६ चैत/अर्थ र व्यापार – ३ साता बित्दा पनि मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध अझै थामिएको छैन । शुक्रबार मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्दा कुवेतको ‘मिना अल–अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको छ ।
इरानी ड्रोन आक्रमणले कुवेतको तेल रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको र केही प्लान्टहरू बन्द गरिएको कुवेत पेट्रोलियम कर्पोरेसनले जनाएको छ ।
इरानले बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा मिसाइल र ड्रोन प्रहार गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय १६ डलरभन्दा माथि पुगेको छ ।
गत १५ फागुनदेखि सुरु मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध अहिले तेस्रो सातामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ ।
कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृंखलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो ।
आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ । कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
यो आक्रमण इजरायलले इरानको ’साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको बमबारीको बदलास्वरूप गरिएको मानिएको छ । कुवेतका साथै आजै बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि इरानले मिसाइल र ड्रोन प्रहार गरेको छ, जसले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ ।
तपाईको प्रतिक्रिया