४ माघ/अर्थ र व्यापार – पछिल्लो समय एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंकिङ क्षेत्रको सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल सुरु गरेको छ ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वप्रसाद पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर सुरक्षा चुनौती बढेको विषयमा छलफल गरेका हुन् । गभर्नर पौडेलले नेपाल बैंकर्स संघका पदाधिकारीको उपस्थितिमा प्रहरी महानिरिक्षक कार्कीसँग छलफल गरेका हुन् ।
गभर्नर पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर प्रहरी महानिरीक्षक कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लको पटक गत २९ पुसको राति १० बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाट भएको थियो । सिन्धुली बजारबाट करिब ३५ किलोमिटर टाढा पर्ने सो बैंकबाट हात हरितार सहित बैंकमा परेका लुटेराहरूको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर भागेको थियो ।
यसअघि सप्तरीमा ऋणको विषयमा बुझ्न जाँदा ज्योति विकास बैंकका कर्मचारी कुटपिटमा परेका थिए । यसैगरी, सुनसरीमा पनि एनआइसी एसिया बैंकको कार्यालयमै पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको थियो । बैंक र बैंकमा कार्यरत कर्मचारीमाथी भएका यस्ता अपराधजन्य तथा लुटपाटका घटना नियन्त्रण र बैंकिङ क्षेत्रको सुरक्षा गर्नकालागि राष्ट्र बैंकले प्रहरी महानिरीक्षक र बैंकर्स संघका प्रतिनिधीलाईसँगै राखेर विशेष छलफल गरेको हो ।
तपाईको प्रतिक्रिया