१३ पुस/ अर्थ र व्यापार - शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रभावित क्षेत्रका लागि १४ लाख ७६ हजार ४ सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीले ३६ लाख ९१ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि २२ लाख १४ हजार कित्ता ६०० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ । आइपिओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपी आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ ।
इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औषत किसिमको रहेको हुँदा औषत जोखिमको संकेत गर्छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भूकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
तपाईको प्रतिक्रिया