२६ फागुन /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएपनि निष्काशन गर्न नसकेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पुनः सञ्चालक समितिमा प्रस्ताव लैजाने भएको छ । फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र २१ गते ९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले हालको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
त्यस्तै सोही चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ । बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयरपछि चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ कायम हुनेछ । पहिलो चरणमा बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेपछि बीमा समितिले निर्देशन गरेको दुई अर्ब पूँजी जुटाउने क्रममा पुनः शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ । कम्पनीले चुक्ता पूँजी ९४ करोड ८५ लाख रुपैयाँको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत्र ५ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन् । पूराना जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफ पूँजी जुटाउनेमा सबैभन्दा पछाडि रहेको थियो। बीमा समितिले पूँजी जुटाउने स्पस्ट खाका सहित साधारणसभामा जान निर्देशन दिए सँगै कम्पनीले एकै पटक बोनस शेयर र दुई पटक हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अगाडि सारेको हो ।
तपाईको प्रतिक्रिया