१२ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा एनएमबी बैंकको नाफा ३५.५४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ११ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी २७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३६ करोड रुपैयाँ, अन्य सञ्चालनबाट २८ करोड र विदेशी मुद्राको कारोबारबाट बैंकले २० करोड रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले यसअघि नोक्सान बापत राखेको २२ करोड ३५ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर १८ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ भने प्रावधान १ सय ३४ प्रतिशत गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.३९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २७.६९ प्रतिशत रहेको छ । बैंकको सञ्चिती ४ अर्ब २६ करोड रहेको छ ।
बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा लगभग २५.६१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । बैंकको निक्षेप संकलन १३ प्रतिशतले बढेर ७३ अर्ब र कर्जा लगानी १५.४६ प्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७४.९० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.१२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.८५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेको छ ।
बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ३ करोड, ओभर ड्राफ्ट शीर्षकमा १७ अर्ब लगानी गरेको छ ।
तपाईको प्रतिक्रिया