logo

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश ,नयाँ बजेट आन्तरिक उत्पादन बढाउनेमा केन्द्रीत हुने

    722   पटक पढिएको

४ जेठ/अर्थ र व्यापार– अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक) का सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका छन् । पूर्वनिर्धाति समय भन्दा केही ढिलो मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री शर्माले आगामी नयाँ बजेटका सिद्धान्त तथा प्राथमिकताहरु संसदमा पेश गरेका हुन् ।
गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनका कारण आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता यस वर्ष पूर्व निर्धारित समय भन्दा केहि ढिलो संसदमा पेश भएको हो । नेपालको संविधान २०७२ को धारा ११९ को उपधारा–३ मा उल्लेख भएको संवैधानिक व्यवस्था अनुसार हरेक आर्थिक वर्षकालागि विनियोजन हुने नयाँ बजेट १५ जेठमा संघिय संसदमा पेश गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
यसैगरि, प्रतिनिधि सभा नियमावली २०७५ को नियम १४२ को उपनियम– ४ मा उल्लेख भएको व्यवस्था अनुसार पनि प्रतिनिधि सभाको बैठकमा नयाँ बजेट प्रस्तुत हुनु भन्दा कम्तीमा १५ दिनअघि बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरिसक्नुपर्ने हुन्छ । सो नियमावलीमा भएको यस्तो व्यवस्था अनुसार १ जेठ अघि नै नयाँ बजेटका सिद्धान्त तथा प्राथकिताहरू संसदमा पेश भएर छलफल शुरु भइसक्नुपर्दथ्यो । तर, यस वर्ष स्थानीय तहको निर्वाचनका कारण आगामी आवकालागि विनियोजन हुने बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गर्न केहि दिन ढिलाई भएको हो ।
यस्तो संवैधानिक व्यवस्था अनुरुप आगामी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता तोकिएको समयमा संसदमा पेश हुन नसकेपछि प्रतिनिधि सभा नियमावली २०७५ को नियम १४२ को उपनियम–४ निलम्बन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सत्तारुढ कांग्रेसका प्रमुख सचेतक पुष्पा भुसाल गौतमले गरेको सो प्रस्तावको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन गरेका थिए । प्रस्ताव पेश गर्दै भुसालले यसपाली गत ३० बैशाखमा सम्पन्न भएको मतदान तथा निर्वाचन सम्बन्धी अन्य कामका कारण सांसदहरू जिल्लामै रहनुपर्ने भएकाले प्रिबजेट छलफल नयाँ बजेट सार्वजनिक हुनुभन्दा १५ दिन अघि गर्न समस्या उत्पन्न भएको बताएकी थिइन् ।
निर्वाचन सकिएलगत्तै आगामी नयाँ बजेटको चटारोमा जुटेको सरकारले मंगलबार बल्ल बजेट अधिवेशन बोलाएको थियो । सोही अनुरुप सदनमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार र बिहीबार प्रि–बजेट छलफल हुने जानकारी दिएका छन् । प्रि बजेट छलफलका लागि बुधबार दिउँसो १ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आगामी ७ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना बनेको छ । त्यसपछि संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्ने छिन् । सोही तयारी अनुरुप सरकारले आगामी १५ जेठमा नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
यस्तो बाध्यात्मक अवस्थाकाबीच आगामी नयाँ बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने बताए । आगामी आवको बजेटमा आयात प्रतिस्थापन गर्नेतर्फ केन्द्रीत हुने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा आन्तरिक उत्पादन अपेक्षा अनुसार बढ्न सकेन । त्यसैले आगामी बजेट आन्तरिक उत्पादन बढाउन केन्द्रीत हनेछ ।’
हाल मुलुकको अर्थतन्त्र लयमा फर्किएको जिकिरे गर्दै उनले आन्तरिक उत्पादन अपेक्षाकृत बन्न नसकेकाले आन्तरिक बजारमा मागको अनुपातमा उत्पादन हुन नसक्दा आयातमा भरपर्नु पर्ने स्थिती आएको बताए । उनले खेतीयोग्य जमिन बाजो र युवाहरु विदेशिएका कारण उत्पादनमा चुनौती बनेको बताए ।
