२ बैशाख/अर्थ र व्यापार – बेला बेलामा आइपर्ने प्राकृतिक विपत्ति लगायत अनेक मानव सृर्जित घटनाक्रमबाट कहिल्यै अछुतो नभएको नेपालको पर्यटन क्षेत्रमा २०७२ सालको बैशाखमा गएको विनासकारी भूकम्पपछि २०७६ सालको ११ चैतदेखि लामो समय सम्पूर्ण मानव जातिलाई घरभित्रै थुनेर राख्न मुलुक लकडाउन गर्नुपर्ने अवस्था आइलाग्यो ।
त्यो विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकलाई बचाउने प्रयास एवं उपाएका रुपमा गरिएको मुलुक लकडाउन थियो । सो लकडाउनको बेला होटल कलकारखना, पसल, उद्योग अफिस लगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द भएको थियो । त्यो बेला सरकारले हवाई उडान लगायत सम्पूर्ण पर्यटकीय गतिविधी ठप्प पारेर हप्ता हुँदै विस्तारै महिना, चार महिना, ६ महिना र वर्षदिनसम्म मान्छेलाई आफ्नै घरभित्र बस्न गृह मन्त्रालय मार्फत निर्देशन नै जारि गरेएको थियो ।
लकडाउनको बेला अत्यावस्यक काम बाहेक कसैलाई पछि बाहिर सडकमा हिँडडुल गर्न दिएको थिएन । पहिलो र देस्रो चरणमा फैलिएको उच्च कोरोना संक्रमणको समय पर्यटन क्षेत्रसित सम्बन्धीत धेरै होटल र ट्राभल, ट्रेकिङ, बैंक तथा अन्य वित्तीय संस्था, सवारी साधन लगायतका हरेक क्षेत्र बन्द नै हुन पुगे ।
हाल संचालित होटल लगायत अन्य सबै क्षेत्र तथा उद्योगहरुले कोरोना संक्रमणदर बढेर उच्च भएको बेला आफ्ना धेरै कामदार कर्मचारीलाई कामबाट हटाएका थिए भने कयौं होटलहरुले कामदार कटौती गरि सिमित जनशक्तिको भरमा आफ्नो व्यवसाय जसोतसो जोगाउने प्रयास मात्र गरेका थिए । कोरोना संक्रमित हुनेहरुको संख्या दैनिक बढेको बेला लकडाउनलाई थप कडा पार्ने र कोरोना संक्रमण हुनेदर केही कम भएपछि विस्तारै लकडाउन खुकुलो पारिएपनि त्यो क्रमले झन्डै साढे दुईवर्षभन्दा बढीको समय लिएको थियो ।
सो अवधीमा कोरोना भाइसरको संक्रमण फैलिने तरिकाले समेत तीन चरणको स्वरुप परिवर्तन गरेको थियो । त्यो अवधीमा धेरै पर्यटन व्यवसायी , कामदार र उनीहरुका घर परिवारले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुपरेको थियो । लामो समय मुलुक लकडाउनमा परेको बहाना बनाएर साहुले निकालिदिएपछि होटल, कारखाना, वित्तीय क्षेत्र लगायत हरेक क्षेत्रमा कार्यरत धेरै कामदार र कर्मचारीले कोरोनाकहरकैबीच आफ्नो जागिरबाट हात धुनुपरेको थियो ।
कोरोना संक्रमणकालको बेला कामबाट हटाईएका तथा कटौतीमा परेका कामदारलाई अहिले अवस्था सहज भएसँगै काममा फर्काउन पुनः बोलाउन थालेका छन । होटल मालिकहरुले दुःखको बेला निकालेको भन्दै अझै केही कामदारहरु पहिले आफुले काम गरेको होटलहरुले हाल बोलाईरहेपनि पुनः सोही ठाउँमा फर्किन मानिरहेका छैनन भने धेरैले यो देस र आफ्ना घर परिवार नै छोडेर विदेशीएका छन । केहीले हाल आफ्नै व्यवसाय सुरु गर्न थालिसकेको अवस्था छ । यस्ता गतिविधीले पनि अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने संकेत देखिएको छ ।
गत पुस महिना यता भने तेस्रो चरणमा फैलिएको कोरोना संक्रमणदर विस्तारै घटेको र धेरै नेपाली नागरिक तथा विदेशीले कोरोना विरुद्धको खोपको डोज पुरा गरेका कारण बल्ल कोरोनाले थलिएको मुलुकको पर्यटकीय गतिविधीमा चहल पहल सुरु हुन थालेको हो ।
विस्तारै पर्यटकीय गतिविधी बढेसँगै अहिले विभिन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या विस्तारै बढिरहेको छ । गत मार्च महिनामा नेपाल भित्रिएका उत्साहजनक पर्यटक आगमन संख्यालाई नै अहिले यहाँका व्यवसायीले अब आफ्नो व्यापार विस्तार भएर लामो समय मुलुक लकडाउन भएको बेला लिएको ऋण चुक्ता गर्न सकिने ठुलो आशा गरेका छन ।
आगामी नयाँ वर्ष २०७९ सालले अब आम पर्यटन व्यवसायी र समग्र रुपमा नेपाल देसले नै पर्यटकीय गतिविधीबाट मनग्य आम्दानी गर्न पाउने छन भन्नेमा हामी निकै आशावादी छौं । विगत सात दशकदेखि पर्यटन व्यवसायमा सक्रिय एसियन ट्रेकिङका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले भने,‘ कोरोना महामारिको संक्रमण कालमा जस्तो अप्ठेरो अवस्था अब कहिल्यै भोग्न नपरोस ।’ उनले नेपालको इतिहासमै कोरोना संक्रमण कालको जस्तो नकारात्मक असरको प्रभाव नेपालको पर्यटन क्षेत्रमा कहिल्यै भोग्नु नपरेको बताए । उनले कोरोना संक्रमण कालको झन्डै साढे दुईवर्ष बढिको समय आम नेपालीकालागि निकै कष्टकर र दुःखद् भएर वितेको स्मरण गरे । उनले अवको नववर्ष २०७९ ले त्यो सबै कष्ट र दुःखलाई भुलाएर मुलुकको पर्यटन क्षेत्रकालागि एकदमै सुखद् र सहज हुने सुनौलो विहानी हुने आफुहरुले अपेक्षा गरेको बताए ।
शेर्पाका अनुसार कोरोना संक्रमितको संख्या घटेर विस्तारै होटल खुल्न थालेपछि हालसम्म विदेशी पर्यटन आइनपुगेपछि स्वदेशी पर्यटकले नै काठमाडौ उपत्यका आसपासका होटल, पोखरा, चितवन र लुम्विनीका होटल भरिन थालेका छन । उनले हाल स्वदेशीले पनि विदेशीको भन्दाबढी खर्च गर्न थालेको आफ्नोे ललितपुरको लाकुरीभन्यांंङमा रहेको होटलमा पुग्ने ग्राहकहरुबाट महसुस गरेको जानकारि गराए ।
विशेषगरि सेवा तथा आथित्य सत्कार र हिमाल आरोहण लगायत विविध साहसिक गतिविधीसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनकालागि रेमिट्यान्स पछिको नेपालमा सबै भन्दा ठूलो उद्योग हो । पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको सबै भन्दा प्रमुख स्रोत बनिरहेको छ । विश्वको सर्बोच्च शिखर सगरमाथा लगायत संसारका १० उच्च हिमाल नेपालमै छ ।
पर्वतारोहण र रक क्लाम्बिङ, क्यानोनिङ, चट्टान तथा हिमशिखर आरोहण गर्नेहरूका लागि नेपाल एकदमै उच्चतम तथा प्रमुख गन्तव्य हो । यहाँका विविध धार्मिक स्थलहरू, पुरातात्विक तथा ऐतिहासिक धरोहरहरु, विविध संस्कृति तथा भेषभुसामा सजिने मानिसहरू र साँस्कृतिक भौगोलिक तथा वातवरणीय विविधता संसारकै उत्कृष्ट एवं महत्वपूर्ण भएकाले विस्वकै आकर्षण नेपालमा छ । जसले पर्यटनलाई धानिदिएको छ ।
