८ वैशाख/अर्थ र व्यापार– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकले ४.३४ प्रतिशतले नाफा बढाएका छन् । चैत मसान्तसम्म विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
यस्तो नाफा गत आवको सोही अवधिमा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा ५ वटाको नाफा बढेको छ भने ३ वटा बैंकको नाफा घटेको छ । नाफा बढाउने बैंकमा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंक रहेका छन् । यस्तै नाफा घटाउने बैंकमा मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंक रहेका छन् ।
चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले सो अवधीमा ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७ दशमलब १३ प्रतिशतले बढेको छ ।
यसैगरी, धेरै नाफा आर्जन गर्ने मध्येको दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक छ । यस बैंकले चैत मसान्तसम्म ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा भने गत आवको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले घटेको छ ।
त्यसैगरी, शाइन रेसुङ्गा डेभलमेन्ट बैंकले ५१ करोड ४० लाख १४ हजार नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.१२ प्रतिशतले कम हो ।
चैत मसान्तसम्म कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो ।
यस्तै महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा १६.८६ प्रतिशतले धेरै हो । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ ।
यस्तै ज्योति विकास बैंकको नाफा १०१.१४ प्रतिशतले बढेर ३० करोड ६६ लाख ११ हजार रुपैयाँ पुगेको छ । यस्तै ८५.४५ प्रतिशतले घटेर लुम्बिनी विकास बैंकको नाफा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
तपाईको प्रतिक्रिया