१ साउन / अर्थ र व्यापार – सुन तथा महँगा रत्न जोडिएको स्मार्टफोन बनाउने कम्पनी ‘भर्चु’ बन्द भएको छ । बेलायती कम्पनी ‘भर्चु’ ले आफ्नो बाँकी प्रविधि टिसिएल कम्पनीले प्रयोग गर्ने सम्झौता गरेको घोषणा गर्दै कम्पनी बन्द गर्ने बताएको हो । हातले बनाइएका ३० हजार वटा ‘भर्चु’ फोन अब टिसिएलको सहकार्यमा बन्नेछ ।
भर्चुका फोन विश्वमै महँगा मानिन्छन् । करोडौं मूल्य पर्ने यी फोनमा हिरा, अन्य महँगा रत्न, सुनका साथै छाला (लेदर) प्रयोग हुन्थ्यो । केही समयअघि देखि नै आर्थिक समस्यामा परेको कम्पनी जोगाउन निकै प्रयास भएको प्रविधि सम्बन्धी जानकारी दिने समाचारमाध्यमहरूले उल्लेख गरेका छन् । अन्त्यमा आएर कम्पनी बन्द भएपछि करिब दुई सय कर्मचारी बेरोजगार भएका छन् ।
विश्लेषकहरुका अनुसार कम्पनी बजारी प्रतिस्पर्धामा उत्रिन नसकेपछि बन्द हुने अवस्थामा पुगेको हो । भर्चु फोनको सुरुवाती मूल्य नै करिब १५ लाख रुपैयाँ छ यस्ता महँगा फोनहरु सबै हातले नै बनाइएका र सिमित संख्यामा हुन्छन् । भर्चुको स्थापना सन् १९९८ मा नोकियाले गरेको हो । सन् २०१२ मा नोकियाले यसलाई बेचेपछि नोकियाको अपरेटिङ सिस्टम छाडेर यो एन्ड्रोइड प्लेटफर्ममा बनिरहेको थियो ।
तपाईको प्रतिक्रिया