमित रूपमा प्रतिवेदन आउने र सोही तथ्यांकका आधारमा घरजग्गाको कारोबार विवरण पनि तय हुने जानकारी दिए । श्रेष्ठका अनुसार मालपोत मूल्यांकन भन्दा बढी बैंकको हुने गरेको यस्तो तथ्यांक दुबै एकै होस् भन्ने उद्देश्य भएपनि व्यवहारिक रुपमा त्यसो हुन नसकेको बताए । यसैगरि, उनले बैंकिङ मूल्यबृद्धिका आधारमा नै जग्गाको किनबेच हुने गरेकाले यो पनि एउटा मापनको आधार भने भएको बताए ।
तपाईको प्रतिक्रिया