२२ कात्तिक/अर्थ र व्यापार- नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै गभर्नर पौडेलले भने– ‘व्याजदर कम छ, तरलता उच्च छ, राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ । तपाईंहरूले माग गर्नु स्वभाविक हो, तर हामीलाई पनि सहयोग गर्नुस् उत्पादन बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् ।’
गभर्नर पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले निजी क्षेत्र र सरकार आ–आफ्नो गतिमा दौडिनुपर्ने उल्लेख गरे । ‘अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो । सरकारले खर्च बढायो भने माग पनि बढ्छ । तपाईंहरू आफ्नो गतिमा दौडनुस्, सरकार पनि आफ्नो गतिमा दौडनेछ, अन्ततः सबै सँगै अगाडि पुग्छौं ।’ उनले ब्याजदर करिडोरको तल्लो सीमा जोगाउनका लागि राष्ट्र बैंकले २५ अर्ब खर्च गरेको बताए । पौडेलले बैंकिङ प्रणालीमा ‘एभरग्रिनिङ’ समस्या अझै विद्यमान रहेको बताए । ‘पुराना ऋणीले ब्याज तिर्न कर्जा लिन्छन् भने नयाँ नवप्रवर्तनकारीले कर्जा पाउँदैन,’ उनले भने,’कुनै फर्मले लाभ दिन नसकेको हो भने त्यसलाई छोडिदिए पनि हुन्छ ।’
अहिले करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकोले कर्जाको माग घटेको उनले बताए । ‘व्यवसायी नै कालोसूचीमा परेपछि कर्जाको माग नहुने अवस्था छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया