१९ चैत्र /अर्थ र व्यापार - ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडद्वारा निष्काशन गरिएको साधारण शेयर (आईपिओ) चैत १७ गते आइतबार बाँडफाँड भएको छ । कम्पनीले जारी गरेको १८ लाख कित्ता आईपिओमध्ये ९४५ बढी अवितरित भएको छ ।
हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल (तत्कालिन काठमाडौं क्यापिटल) का अनुसार आईपिओमा एक हजार २१६ जना आवेदकबाट एक लाख तीन हजार ६०० कित्ताका लागि मात्र आवेदन परेको हो ।
कम्पनीले निष्काशन गरेको आइपिओको यो ५.७५५५ प्रतिशत मात्र हो । निष्काशित ९४.२४४ प्रतिशत अर्थात १६ लाख ९६ हजार ४०० कित्ता आईपिओ बिक्री हुन नसकेको हो । ग्रीनलाईफले स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । स्थानीयबाट अवितरित भएको उक्त आईपिओ अब सर्वसाधारणका लागि निष्काशन हुने १८लाख कित्तामा थप भएर निष्काशन हुनेछ । आईपिओमा समूह क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत), समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता, र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयरमा माग आवेदन गरिएको थियो । सो आईपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था थियो ।
केयर रेटिङ्ग नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको कारण पनि लगानीकर्ताले वित्तीय अवस्था औसतभन्दा कमजोर रहँदा कम माग गर्ने गरेका हुन् । अर्कोतर्फ हाइड्रोपावर कम्पनीबाट लामो समय पश्चात मात्र प्रतिफल प्राप्त हुनाले पनि अन्यको तुलनामा जलविद्युत कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दो छ । यसअघि जारी गरेका अन्य धेरै कम्पनीहरूको पनि यस्तै अवस्था रहेको थियो ।
तपाईको प्रतिक्रिया