९ मंसिर/अर्थ र व्यापार– नेपाल एयरलाइन्सले चीनबाट ल्याइएका ६ वटा चिनियाँ जहाजलाई व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने बताएको छ ।
जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेशन कम्पनी मार्फत ल्याइएका ६ वटा चिनियाँ जहाज साउनदेखि नै ग्राउन्डेड हुँदै आएको छ ।
व्यवसायिक रुपमा चलाउन नसकेपछि एयरलाइन्सले जहाज व्यवस्थापनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
एयरलाइन्सले पत्राचार गरेपछि पर्यटनले अर्थमन्त्रालयको राय मागेको थियो । अर्थले प्रतिउत्तरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर स्पष्टिकरण माग गरेको थियो । अर्थले मागेको स्पष्टिकरणमा जवाफ दिँदै एयरलाइन्स व्यवस्थापनले चार विकल्प दिएको छ ।
एयरलाइन्सले दिएको चार विकल्पहरुमा जहाज निर्माता कम्पनीलाई नै जहाजको बजार मूल्यका आधारमा फिर्ता गर्ने, खुला प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने, लिज प्रक्रियाबाट अन्य कम्पनीलाई दिने तथा नयाँ जहाज किन्दा डाउन पेमेन्टको रुपमा प्रयोग गर्न सकिने विकल्प दिएको छ ।
तपाईको प्रतिक्रिया