logo

अब विदेशमा रहेका श्रमिक अनलाइनबाटै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने ,भोली प्रधानमन्त्रीले शुभारम्भ गर्ने

यस्ता छन् सुविधा

    316   पटक पढिएको


७ चैत/अर्थ र व्यापार – लामो समयको प्रयासपछि अब सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरु पनि आबद्ध हुन सक्ने भएका छन् । सरकारले गत २५ मंसिरमा वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिकालागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि जारी गरेको थियो ।
सोही कार्यविधिमा मन्त्रालयबाट स्वीकृत भएको मितिले ९० दिनदेखि लागू हुने व्यवस्था थियो । सोहीअनुसार कोषले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा यस योजनाको शुभारम्भ गर्ने भएको छ ।
सरकारले २०७५ सालको ११ मंसिरदेखि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न चरणमा ऐन संशोधन गर्दै आएको छ । निजी क्षेत्रमा आबद्ध भएका सम्पूर्ण रोजगारदाता र श्रमिकलाई समेट्ने उद्देश्यसहित सुरु भएको कोषले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ । यसैगरि, कोषले बुधबारदेखि विदेशमा रहेका श्रमिकलाई पनि आबद्ध हुन सक्ने बाटो खुला गरेको हो ।
कोषका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन चाहने वैदेशिक रोजगारीमा रहेको श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले कोषले तोकेको नियमावली बमोजिम सूचीकृत हुन सक्नेछन् । श्रमिकहरुले नियमावलीमा तोकिएबमोजिमको ढाँचामा कोषको कार्यालय वा कोषले तोकेको निकाय, कार्यालय वा कोषको अनलाइन प्रणालीबाट निवेदन दिनुपर्नेछ ।

