२८ कात्तिक /अर्थ र व्यापार – माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/ ७८ को नाप नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरू पारित भएको छ ।
सो साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो ।
बंैकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको यस बैंकको आफ्ना १ सय ६२ वटा शाखालगायत १५४ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ३ सय १६ स्थानवाट ग्राहकलाई सेवा दिइरहेको सो बैंकले जनाएको छ । यसैगरी, बंैकको देशभर २ सयवटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया