२९ भाद्र /अर्थ र व्यापार – कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले बताए ।
‘पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं’, उनले भने, ‘पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।’
नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन पूर्वाधार विस्तार गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए । सो क्षेत्रका २६ वटा होटलले पर्यटकलाई सेवा दिइरहेका छन् । अन्य १० वटा होटल थप्ने भनिएपनि कोरोनाले त्यो सम्भव भएन । चार दशकअघि सो आधारशिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा/ भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो ।
२०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पहलमा २०४९ सालपछि सो क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । मापदण्डअनुसार प्रत्येक होटलमा ६ सहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ ।
कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने सो क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यसको उचित व्यवस्थापन, प्रर्वद्धन लगायतमा सहयोग पु¥याउने उद्देश्यले २०७४ सालदेखि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव थालिएको छ । कोरोना महामारिका कारण गत दुई वर्ष सो महोत्सव स्थगित भयो ।
सर्बप्रथम सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । ८ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ को २९ मे मा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले ४ हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो ।
घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् । विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीय परिकार खानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा यहाँका होटेलले विदेशी परिकार पनि पस्कन थालेका छन् ।
एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । होटलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीयम् बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्दै गएको छ ।
कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए । ‘विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन’ थापाले भने, ‘पर्यटक र व्यवसायीलाई सुरक्षित बनाउन चाँडो कोरोना विरुद्धको खोप व्यवस्था गरी थलिएको पर्यटनलाई उठाउनुपर्छ ।’
तपाईको प्रतिक्रिया