logo

चिकित्सा शिक्षामा नयाँ व्यवस्था, अब कक्षा १२ उत्तीर्ण विद्यार्थी सबैले जनरल नर्सिङ पढ्न पाउने

    525   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
अब जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले यो जनरल नर्सिङ पढ्न पाउनेछन् । नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल नर्सिङ पाठ्यक्रम स्वीकृत गरिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।
‘पठनपाठन अघि बढाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै छौं,’ उनले भने, ‘शिक्षा मन्त्रालयको समन्वयमा विश्वविद्यालयहरूले जनरल नर्सिङको पठनपाठन गराउन सक्छन् ।’ हालसम्म एसईई उत्तीर्ण विद्यार्थीले पीसीएल नर्सिङ, प्रमाणपत्र मिड्वाइफेरि तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा बीएस्सी, बीएनएस नर्सिङ र बीएस्सी मिड्वाइफेरि पढ्न पाउने व्यवस्था छ ।
जनरल नर्सिङ यी कोर्सभन्दा फरक तरिकाबाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । प्रि–विश्वविद्यालय कोर्सका रूपमा जनरल नर्सिङको पठनपाठन गराउने तयारी गरेको डा. झाले जनाए । ‘अहिले सञ्चालित पीसीएल, बीएस्सी, बीएनएसलगायत कार्यक्रम पनि सञ्चालनमा नै रहन्छन्,’ उनले भने, ‘अन्य देशको पनि अभ्यासमा रहेको जनरल नर्सिङ अध्यापन गराउन कोर्स स्वीकृत भएको हो । यो विषय पढ्न विद्यार्थी विदेश जाने गरेका छन् । यही पढ्न पाऊन् भन्ने उद्देश्य हो ।’ शिक्षा मन्त्रालयबाट विश्वविद्यालयले सम्बन्धनलगायत प्रक्रिया अघि बढाएर उक्त कोर्स पढाउन सक्ने आयोगले जनाएको छ ।
छिमेकीलगायत अधिकांश देशमा कक्षा १२ पछि मात्रै नर्सिङ पढाउने व्यवस्था रहेकाले त्यहीअनुसार गर्न विज्ञहरूले सुझाउँदै आएका थिए । आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसीको संयोजकत्वमा गठन गरेको नर्सिङसम्बन्धी कार्यदलले पनि कक्षा १२ पछि मात्रै नर्सिङ पठनपाठन व्यवस्था गर्न उपयुक्त हुने सिफारिस गरेको थियो । कक्षा १२ पूरा गरेपछि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न विज्ञ सम्मिलित कार्यदलले पनि सुझाएको थियो ।
सो कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भएको ५ वर्षपछि कक्षा १० पछि पढाइ हुने पीसीएल (प्रमाणपत्र तह) नर्सिङ कार्यक्रम ‘फेज आउट’ गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रमाणपत्रमुनिका अनमि, सीएमएलगायत स्वास्थ्यसम्बन्धी कार्यक्रम ‘फेज आउट’ गरिसकेको छ ।
ऐनमा नर्सिङ पठनपाठन गराउन आफ्नै एक सय बेडको अस्पताल चाहिने व्यवस्थापछि अधिकांश पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनमा रहेका कलेजहरू बन्द भएका छन् । सिट संख्याअनुसार भर्ना हुनुपर्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको सीटीईभीटीले जनाएको छ । कार्यदलले जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पनि एक सय बेडको अस्पताल आवश्यक हुने मापदण्ड तोकेको छ ।
पीसीएल नर्सिङमा सीटीईभीटीसँग २ हजार ८० सिट छ । तर यस वर्ष करिब १८ हजार विद्यार्थीले आवेदन दिएका छन् । कार्यदलले पीसीएल नर्सिङमा विद्यार्थीको ठूलो चाप देखिएकाले नर्सिङ शिक्षण नभएका एक सय बेड वा सोभन्दा माथिका सरकारी अस्पतालमा पनि पढाइ गर्न सुझाव दिएको छ ।