अर्थमन्त्री शर्माले जानकारि गराए अनुसार सरकारले उत्पादनमुखी अर्थतन्त्रको प्रवद्र्धन गर्दै विद्यमान कर प्रणालीमा सुधार गरी कूल राजस्वमा आन्तरिक राजस्वको योगदान बढाउँदै आगामी बजेटमार्फत करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रणालीमा थप सुधार गरी कर प्रणालीलाई दिगो बनाउने लक्ष्य राखिएको छ । सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र तथा पुँजी निर्माणमा उपयोग गर्ने, आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्रको वित्तीय साधन उपलब्धतामा प्रतिकूल प्रभाव पर्न नदिने एवं वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकता र पुँजी निर्माणका क्षेत्रमा मात्रै परिचालन गरिने लगायतका विषयवस्तु समावेश गरिएको छ । यसैगरि, आगामी बजेट मार्फत समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्न तथा साधन स्रोतको न्यायोचित वितरणबाट सामाजिक न्याय प्रत्याभूत गर्न आगामी बजेट निर्देशित हुने उनको दावी थियो ।
त्यसैगरि, घरबारबिहीन तथा भूमिहीन नागरिकलाई सुरक्षित आवासको प्रबन्ध गर्ने व्यवस्था मिलाउने तथा लक्षित वर्गको उत्थान र विकासका लागि ठोस कार्यक्रम तयगरी आगामी बजेट विनियोजन हुने उनले स्पष्ट पारे ।
विशेषगरि, सामाजिक सुरक्षा र कोरोनाले थलिएको मुलुकको अर्थतन्त्र चलायमान बनाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रको प्रवद्र्धनगर्दै आधारभूत उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि गर्ने, तुलनात्मक लाभ एवं अग्र र पृष्ठ सम्बन्ध उच्च भएका स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने आगामी बजेटको नीति रहने अर्थमन्त्रालयले जनाएको छ । आगामी बजेट अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आबद्ध वस्तुहरूको उत्पादन नेपालभित्र गर्न आवश्यक वातावरण निर्माण तथा सहजीकरण गर्नेमा केन्द्रित हुने अर्थमन्त्रालयले जनाएको छ ।
यसैगरि, अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउँदै निर्माणाधीन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने सरकारको प्राथमिकतामा रहने भएको छ । त्यस्तै, उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने, निजी क्षेत्रलाई आर्थिक वृद्धिको इञ्जिनको रूपमा अघि बढाउने, औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवद्र्धन गर्ने, लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा औद्योगिक क्षेत्र सञ्चालन गर्ने व्यवस्था आगामी बजेटमार्फत मिलाइने भएको छ ।
आगामी आवको बजेटमार्फत सरकारले तीव्र आर्थिक वृद्धि र समावेशी एवं सन्तुलित आर्थिक विकासको आधारको रूपमा भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको निर्माण समयभित्र सम्पन्न गर्ने, प्रमुख राजमार्गको विस्तार र स्तरोन्नति तोकिएको समयभित्र सम्पन्न गर्ने, सडक पूर्वाधारको सुधार गरी यात्राको समय घटाउने, नयाँ प्रविधिमा आधारित टनेल तथा द्रुतमार्ग निर्माण अघि बढाउने, आन्तरिक विमानस्थल टर्मिनलहरूको स्तरोन्नति गर्ने कामलाई प्राथमिकतामा राखिएको अर्थमन्त्रालयले जनाएको छ ।
यसैगरि, स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कम्तीमा एउटा सडक बाह्रै महिना यातायात चल्ने गरी निर्माण गर्ने, विद्यमान भौतिक पूर्वाधारको नियमित मर्मत सम्भार गर्ने, पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत निजी क्षेत्रलाई सहभागी गराउने बजेटमा विशेष प्रबन्ध गरिने पनि अर्थमन्त्री शर्माले बजेट अधिवेशनमा जानकारि दिए ।
अर्थमन्त्री शर्माले संसदमा दिएको जानकारी अनुसार आगामी आवको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखिनेछ । उनका अनुसार निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण सम्पन्न गरिनेछ । विद्युतको निर्वाध आपूर्तिको प्रत्याभूति गर्दै ठूला र जलाशययुक्त आयोजनाको लागि स्रोत व्यवस्थापन गर्ने, लघु, मझौला जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास गरी शत प्रतिशत नागरिकलाई विद्युत् सेवा उपलब्ध गराउन सरकारले आगामी बजेटमा व्यवस्था गर्नेछ ।
