८ मंसिर / अर्थ र व्यापार - नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते आइतबार छैठौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ ।
सो सभाले सञ्चालक समितिले निर्णय गरेको ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सो सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर १५ गतेसम्म कारोबार भई लघुवित्तको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन्।
लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया