१० माघ /अर्थ र व्यापार - आशा लघुवित्त वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । माघ १८ गतेदेखि २२ गतेसम्म बिक्रीको लागी खुल्ला गरिएको उक्त लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि ३३७० कित्तासम्म आवेदन गर्न सकिनेछ ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त्त गरिसकेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आइपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत पनि आवेदन गर्न सक्नेछन् । हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । गत भदौ १७ गते आईपिओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको लघुवित्तले पुस २९ गते स्वीकृति पाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तपाईको प्रतिक्रिया