४ असार / अर्थ र व्यापार - भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ। गएराति ११ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास जारी राखेका थिए ।
सो भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ । शनिबार राति करिब साढे ११ बजे सुरू भएको आगो अहिले बिहान करिब ८ बजे नियन्त्रणमा आएको हो । उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर लागेको आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटेका थिए ।
आगलागी नियन्त्रणका लागि पानी ओसार्ने ट्यांकरसमेत प्रयोग गरिएको थियो । आगलागीबाट दुई वटा पक्की भवन, पाँच वटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । आगलागीबाट कार्पेटका लागि आवश्यक कच्चा पदार्थ, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको छ ।
कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकीन विवरण आउन नसके पनि करिब डेढ अर्बभन्दा बढीको क्षति भएको अनुमान गर्न सकिन्छ । उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा एक सय भन्दा बढी कामदार कार्यरत थिए ।
तपाईको प्रतिक्रिया