४ बैशाख / अर्थ र व्यापार- नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार अर्थमन्त्री डा.युवराज खतिवडालाई नौ बुँदे सुझाव पत्र पेश गर्दै निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन अनुरोध गरेको हो । महासंघ नेकपा निकट उद्योगी व्यवसायीहरुको संस्था हो ।
महासंघले कोरोना भाइरसको महामारीको चपेटामा परेका व्यवसायी, कर्मचारी र मजदुरहरुको हितमा सरकारले उचित राहत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिएको छ । महासंघले कूल गार्हस्थ उत्पादनमा असर पर्ने,बेरोजगारी तथा गरीबीको बृद्धि हुने उल्लेख गर्दै पर्यटन, कृषि निर्यात, व्यापार लगायतका प्रत्यक्ष प्रभावित क्षेत्रसंग जोडिएकालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष लक्ष्मिदास मानन्धरद्वारा हस्ताक्षर गरिएको सुझावपत्रमा परिस्थितिको मूल्यांकन गरेर सरकारले समयानुकुल निर्णय लिनेछ भन्नेमा महासंघ आशावादी रहेको उल्लेख छ ।
तपाईको प्रतिक्रिया