२६ भाद्र / अर्थ र व्यापार- अर्थमन्त्री डा.युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटोमोबाइल क्षेत्रमा कर बढाएको बताएका छन । मंगलवार नाडा अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढाउन अटो मोबाइल क्षेत्रले पनि सहयोग गरेको र त्यसलाई नियन्त्रण गर्न सरकारले कर बढाएको वताए ।
खतिवडाले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने उल्लेख गर्दै आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग गर्ने बताए । अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणालीमा आवश्यकताअनुसार खुकुलो र कडा नीति लिइने गरिएको उल्लेख गरे । देश आर्थिक विकासको चरणमा प्रवेश गर्दै गर्दा ऋणको माग हुने हुँदा यसले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको बताए । बैंकिङ क्षेत्रको तरलताको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको पनि उनले उल्लेख गरे ।
शो को उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको उल्लेख गरिन् । देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोवाइलको विकास तथा निर्माणको लागि केही सहुलियत दिनुपर्ने उनले बताइन । विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसन निर्माण गर्ने हो भने पनि धेरै नै व्यापार घाटा कम गर्न सहयोग पुग्ने राणाले वताईन ।
कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताए । सरकारलाई राजश्व तथा अन्तरशुल्क घटाउन अनुरोध गर्दा पनि नमानेकोमा उनले दुखेसो पोखे । भदौ ३१ गतेसम्म चल्ने अटो शोमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रर्दशनीमा राखिएको छ । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया