९ असार / अर्थ र व्यापार - सन् २०२० सम्ममा देशभरका ठूला होटलमा ४ हजार रुम थपिँदैछन् । केही नयाँ होटलहरु हालै मात्र सञ्चालनमा आएका छन् । मलबरी र फेयरफिल्ड म्यारियटले हालैमात्रै आफना् सेवा सुरु गरे । तर, सञ्चालनमा रहेका होटलको अकुपेन्सी राम्रो छैन । अहिले सञ्चालनमा रहेका होटलहरु नै नाफा कमाउन सक्ने स्थितिमा छैनन् । यस्तो अकुपेन्सीले होटलले नाफा कमाउन सक्दैन् रट सञ्चालनमा मात्रै हुन्छन् । होटलको संख्या बढेअनुरुप सरकारले पर्यटक भित्राउन सकेको छैन ।
सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।
यता भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन । यो सिजनको होटल अकुपेन्सी मुख्य गरी भारतीय पर्यटकमै निर्भर रहन्छ । आफ्नो देशको चर्को गर्मी छल्न भारतीयहरु यतिबेला बढी संख्यामा नेपाल आउने गर्छन् । यही प्रवृत्तिलाई प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको थियो । तर, अभियानले भारतीयहरुलाई खासै छुन सकेको देखिँदैन ।
अहिले देशका ठूला घहोटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै छ । जबकि भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत थियो । गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।
भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ । भारतीय पर्यटक उल्लेख्य मात्रामा नभित्रिदा मुख्य रुपमा होटल व्यवसायीहरुलाई मर्का परेको छ । अकुपेन्सी कमजोर भएका कारण होटल क्षेत्रले नाफा गर्न सक्ने स्थिति छैन । उनीहरुलाई सञ्चालन खर्चमै सीमित छन् ।
हुन पनि एकै वर्षमा १ हजारदेखि १५ सयसम्म होटलका कोठाहरु बढ्ने गरेका छन् । होटलको संख्या बढे पनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन । खासगरी विमानस्थलको सुधार नगरेसम्म होटलमात्रै बढेर पर्यटक आगमनमा सुधार नआउने छ । अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुको निर्माण र स्तरोन्नतिमा ढिलाइले पर्यटन उद्योगमा वाधा पुगिरहेको छ ।
तपाईको प्रतिक्रिया