ट्रेकिङ एजेन्स्जि एसोसियसन अफ नेपाल (टान) को आगामी निर्वाचनको मिति भाद्र २० (सेप्टेम्बर ६) घोषणा हुनु अघि र पछि, आजका दिनसम्म आईपुग्दा दैनिकजस्तो अध्यक्ष देखि विभिन्न पदमा जान चाहनेहरुले आफ्नो उम्मेदवारी घोषणा गरीराखेका छन । व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्रको अभ्यासको दृष्टिकोणले यो निकै सुन्दर हो र देखिन्छ पनि तर यसको अन्र्तयमा गएर हेर्ने हो भने हालको नेपालको पदयात्रा पर्यटन क्षेत्रको अवस्था बुझ्न सकिन्छ ।
के छ अवस्था ?
सबैभन्दा पहिले यति बुझ्न सकिन्छ कि टानले पछिल्ला केहि वर्षयता आम व्यवसायीहरुको चाहना अनुसार काम गर्न सकेको छैन । यसो भनिरहँदा बडो गम्भिर ढंगले बुझ्नुपर्ने विषय यो छ कि टान एक्लैले चाहेर पनि नेपालको पदयात्रा सम्बन्धि कतिपय विषयहरुको समस्या समाधान गर्न सक्दैन । मुख्यत : नितिगत विषय । नितिगत विषय र समस्या समाधानका लागी टानले सरकारलाई सो विषय संम्बोधनका लागी मात्र दवाव सिर्जना गर्न र सहयोग गर्न मात्र सक्छ । ट्रेकर्स ईन्र्फमेशन म्यानेजमेण्ट सिस्टम (टिम्स ), प्रतिबन्धित क्षेत्रहरु खुल्ला गर्ने विषय वा कर र भ्याट संग सम्बन्धित विषयहरु यस अन्र्तगत पर्दछन ।
अर्को रह्यो, टान स्वयंले गर्न सक्ने गतिविधि । यी गतिविधिहरु पनि टिम्स वापतको रकम नपाएको वा अन्य बाहनामा अप्रभावकारी बन्दै गएका छन । यस्ता गतिविधिमा नयाँ–नयाँ ट्रेकिङ रुटको निर्माण लगायत सदस्यहरुको हक, हित तथा क्षमता अभिवृद्धि वा अन्तर्राष्ट्रिय प्रवद्र्धन लगायतका गतिविधिहरु पर्न सक्छन ।
त्यसवाहेक बुझ्नुपर्ने विषय यो छ कि व्यवसायी फुर्सदिला बनेका छन । मतलव व्यवसाय ओरालो लाग्दो छ । व्यवसायीहरु नेपालको पदयात्रा पर्यटनको भविष्यलाई लिएर चिन्तित छन । पछिल्ला केहि वर्षयता विविध कारणवश नेपालको पदयात्रा पर्यटन क्षेत्र व्यवसायीक दृष्टिकोणले खस्कँदो अवस्थामा छ ।
टान नेतृत्वमा किन यति धेरै आकर्षण ?
पछिल्ला केहि वर्षयता भएका टानको निर्वाचन हेर्ने हो भने यस संस्थाको नेतृत्वमा जान ठूलै दौडधुप हुने गरेको देखिन्छ । भोजभतेर र खानपिनमा हुने खर्चका हिसावले हेर्ने हो भने टानको निर्वाचन पर्यटन क्षेत्रका अन्य संघ–संस्थाका निर्वाचनभन्दा त धेरै गुणा महँगो छ नै, त्यसवाहेक मुलुककै निजी क्षेत्रका अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघकै हाराहारीमा छ । तर टान महासंघको बस्तुगत तर्फको एउटा सदस्य संस्था मात्र हो ।
व्यवसायीहरु टानको नेतृत्वमा पुग्नकै लागी यत्तिको कसरत गर्नुका पछाडी यो संस्थाको गरिमा र महत्व नै हो । विशेषगरी नेपालको पर्यटन क्षेत्रको मुख्य आधार पर्वतिय पर्यटन भएका कारण टानले विगतमा आफ्नो त्यो हैसियत निर्माण गरेको थियो । देशभित्र भन्दा पनि टानले अन्तर्राष्ट्रियस्तरमा आफ्नो गरिमा आर्जन गरेको थियो ।
तर पछिल्ला वर्षहरुमा टानको गरिमा खस्कँदै गयो,राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पनि । देशभित्र टानको गरिमा खस्कनुमा संस्थमा गरिएको अत्याधिक राजनीति,जुन व्यवसायीक संस्थाहरुमा अशोभनिय देखियो,आर्थिक अनुशासनहिनता, पेशेवर राजनीतिज्ञहरुको कमाउने माध्यम र व्यवसायिक घरानाहरुको कर छुटका लागी लविङमा मात्र टानलाई सिमित गराउनु थियो । अन्र्तराष्ट्रियस्तरमा साख गिराउनुका पछाडी युरोप वा अमेरिककाको भिसा प्राप्त गर्न र आफन्तलाई विदेश छिराउन गरिने अत्यन्तै घटिया कार्यशैली प्रमुख हुन ।
तैपनी टानको नेतृत्वमा रहँदा विशेषगरी पर्यटन मन्त्रालय र सरकारसंग बढ्ने सम्बन्ध र आँफुलाई प्राप्त हुने पहुँचका लागी धेरैको आकर्षण देखिन्छ । यसका अलावा व्यवसायमा रहेका समस्या समाधानका लागी पहल गर्छु भन्ने मानसिकता पनि केहि न केहि हुन्छ । कतिपय अवस्थामा यो पदमा रहेका कारण आफ्नो व्यवसायीक प्रयोजनका लागी पनि फाईदा लिनसक्ने अवस्था रहन्छ ।
टान सँधै प्रतिपक्ष ?
टानको नेतृत्वहरुमा कतिपय अवस्थामा सरकारको प्रतिपक्ष जस्तो मानसिकता देखिन्छ । नितिगत रुपमा टानले आफ्ना एजेण्डाहरु लागु गराउन मुख्यतः पर्यटन मन्त्रालयको वाटो हुँदै जानुपर्छ । कतिपय अवस्थामा टान नेतृत्वमा प्रधानमन्त्री वा उच्च राजनीतक नेतृत्व संग व्यक्तिगत चिनजान छ भन्दैमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने भावना देखिन्थ्यो । तर सत्य के हो भने राज्य व्यक्तिगत चिनजान भन्दा पनि प्रक्रियाले चल्छ भन्ने बुझ्न टान नेतृत्व र सदस्यहरुलाई लामो समय लाग्यो । हाल आएर बल्ल व्यवसायीहरुले यो बुझ्न थालेजस्तो देखिन्छ ।
आँफुले चाहेका कामहरुमा सरकारलाई निरन्तर विषयवस्त बुझाउने र सुधारका लागी पहल गर्ने भन्दा पनि विद्यार्थी संगठनहरु जस्तै आन्दोलन (भौतिक वा मानसिक) मै उत्रिने प्रवृत्ति टान नेतृत्वमा देखियो । यसले गर्दा टान सरकारको प्रतपक्ष जस्तो बनेर रह्यो,जसले गर्दा टानले नितिगत परिवर्तमा सफलता हाँसिल गर्न सकेन ।
नेतृत्वमा पुग्न खर्च प्रमुख
टानको विगतका केहि चुनावहरु हेर्ने हो भने निकै खर्चिलो हुँदै गएको देखिन्छ । व्यवसायीको संस्था हो, समोसा तरकारी खुवाउनु पर्छ भन्ने होईन, तर पैसा कमाएको हरेक व्यक्ति,त्यो पैसा रक्सी र मासुमा मात्र खर्च गर्न चाहन्छ भन्ने होईन । लाखौं रुपैयाँ खर्च नगरे टान नेतृत्वमा पुग्न नसकिने भएका कारण कतिपय टानलाई आवश्यक, क्षमतावान व्यक्तिहरु पनि टान नेतृत्वमा जान चाहिरहेका छैनन । जान चाहेकाले पनि थैली राम्रै जम्मा गरिसकेका छन । थैली साधनमात्र हुनु लाई ठिकै मान्न सकिएला तर समयले थैलीलाई साध्य बनाउँदै छ ।
कस्तो नेतृत्व आवश्यक :
नेपालको पर्यटन क्षेत्रको कुरा गर्दा नीजि क्षेत्र अगाडी–अगाडी र सरकार पछाडी पछाडी दौडिरहेको हुनाले पनि टान जस्ता संस्थामा को र कस्तो नेतृत्व आउला भनेर धेरैमा चासो हुनु स्वभाविक पनि हो ।
नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकासका लागी सरकारको भुमिका निकै महत्वपूर्ण हुन्छ । त्यसैले टानको आगामी नेतृत्वले सरकारी निकायहरु संग सहि ढंगले समन्वय गर्दै पदयात्रा पर्यटनको विकासमा खास काम गर्नुपर्ने छ ।
त्यतिमात्र होईन, व्यवसाय खस्कँदो मात्र छैन, प्रविधिमा आएको विकासका कारण प्रतिस्पर्धी बन्दै गएको छ । अर्कोतिर व्यवसाय भित्र मौलाएको अस्वस्थ प्रतिस्पर्धा र केहि विकृत गतिविधिले नेपालको पर्वतिय पर्यटन व्यवसायले अन्तर्राष्ट्रिय वजारमा आफ्नो छवि धुमिल्याएको छ । व्यवसाय भित्र सहि अभ्यास र स्वच्छ व्यवसायीक वातावरण निर्माणमा पनि टानको आगामी नेतृत्वले भुमिका खेल्न सक्नुपर्दछ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । तयारी,व्यवस्थापन वा प्रसार–प्रसारका हिसावले यसमा पर्याप्त कमि कमजोरी छन् तर टानजस्ता व्यवसायीक संस्था र व्यवसायीहरुले त यसमा सहयोग गर्दै सरकारको ध्यान यसमा अझ तान्नुपर्नेमा कतिपय अवस्थामा भ्रमण वर्षकै विरोध गरेजस्तो पनि देखिन्छ । आगामी टान नेतृत्वले नेपाल भ्रमण वर्षको सफलताका लागी सरकारसंग लविईङ गर्दै यसमा सरकारको पर्याप्त ध्यान आकर्षित गर्न र नेपाल भ्रमण वर्षलाई व्यवसाय,व्यवसायी र देशकै हितमा लगाउने ढंगले क्रियाशील वनाउन सक्नुपर्छ ।
नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका वर्तमान नितिगत र व्यवहारीक समस्याको समाधान, व्यवसाय भित्रका गलत अभ्यास र प्रवृत्तिको अन्त्य गर्दै समग्र पर्यटन क्षेत्रको विकासमा आँफुलाई क्रियाशील वनाउन सक्ने नेतृत्व आजको टानका लागी आवश्यक छ, अन्यथा फोटो झुण्ड्याउने बाहेक अन्य काम हुन सक्दैन ।
तपाईको प्रतिक्रिया