यसैगरि, आगामी बजेट मार्फत सरकारले ऊर्जाका लागि आवश्यक पूर्वाधार, प्रसारण लाइन र सब–स्टेशनहरूको निर्माण गर्दै विद्युत खपत बढाइने लक्ष्य लिएको छ । त्यसैगरि, आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य प्रणाली र जनशक्ति विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी थप प्रभावकारी बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सार्वजनिक विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधारमा लगानी गर्ने सरकारको जोड रहने छ ।
त्यसैगरि, सरकारले प्राविधिक एवं व्यावसायिक शिक्षा प्रवद्र्धन गर्ने, माध्यमिक शिक्षा हासिल गरेका विद्यार्थीलाई आयआर्जन गर्न आवश्यक सीपयुक्त बनाउने, अनुसन्धान र विकासमा लगानी वृद्धि गर्ने, विश्व जगतमा नयाँ र उदीयमान क्षेत्रमा उच्च शिक्षाको अध्ययनको अवसर स्वदेशभित्रै प्रदान गर्ने र सबै नागरिकलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
त्यस्तै सरकारले आगामी बजेट मार्फत पर्यटन क्षेत्रको पुनरुत्थान–बाह्य पर्यटक आकर्षण गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, निर्माण सम्पन्न हुने चरणमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउने र कोभिड–१९ महामारीबाट प्रभावित होटल लगायत पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको पुनरुत्थान गर्ने विषयलाई बजेटले प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ । पर्यटकीय पूर्वाधार विकासमा लगानी गर्ने, धार्मिक, सांस्कृतिक, साहसिक, मनोरञ्जनात्मक तथा पर्या–पर्यटन विकास गर्ने र पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्ति विकास गर्नेर पुरातात्विक सम्पदाहरूको संरक्षण गरिने छ ।
आगामी बजेट मार्फत सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई दिगो बनाउने, सामाजिक सुरक्षाको कार्यक्रमको कार्यान्वयनलाई एकीकृत रूपमा सञ्चालन गर्ने तथा स्रोत र साधनमा सीमान्तकृत, अल्पसङ्ख्यक तथा विपन्न वर्गको पहुँच अभिवृद्धि गर्ने, महिलालाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने, उत्पादन र वितरणको उचित संयोजनबाट आय असमानता कम गर्ने र गरिबी निवारण गरिने कार्यक्रम अघि बढाउने छ ।

अर्थमन्त्री शर्माले मंगलबार नै राष्ट्रियसभाको दोस्रो बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । सो बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ को उपनियम (३) को व्यवस्थालाई निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । सो प्रस्ताव सांसद अनिता देवकोटाले सदनमा पेस गरेकी थिइन् । सो प्रस्तावलाई सांसद गोपीबहादुर सार्की अछामी र प्रमिला कुमारीले समर्थन गरेका थिए ।
राष्ट्रिय सभामा पहिलो बैठकमा आसनबाट उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दोस्रो बैठकमा भने विरोध गरेको थिएन । एमालेका प्रमुख सचेतक देवेन्द्र दाहालले बैठक नियमित ढङ्गबाट बैठक सञ्चालन गर्न दिने गरी अवरोध खुलाएको र पार्टीको माग भने कायमै रहेको बताएका थिए ।
स्थानीय तहको निर्वाचन सकिएसँगै बजेटको चटारोमा होमिएको सरकारले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत मंगलबारकालागि संसद अधिवेशन बोलाएको थियो ।
वर्तमान संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्रीले बजेट प्रश्तुत गर्न अब १२ दिन मात्र बाँकी छ । गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फ बजेट ल्याएका थिए । त्यसपछि पुनः वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री शर्माले सो बजेटका केही बुँदाहरु परिमार्जन गरी प्रतिस्थापन विधेयक मार्फत चालु आवको बजेट सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।