प्रिय पुनमाया,
कान्तिपुरी नगरी बाट महिनौं पछि यो प्रेमपत्र कोर्दै छु, म तिम्रो दिल को सरदार !
म कोरोनाको कहर भित्र तिमी र मेरो अतितको रगिंन फोटो एल्बम नियाल्दै यो प्रेमपत्र कोर्दैछु ।
म र मेरो शहर कोरोना कहरमा लकडिएको महिनांै भयो । गते र बार आज–भोली यादै हुन्न तर तिम्रो याद भने आईरहन्छ बारम्बार । तिमीलाइ उपहार किनिदिने पैसाले सेनिटाइजर र साबुन किन्नु पर्दा मन भत्भति पोल्छ । घना बस्तीमा म एक्लो छु । अहिले मेरो शहरमा साथीहरु म सँग हात मिलाउँदैनन । मलाई साथी भनेर अंगालो हाल्दैनन । एक कप चिया पनि समिपमा रहेर पिउँदैनन । म सँग कोही गाउँदैनन र म संग कम्मर मर्काइ–मर्काइ कोही नाँच्दैनन । टिक टक, स्न्याप च्याट, जुम, इन्स्टाहरु को गतिछाडा नाच, निरस गफ, अर्थहिन मिटिङ र तस्बिरले यो मन रमाउँदैन, जति तिमीले मुसुक्क हाँसेर किट्ली बाट मनतातो बाङ्गेपानी मेरो गिलासमा खन्याउँदै गर्दा म रमाउथे । तिम्रो केत्ली को बांगे पानीले म सोझो सरदारलाई भुइँमा मुन्टो जोत्ने गरी न्याकेको बेला तिम्रो कोमल हातले डो¥याएर मेरो ओछ्यान सम्म पु¥याइदिएको बारम्बार सम्झम्छु र त्यो केट्लीको झोललाई मनमनै धन्यवाद दिन्छु । मेरो शहर मा त्यस्तो बाङ्गेपानी सोझो बोतलमा पो हुने भएर हो की पानी निकै सोझो छ । मलाई घोप्ट्याउनै सक्दैन ।
बिहानको झिसमिसेमा पुनहिल जान मलाई बिउँझाइदिने बहानामा मलाई सुकोमल हातले कोट्याएको । तिमी अघि–अघि, म त्यसपछि, अनि गोरेहरु हामी पछि–पछि मानांै हामी घर गाउँ छाडेर भाग्दै गरे जस्तो अनी हामीलाई रोक्न घर छिमेकी पछि लाग्या जस्तो । जब पुनहिल को टुप्पो मा पुगिन्थ्यो, चिसो हावाको सिरेठोले मुटु संग टक्कर लिन्थ्यो । यतातिर पुनमायाको छचल्किएको बैंसालु आँखाहरु म तिर जाडो लाई प्रतिबाद गर्दै समिपिन ईशारा दिन्छन,उता धौलागिरी, टुकुचे पिक, अन्नपूर्ण हरु हाम्रो प्रेम जोडी लाई चाँदनीको पछ्यौरी ओढेर नियाली नियालिरहन्छन ।
सुर्यकुमार सुनौलो किरण सेता हिमालमा छर्दै मुस्कुराउन थाल्छन । सयांै क्यामारा र मोबाइलहरुवाट क्लिक क्लिक गर्दै संसार कै सुन्दर ठाउँ र रोमाञ्चित परिवेश लाई कैद गर्न व्यस्त हुन्छन । मेरी पुनमाया जती सुन्दर छौ, पुनहिल त्यतिकै सुन्दर छ । फरक यत्ति हो कि तिमी बोलेरै आफ्नो भावना अभिव्यक्त गर्छेउ, पुनहिल् ठिंग उभिएर इसारै ईसारामा प्राकृतिक सौन्दर्यको बखान गर्छे । यस्तै–यस्तै क्षणहरुको पुनरागमन होस् भनी कल्पनाको संसारमा मन को लड्डु खाइ कोभिडको जञ्जिर भित्र पनि रोमान्चित छु म, अहिले पुन माया । म छिट्टै आउन व्यग्र छु, तिमी लाई भेट्न । डर छ लाहुरेले मेरो मनको बगैंचाको गुलाब माथि हक दाबी गर्ने होकी ?
