२६ कात्तिक/अर्थ र व्यापार- ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु.७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु.५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा बैंकका अध्यक्ष ढकालले बैंक नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए । साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको उनले वताए ।
साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरु, शेयरधनी, संस्थागत शेयरधनीका प्रतिनिधिहरु, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरु, कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
तपाईको प्रतिक्रिया