६ जेठ /अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ लाख ९ हजार ६४९ कित्ता शेयर लिलामीमा खुलाउने भएको छ । कम्पनीले जेठ ७ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले जेठ १४ गते दिउँसो ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको शेयर अहिले लिलामी गर्न लागिएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया