७ माघ / अर्थ र व्यापार - आज दुई कम्पनीले शेयरधनीको खातामा नगद लाभांश पठाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले र युनाइटेड फाइनान्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २४ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको हो ।
गत पुस २८ गते सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारण सभाले १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरु हकमा पनि नगद लाभांश बैंक खातामा नै पठाउने व्यवस्था गरिएका कारण त्यस्ता शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन बैंकले अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, युनाइटेड फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको हो ।
गत पुस २९ गते सम्पन्न फाइनान्सको ३३ औँ वार्षिक साधारण सभाले ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया