२९ पुस/अर्थ र व्यपार – मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांशको प्रस्ताव स्वीकृत गरेको छ। १७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्दै नयाँ संचालक समिति समेत चयन गरेको जनाएको छ।
नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल , विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
सेयरधनीले पाउने सो लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद छ । साधारणसभाबाट आव २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु समेत पारित गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिकाबारेमा जानकारी गराएका थिए।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए।
सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेको सो बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया