१७ मंसिर / अर्थ र व्यापार- न्युरोडमा रहेको एयरटेल सहकारी संस्थाका बचतकर्ताको ८ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा एयरटेल सहकारी संस्थाका प्रबन्ध निर्देशक अशोक गोयल पक्राउ परेका छन् । गत बुधबार समातिएका उनी बिरुद्ध प्रहरीले ठगी मुद्दा चलाउन छानबिन गरिरहेको छ । काठमाडौंको धर्मपथमा रहेको सहकारीकी अध्यक्ष सुमन केडियासहित ५ जना फरार छन् । अध्यक्ष केडिया प्रबन्ध निर्देशक गोयलकी श्रीमती हुन् ।
प्रहरीमा परेको किटानी जाहेरीको आधारमा गोयललाई पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । यसअघि एयरटेल सहकारीमा ठगिएको भन्दै पीडितहरुले सहकारी डिभिजन कार्यालयमा पनि निवेदन दिएका थिए ।
सहकारी विरुद्ध उजुरी दिनेको संख्या ३० पुगेको छ, जसमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् । अशोक वंशल, सीमा वंशल, सारिका जैन लगायत ३० जना उजुरीकर्ताको बिगो दाबी ५० करोड पुग्ने अनुसन्धानमा संलग्न प्रहरी स्रोतको अनुमान छ । संचालकहरुले सहकारीमा जम्मा भएको रकम हिनामिना गरेर अचल सम्पत्ति किनेको आरोप पीडित पक्षको छ ।
तपाईको प्रतिक्रिया