म नआई पुग्दै फुल टपक्क टिपेर उसको शिरमा सझाउने पो होकी ? भर्खर फक्रिएको तिम्रो जवानी नजिकै उभिएर हेरी रहन मन छ । नटिपी कनै मस्त फक्रिएको तिम्रो यौवन लाई मेरो हातले सुम्सूम्याउन मन छ । धित् मर्ने गरी हाम्रो प्रेम बगान को बेजोड बासना धौलागिरी नियाल्दै सुँघ्न मन छ । तिमीले पकाएको आलुलाई फ्याट्ट फुट्ट बन्दाले पछ्याएको तरकारी र डल्ले खुर्सानी संग खाना खाने मन छ । तिम्रो बाबा आमाको आँखा छलेर तिमी सँग छिल्लिन मन छ । भेल सरि उर्लेर आएको तिम्रो यौवन माथि धावा बोलेर यौवनको भेल रोक्न मन छ ।
पख न पुनमाया, लकडाउनरुपि जन्जिर मेरो शरीर बाट उत्रियोस न । गोरेहरु बोक्ने जहाज आकाशमा उड्न थालोस न । काठमाडौ पोखरा उडेरै आउँछु । पोखरा नयाँपुल गुडेरै आउँछु । बिरेठाटी, माताठाटी, रामगाई, हिले, उल्लेरी तिर कि बेली र चमेलीहरुको आँखा छलेर तिम्रो दुनियाँमा आउने छु । रेसम फिरीरी गाउने छु । तिम्रो मन मस्तिस्कमा छाउने छु । आँफु लाई सौभाग्यमानी पाउने छु । उल्लेरी को उकालोमा पानी न पिई हुँइकी रहन्छु । बन्ठाँटी र नाङ्गेठाटीमा लञ्च नलिइ सुइँकिन्छु, छिटो छिटो तिमीलाई देख्न र भेट्न । तिमी भनेर डाडाको भ्यु देख्ने लज हापेर गहिरोको तिम्रो बा को लज मा बास बसाइ दिन्छु गोरलाई । एट्याच बाथ टोइलेट भएको माउन्टेन भ्यु लज भन्दा तिम्रो बाबाको कमन ट्वाइलेट् भाको नमस्ते जङ्गल भ्यु लज मेरो छनौटमा पर्छ, तिम्रो रुपले गर्दा ।
ज्यानमारा कोरोना लाई छली छली लुकी बसेको छु अहिले म कान्तिपुरी नगरीमा । कहिले नै घर बाहिर निस्केर काठमाडौंको चौडा र रित्तो सडकमा दुनियाँले देख्ने गरी कोरोनाको जगल्टा उखेली दिउँ जस्तो पो लाग्छ तर म उच्छृङखल बन्नु हुन्न । दुनियाँ भन्दा बेग्लै र अनुशासनहिनताको बिल्ला भिर्नु छैन । साँचेको सपनी तिमी लाई भेट्न हो,बाँचेको जीवन प्रेमको तिर्खा मेटन् हो । तथ्य कथा, सत्यकथा र युधिर थापाको उपन्यास तिमी लाई खुब मन पर्छ । म तिमीलाई मनपर्ने अत्तर पनि ल्याईदिन्छु ।
घोरेपानीको जंगलमा टुसा पलायो होला । जुका सहेरै भए पनि टुसा भाँच्न हामी वन छिर्नुपर्छ । कन्य च्याउ खोज्नु पर्छ अनि मस्त संग खानुपर्छ । तिम्रो बा लाई भनिदिनु काठमाडौं को टुरिस्टको सरदार भिआइपि गोरा लिएर आउँछ रे भनेर । बुढालाई स्पेसल आइटमको नाम मा महँगो खाना खुवायर मेरो पर्स रित्याउने गरी क्याल्कुलेटरमा बसेर खाएको हिसाब गर्न खुब जाँगर लाग्छ । दाल भात् र रक्सी को पैसा लिन्न भन्दै अन्डा को २०० असुल्न जानेका छन बड्डाले । क्यार्नु तिम्रो प्रेमको अगाडी बुढाको कन्जुसाइ फिक्का भैदिन्छ । पिउँदै नपिएको हट चकलेट र हट लेमन किचेनमा झुन्ड्याएको कागजमा कलमले धर्कोहरु तानेर बिल मा चढाउछन् गाँठे !
लौ पुनमाया जति लेखेनी नसकिनी प्रेम कहानी अक्षरले अभिव्यक्त गरी सकिँदैन रहेछ । भेटेरै खुसुक्क कानमा भन्नुपर्ने केही कुरा लेख्न सकिन । कसैले चोरेर यो पत्र पढ्यो भने त् बर्बाद । तिम्रो कपाल मुसारेर मनको कुरा भन्न र सुन्न पो मजा हुने । प्रेमपत्र त वाकी ट्वाकि जस्तो एकोहोरो भन्ने एकोहोरो सुन्ने । बाँकी कुरा र कर्तव्य भेटेरै पुरा गरौला ।
उही तिम्रो दिल को सरदार
प्रेम प्रतिक
तपाईको प्रतिक्रिया