सगरमाथा लगायत विभिन्न नामले परिचित अग्ला हिमालहरुको अवलोकन, पर्वतारोहण र साहसिक पर्यटन वातावरणीय पर्यटन अन्य प्रकार आगंतुकों लागि महत्त्वपूर्ण आकर्षण हो नेपाल । विश्व सम्पदा सूचिमा सूचिकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिथान, ठुला हिमतालहरु, तथा विविध महत्वले भरिपूर्ण धार्मिक तिर्थयात्रा क्षेत्रहरु नेपालमा छन् । जसले पनि संसारभरका पर्यटकलाई थप आकर्षण गरिदिएको छ ।
यस्ता प्राकृतिक छटा मात्र नभएर यहाँ मानवनिर्मित प्रमुख पर्यटक गतिविधिहरु जस्तै पर्वतमा साइकल, बंजीजम्पिङ, ¥याफटिङ, क्यानोनिङ, जिपलाइन, घोडचढी, हात्तिमा सफारी, पदयात्रा, हाइकिङ, प्याराग्लाइडिङ र जंगल सफारीले पनि संसारभरका पर्यटकको ध्यान नेपालमा केन्द्रित भईरहेको छ ।
यस्ता अनेकौं पर्यटकीय गतिविधीलाई नै आयआर्जनको राम्रो सम्भावना ठानेर अहिले स्वदेशी र विदेशी लगानीकर्ताहरुले धमाधम नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानी गरिरहेका छन । अब यो लगानीलाई त्यसै खेर जान नदिने वातावरण बनाउने दायीत्व र संकल्प सरकारले गर्नुपर्छ । हवाई क्षेत्रको पहुँच विस्तार, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा तिब्रता र कोरोनाले थलिएका होटल तथा विविध पर्यटन व्यवसायलाई पुर्नरउत्थान गर्न सरकारले कुनै कसर बाँकी राख्नु हुन्दैन ।
यस्तै सम्भावना र आशाहरुबीच धेरै लगानीकर्ताहरुले कोरोना संक्रमण कालमा समेत आफ्ना पर्यटन उद्योगमा थप लगानी बढाउने, पूर्वाधार विस्तार गर्ने र नयाँ प्रविधी सहित निजी क्षेत्रको लगानी विस्तार हुने क्रमले तीब्रता पाईरहेको छ । यो अवधीमा सरकारले पनि पर्यटन पूर्वाधारकालागि अत्यावसेक ठानिएका क्षेत्रहरुमा नयाँ विमानस्थल बनाउने , सडकमार्ग , पदमार्ग, पर्यटन गन्तव्यको विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।
आगामी नयाँ वर्ष २०७९ सालको प्रारम्भदेखि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तराष्ट्रिय व्यवसायीक हवाई उडान सुरु हुने छ । त्यसपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडानको पहुँच विस्तारको अभियानमा सरकार तिब्रताकासाथ निर्माणको काम अघि बढाईरहेको छ । यसलाई पनि आम पर्यटन व्यवसायीले नेपालमा पर्यटक आगमनको संख्या बृद्धिमा ठुलो महत्व राख्ने अपेक्षा गरिरहेका छन । सोही अपेक्षसँगै निजी लगानीकर्ताहरुले देसको सातवटै प्रदेशमा होटल तथा पर्यटकीय पूर्वाधार विस्तारको अभियानलाई तिब्र बनाईरहेका छन ।
अर्थ मन्त्रालय , र अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जानकारि गराए अनुसार कोरोना महामारिको प्रभावले थलापरेको मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । फलस्वरुप, सन् २०२२ को मार्चसम्मको वितेका तीन महिनाको अवधीमा नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ । सन् २०२२ को मार्च महिनामा मात्र कुल ४२ हजार ६ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए ।
यसमा विभिन्न स्थलगत नाकाबाट प्रवेश गरेका विदेशीको स्ंख्या जोडिएको छैन । पर्यटक आउने क्रम बढेसंगै हाल हेलिकोप्टर व्यवसायमा पनि चहलपहल बढेको छ । जसका कारण अहिलेदेखि नै सगरमाथा क्षेत्र लगायत विभिन्न हिमाली क्षेत्रमा जाने उडानको समय पाउनै मुस्किल हुन थालिसकेको अवस्था छ ।
कोभिडका कारण लामो समयदेखि ठप्प रहेको पर्यटनक्षेत्र बिस्तारै चलायमान हुँदै गएका हाल नेपालको पर्यटन व्यवसायमा पनि नयाँ चहलपहल सुरु भएको सम्बन्धीत व्यवसायीहरुले बताएका छन ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को गत मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशी पर्यटक नेपालमा आएका छन् । सन २०२१ को सोही महिना जम्मा १४ हजार ९७७ जना पर्यटक भित्रिएका थिए भने २०२२ फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक आएका थिए । यो संख्या गत महिना भन्दा २२ हजार २४० जनाले बढी हो ।
गत वर्ष भन्दा ७ गुणाले पर्यटक नेपाल भित्रिएसँगै अहिले हेलिकोप्टर क्षेत्रमा पनि व्यवसायीबीच नयाँ आशा जागेको छ । त्यसमाथि हिमाल आरोहणको सिजन भएकाले पनि हेलिकोप्टरलाई उडानमा भ्याइनभ्याइ भएको छ ।
विगतका दुई वर्षको तुलनामा अहिले धेरै पर्यटक आएको र व्यवसायीमा पनि थप उत्साह जागेको कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको हवाई इन्धनको मूल्यबृद्धिमा हेलिकोप्टर क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उनको भनाई छ ।
अन्य विमानमा जस्तो स्वचालित प्रणालीमा मूल्यवृद्धि नहुने भएकोले पछिल्लो समय व्यस्तता बढेपनि हेलिकोप्टर क्षेत्रको व्यवसायमा नाफा नहुने उनले बताए । कोभिडका कारण विगत दुई वर्षदेखि हेलिकोप्टर क्षेत्र समस्यामा परेको थियो । जसले गर्दा अधिकाशं हेलिकोप्टर कम्पनीहरु घाटामा थिए । उनीहरुले घाटा विवरण सार्वजनिक नगरे पनि करोडौं घाटामा रहेको एक व्यवसायीले जानकारी दिए । अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले पछिल्लो केही साता हिमाली जिल्लामा मौसममा समस्या आउँदा अन्य जहाज जान नसकेको र हेलिकोप्टर प्रयोग बढेकाले व्यस्तता देखाएको बताए ।
तर, केही महिनादेखि बढेको हवाई इन्धनको भाउले भने अर्को समस्या थपिएको उनीहरुको भनाइ छ । उनीहरुका अनुसार पर्यटक बढेसँगै हाल देसको सातवटै प्रदेशका होटल व्यवसाय पनि तंग्रिन थालेको छ । हिमाल आरोहण र पदयात्राको अनुकुल मौसम भएकाले होला सायद अहिले काठमाडौंका होटलहरुमा झन्डै ८० प्रतिशतसम्म् अकुपेन्सी रहेको होटल संघमा आवद्ध व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय सबैभन्दा बढी भारतीय पर्यटक नेपालमा आएको उनीहरुले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि चालु आर्थिक वर्ष २०७८/७९ को वितेका सात महिनाको मुलुकको आर्थिक तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नरहेको बताए । कोभिड पछि पर्यटन आय ८० प्रतिशतले घटेको जानकारि गराउँदै गोल्छाले भने, ‘ यस्तो अवस्थाबाट मुलुकको पर्यटकीय गविविधीलाई पहिलेकै अवस्थामा फर्काउन अब हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् ।’
यसैगरि, उनले देसको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी ७७ प्रतिशत र करिब ७५ प्रतिशत रोजगारी व्यवसायीले नै सिर्जना गरेकाले आगामी दिनमा सरकारले व्यवसायीको हित अनुकुल काम गरिदिनुपर्ने बताए ।
हाल देसको रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ४७५ अर्ब रुपैयाँ पुगिसकेकाले यसको अर्थ अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने नै भन्ने भएकाले अब जतिसक्दो मुलुकमा पर्यटक भित्राएर वैदेशिक मुद्रा आर्जन गर्नु भन्दा अन्य विकल्प नेपालीसँग नभएको बताए । ‘त्यसअघि बैंक वित्तीय संस्थालाई ब्याज बढाउ, त्यसले आयात निरुत्साहित हुन्छ भनियो, बैंकहरुले पनि ब्याज बढाए, अध्यक्ष गोल्छाले भने, तर निक्षेप आउन सकेन ।’
पछिल्लो सात महिनामा निक्षेप करिब डेढ खर्ब रुपैयाँ मात्रै बढेको, कर्जा लगानी भने त्यसको साढे दुई गुणा बढी भएको, ब्याज बढेको र लागत महँगो भएकाले अब यसमा सरकारले गम्भिर विचार पु¥याउनुपर्ने उनको भनाई छ ।
पछिल्लो दुई वर्ष कोभिड पुनरुत्थानका लागि राष्ट्र बैंक मार्फत प्राप्त सहयोगले व्यवसायीलाई तंग्रिन केहि सहज भएपनि कोरोना संकट सहज हुनेबित्तिकै हाल सरकारबाट भएका यस्ता निर्णयले अन्योल सिर्जना भएको भनाई गोल्छाको छ । ‘हामी बिजुलीमा आत्मनिर्भर मात्रै होइन, निर्यात गर्न सक्ने भयौं भनिरहँदा एकाएक उद्योगहरुमा बिजुली काट्न थालिएका छ । यसरी पिक आवरमा विद्युत् अवरोध हुँदा जेनेरेटर नचलाई सुखै छैन’ अध्यक्ष गोल्छाले भने ।
नेपाला राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि लामो समय कोरोना महामारिले थला पारेको मुलुकको पर्यटन क्षेत्रमा हाल कोरोना संक्रमणदर हटेर विस्तारै पर्यटकीय गतिविधी बढ्न थालेसँगै अब केहि समय तन्काएर छाडेको रबर्ड जस्तै सामान्यीकरणपछि मुलुकको पर्यटन लगायत सबै आर्थिक क्षेत्र विस्तारै पुरानै लयमा फर्किने अपेक्षा गरिएको बताए ।
आगामी ३० बैशाखमा हुने स्थानीय तहको नजिकिंदो निर्वाचनले पनि पर्यटन क्षेत्र मात्र नभएर पुरा देसकै अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । त्यसैले अब विदेशी मुद्रा भित्राउन र संचितीको मात्रा जोगाउन जे जे गर्न सकिन्छ गर्दै जानुपर्छ । यसैगरि, रेमिट्यान्स आप्रवाह बढाउन अहिले दिइएको थप एक प्रतिशत ब्याजदर प्रभावकारी नभए अन्य उपाय अपनाएर, हुन्डी लगायतका कारोबारलाई निरुत्साहित गर्न नीतिगत तथा प्रशासनिक तवरबाट काम सर्न सरकार अघि बढ्नुपर्ने भन्दै उनले गैर आवासीय नेपाली (एनआरएन)लाई स्वदेशकै बैंक खाता खोलेर आफुले विदेशमा कमाएको पैसा नेपाल पठाउनेतर्फ पनि सरकारले कदम चाल्नुपर्ने उनको धारणा छ ।
तपाईको प्रतिक्रिया