वैदेशिक रोजगारमा रहेको श्रमिकले कोषमा आबद्ध हुनका लागि नेपाली नागरिकता वा राहदानीको प्रतिलिपी र श्रम स्वीकृतिको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।
तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेका वा जाने श्रमिकले आफूले विदेशको कुन स्थान र कम्पनीमा श्रम गर्ने हो सो को विवरणको अनुसूची बमोजिमको ढाँचामा स्वघोषणा र कम्पनीको नियुक्तिपत्र भएमा त्यसको प्रतिलिपि पेस गरे पुग्नेछ ।
त्यस्तै, आफू श्रम गर्न जान लागेको देश, रोजगारदाता कम्पनी, ठेगाना र नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर, ठेगाना, नाता, सम्बन्ध र सम्पर्कको विवरण खुलाउनु पर्नेछ । त्यसैगरी, विदेशमा स्वरोजगार रहेको व्यक्तिले नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । तर, नेपाली नागरिकलाई भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगार रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गरे पुग्नेछ।
कोषका अनुसार स्वरोजगार सम्बन्धी पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पेसा वा व्यवसायको नाम तथा त्यस्तो पेसा वा व्यवसाय गरेको ठेगाना तथा सम्पर्क नम्बर र कोषमा सूचीकृत भएपछि आफूले मासिक रुपमा गर्ने योगदानको रकम पेस गर्नुपर्नेछ ।
योजनामा सहभागी हुन चाहने श्रमिकले आफू कार्यरत वा स्वरोजगार गरी बसेको मुलुकबाटै कागजात तथा विवरणको विद्युतीय प्रति संलग्न गरी अनलाइन प्रणालीमार्फत सूचीकरणको लागि निवेदन दिन सक्नेछन् ।
निवेदन परेमा कोषले सो उपर आवश्यक जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विदेशमा रहेका व्यक्तिलाई कोषमा सूचीकृत गरी नियमावलीको अनुसूची–४ बमोजिमको ढाँचामा सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
विदेशमा रहेर निवेदन गर्ने व्यक्तिलाई कोषबाट अनलाईन प्रणाली मार्फतनै त्यस्तो सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्र प्राप्त व्यक्तिले निर्धारण गरिएको योगदान रकम कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ । त्यतिमात्र नभई कोषले श्रम स्वीकृति लिँदाको अवस्थामै सूचीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।
कोषले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । रोजगारीमा रहेका व्यक्तिले सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत अर्थात् २ हजार २ रुपैयाँ योगदान गर्नुपर्नेछ ।
यस योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत बाँडफाँट गर्नेछ । साथै, योजनामा औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा तीन गुणासम्म योगदान गर्न सकिने छ ।
रकम योगदान गर्ने योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा रकमबाट मासिकरुपमा रकम समायोजन हुने गरी निवेदन दिन सक्नेछ । यसरी निवेदन दिएमा कोषले सो बमोजिम रकम समायोजन गर्न सक्नेछ ।
सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नको लागि योगदानकर्ताले घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्नेछ ।
कोषबाट सुविधा प्राप्त गर्न योगदानकर्ताले वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनु पर्नेछ । साथै, योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्पको छनोट गर्न सक्नेछ ।
योगदानकर्ताको दुर्घटना भएमा दुर्घटना वापतको सुविधा र दुर्घटनाबाट अशक्त भएमा अशक्तता वापतको यस योजना अन्तर्गतका सुविधा प्रदान गरिनेछ । दुर्घटनामा परेको योगदानकर्ताले अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थाको एक लाख रुपैयाँसम्मको उपचार खर्च योगदानकर्तालाई कोषले भुक्तानी गर्नेछ ।
यस्तो उपचार खर्चको भुक्तानी कोषले निर्धारण गरेको दर रेटका आधारमा हुन आएको कुल खर्च रकमको ८० प्रतिशत वा प्रति वर्ष एक लाख मध्ये जुन कम हुन्छ सो हद सम्मको रकम उपचार गरेको आवश्यक प्रमाण पेस गरेपश्चात सम्बन्धित व्यक्तिको खातामा भुक्तानी हुनेछ ।
यसैगरि, दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निज काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा पाउनेछ ।
दुर्घटनाका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रुपमा रकम उपलब्ध गराइने व्यवस्था छ ।
दुर्घटनाको कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल दिइनेछ । त्यस्तो योगदानकर्ता हिँडडुल गर्न नसक्ने अवस्थामा भएमा निजलाई हेरचाह गर्ने परिवारको सदस्य वा त्यस्तो सदस्य पनि नभएमा वा भए पनि हेरचाह नगरेकोमा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिसमा रकम भुक्तानी गरिनेछ ।
असक्षमताको अवस्थाको पुनरावलोकन गर्दा असक्षमताको अवस्थामा परिवर्तन आएमा सोही बमोजिम सुविधामा फेरबदल हुन सक्नेछ । असक्षमता प्रतिशतको आधारमा प्रदान गरिने निवृत्तभरण रकममा बीमाङ्कीको प्रतिवेदनको आधारमा कोषको सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिनेछ ।
योगदानकर्ता असक्षमता प्रतिशतको अन्तिम पुनरावलोकन निजको उमेरको ५९ वर्षमा हुनेछ र सो असक्षमताको प्रतिशतमा आएको परिवर्तनको आधारमा दिने निवृत्तभरण रकममा परिवर्तन हुन सक्नेछ ।
योगदानकर्ताको मृत्यु भएमा निजको आश्रित परिवारलाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च सुविधा प्रदान गर्ने व्यवस्था रहेको छ । योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले निजले जीवनभर निवृत्तभरण पाउनेछन् ।
योगदानकर्ताको पति वा पत्नीको बैकल्पिक आम्दानी भएमा वा अर्को विवाह गरेमा यो सुविधा दिइने छैन । तर, बैकल्पिक आम्दानी स्रोत समाप्तभइ वृद्ध अवस्था अन्तर्गतको निवृत्तभरण समेत प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवेदन दिई निवृत्तभरण सुविधा माग गर्न सकिने व्यवस्था छ ।
योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको १८ वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति बापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर, एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा सो रकम सुविधा पाउने सबै सन्ततिलाई दामासाहीले प्रदान गरिनेछ । १८ वर्ष पुगेको सन्ततिले पाउने सुविधा बापतको रकम अन्य सन्ततिमा समायोजन हुने छैन ।
योगदानकर्ताको कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा २१ वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिनेछ । तर निजको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन ।
योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बुवाआमा रहेछन् भने निजलाई न्यूनतम आधारभूत पारिश्रमिकको चालिस प्रतिशत रकम निजको जीवनकालभर मासिक रुपमा प्रदान गरिनेछ । तर बाबु आमा दुवै जीवित भएमा दुवैको सहमतीमा कुनै एक जनालाइ र सहमती नभएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।
योगदानकर्ताको आमाको बैकल्पिक आम्दानी भएमा वा अर्को विवाह गरेमा वा मृतकसँग आश्रित नरहेमा यस्तो सुविधा दिइने छैन । साथै, योगदानकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।
योजनामा सहभागी हुने रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन हुनेछ । योजनाको लागि योगदानकर्ताले जम्मा गरेको रकमबाट निवृत्तभरण योजना र त्यसको अतिरिक्त जम्मा गरेको रकमबाट अवकाश बचत योजना सञ्चालन गर्न सकिनेछ ।
योगदानकर्ताले अवकाश बचत योजनामा जम्मा गरेको रकम र यसले आर्जन गरेको प्रतिफल योगदानकर्ताको वैदेशिक रोजगारी अन्त्य भएपछि र विदेशको स्वरोजगारी छाडी फर्किएपछि एकमुष्ठ उपलब्ध गराइने व्यवस्था छ ।
तर योगदानकर्ताले निवेदन दिएमा यस्तो रकमलाई निवृत्तभरण योजनामा हस्तान्तरण गर्न सकिनेछ । अवकाश बचत योजनामा जम्मा भएको रकममा कोषले ग्यारेन्टी व्याजदर प्रतिफल दर निर्धारण गर्न सक्नेछ । अवकाश वचत योजनामा जम्मा भएको रकमलाई लगानी प्राथमिकताको आधारमा समितिले तोकिदिएको मापदण्डअनुसार अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयुक्त कम्पनीको सेयर वा पोर्टफोलियो लगायतका क्षेत्रमा लगानी गर्न र स्वदेश फर्किएर स्वरोजगारी गर्न चाहेमा योगदानकर्तालाई सञ्चालक समितिबाट स्वीकृत मापदण्ड बमोजिम व्यवसाय प्रवद्र्धन कर्जा दिन सकिने व्यवस्था छ ।
यसैगरि, कोषले संचालन गरेको निवृत्तभरण योजनामा योगदान गर्ने योगदानकर्तालाई योगदानकर्ताको ६० वर्ष उमेर पूरा भएपछि सो योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरणको रुपमा उपलब्ध गराइने छ ।
कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ प्रदान गरिनेछ ।
कुनै योगदानकर्ताले निवृत्तभरण प्राप्त गर्न सुरु गरेपछि मृतकको पति वा पत्नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिभरणको ५० प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तभरण प्रदान गरिनेछ । योगदानकर्तासँग निजको वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । यो योजनासँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार सहजै लाभान्वित हुने कोषको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।