नर्सिङको उच्च शिक्षातर्फ पनि अवस्था उस्तै छ । आर्थिक वर्ष २०८०÷०८१ मा बीएस्सी नर्सिङका लागि ८ हजार विद्यार्थीले आवेदन दिएका थिए । ४ हजार विद्यार्थीले मात्रै मेरिटका आधारमा भर्ना हुने मौका पाए । तर सिट संख्या १ हजार ७ सय २० मात्रै भएकाले सबै विद्यार्थीले भर्ना पाउन सकेनन् । जनरल नर्सिङ कार्यक्रम सुरु भए पीसीएल र स्नातक तहमा भर्ना नपाएका विद्यार्थीले समेत मौका पाउने आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जनाए । देशभर अनमीसहित १ लाख १६ हजार नर्सहरू रहेको काउन्सिलको तथ्यांक छ ।
कक्षा १२ पछि जनरल नर्सिङ पठनपाठन गराउँदा विद्यार्थीमा सामाजिक र भावनात्मक विकास भइसकेको हुने र चिकित्सकीय त्रुटिहरूमा कमी ल्याउन सहयोग पुग्ने विज्ञहरूले दाबी गरेका छन् । कार्यदलको सुझाव प्रतिवेदनमा कक्षा १२ सम्म माध्यमिक शिक्षा भएकाले त्यो पूरा गरेपछि मात्रै नर्सिङ विधामा अध्यापन गराउनु उपयुक्त हुने औंल्याइएको छ । नर्सिङ सेवाको गुणस्तर अभिवृद्धि गर्नसमेत विज्ञ कार्यदलले सरकारलाई सुझाव दिएको छ । मेडिकल क्षेत्रमा विशेषज्ञ विस्तार हुँदै गएकाले ती क्षेत्रहरूमा प्रभावकारी नर्सिङ सेवा प्रदान गर्न ‘पोस्ट बेसिक डिप्लोमा कार्यक्रम’ सुरु गर्न सिफारिस गरिएको छ ।
‘नर्सहरूलाई अपरेसन थिएटर, क्रिटिकल केयर, अन्कोलोजी, एन्डोस्कोपी, डायलसिस जस्ता क्षेत्रमा प्रशिक्षण दिई, विशेषज्ञताका आधारमा अपरेसन थिएटर नर्स, क्रिटिकल केयर नर्स, अन्कोलाजी नर्स, एन्डोस्कोपी नर्स, डायलसिस नर्सको उपाधि दिन उपयुक्त हुन्छ,’ प्रतिवेदनमा भनिएको छ । नर्सिङ जनशक्तिको व्यवस्थापन गर्न माग र आपूर्तिबीच सन्तुलन मिलाउन ‘केन्द्रीकृत नर्सिङ जनशक्ति तथ्यांक प्रणाली’ लागू गर्न सुझाव दिइएको छ ।
हाल तीनवर्षे पीसीएल नर्सिङ ५२ शिक्षण संस्थामा २ हजार ८० सिट, प्रमाणपत्र मिड्वाइफेरि दुई शिक्षण संस्थामा ६०, बीएस्सी नर्सिङ ६३ कलेजका १ हजार ७ सय २०, बीएस्सी मिड्वाइफेरि एउटा कलेजमा २०, बीएनएस ३९ शिक्षण संस्थामा १ हजार १ सय २०, बीएम ५ कलेजमा १ सय ३० र स्नातकोत्तर नर्सिङ १३ कलेजका २ सय ५४ सिटमा अध्यापन हुँदै आएको छ । प्रतिवर्ष देशभित्र उत्पादन हुने जनशक्ति, विदेशबाट भित्रने र देशबाट बाहिरिने जनशक्तिको विवरण यकिन नहुँदा कुल जनशक्तिको अवस्थाबारे तथ्यांक नभएको नर्सिङ काउन्सिलले जनाएको छ ।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा नर्स र बिरामीको अनुपात तोकिएको छ । मापदण्ड पालना नहुँदा नर्सहरू बेरोजगार हुनुपर्ने र न्यून पारिश्रमिकमा काम गर्नुपरेको गुनासो हुँदै आएको छ ।
निर्देशिका अनुसार जनरल कक्षमा प्रति ४ देखि ६ बेडमा एक नर्स, आकस्मिक तथा ‘पोस्ट अपरेटिभ’ कक्षमा दुई बेडका लागि एक नर्स, सघन उपचार कक्ष (आईसीयू, एनआईसीयू, सीसीयू) मा प्रतिशय्या एक नर्स र प्रसूति कक्षको लेबर बेडमा प्रतिमहिला दुई तालिम प्राप्त नर्स वा मिड्वाइफेरि हुनुपर्ने मापदण्ड छ । त्यसबाहेक स्वास्थ्य मन्त्रालयले विद्यालय र प्रत्येक वडामा एक नर्स राख्ने व्यवस्था गरे पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।