२३ फागुन /अर्थ र व्यापार - माउन्टेन हाईड्रो नेपाल लिमिटेडको १८ लाख १६ हजार ११० कित्ता शेयर फागुन २३ गते (आज) देखि निष्काशन भएको छ । कम्पनीले कूल १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो । निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।
माउन्टेन हाईड्रो नेपालको आइपिओमा इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि ८० हजार कित्ता अर्थात ८० लाख रुपैयाँसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । माउन्टेन हाईड्रोको आईपिओले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग इक्रा एनपि आईपिओ ४ पाएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।
आईपिओको बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल नक्साल रहेको छ । लगानीकर्ताले सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् । यस आईपिओ छिटोमा फागुन २८ गते बन्द हुनेछ भने यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने चैत २२ गतेसम्म आवेदन खुला रहनेछ ।
माउन्टेन हाईड्रो नेपालले पाँथरको फिदिममा रहेको २१.६ मेगावाटको आयोजना निमार्ण गरेको छ । विद्युत उत्पादका लागि हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । विद्युत विकास विभागबाट वि.सं. २०७० असार ४ गते विद्युत उत्पादन अनुमति पाएको यस माउन्टेन हाईड्रो नेपाल लिमिटेडको वि.स.२१०५ असार ८ गतेसम्म अनुमति बहाल रहनेछ । आयोजना बनाउन करिब चार अर्ब २८ करोड २७ लाख ६ हजार ८३१ रुपैयाँ लाग्ने बताइएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको छ ।
वि.सं.२०७१ मा हाईड्रोपावर र विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता भइसकेको छ । आयोजनामा गरिएको लगानी फिर्ता हुन ८.२७ वर्ष अवधि लाग्ने अनुमान कम्पनीको छ । यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुन १०.७२ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण रहेको छ । कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ । आर्थिक वर्ष २०७६र७७ मा २ रुपैयाँ २८ पैसा र ०७७र७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ । आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया