२७ पुस/ अर्थ र व्यापार - वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय संसदको सार्वजनिक लेखा समितिपछि अझै तीनवटा निकायले छानविन गरिरहेको छ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति मंसिर १९ गते छानविन उपसमिति गठन गर्यो । उक्त उपसमितिलाई एक महिनाको समय दिइएको थियो । तर उपसमितिले एक महिनामा प्रतिवेदन बुझाउन सकेन र पुस २३ गते एक महिना समय थप गरिएको छ ।
छानविन उपसमितिले अहिलेसम्म महालेखा परीक्षकको कार्यलय, नागरिक लगानी कोष, संचय कोषलगायतसँग छलफल गरेको छ । उपसमितिलाई वाइडबडीबाहेक अन्य विमानबारे पनि अध्ययन आवश्यक रहेकोले समय लागेको संयोजक दिपक भट्टले जानकारी दिए । यसैगरी वाइडबडी विमान खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अग्रसरता देखाएको छ । सार्वजनिक लेखा समितिले निर्देशन दिनुअघि देखि नै अख्तियारले वाइडबडीको छानविन गरिरहेको छ ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने वाइडबडीको छानविन हामीले पहिलेदेखि नै गर्दै आएका छौं । प्रारम्भिक छानविन भइरहेको छ । सार्वजनिक लेखा समितिको निर्देशन पछि छानविनमा अख्तियारले थप अग्रसरता देखाएको छ । समितिले छानविन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ । यसैबीच सरकारले गठन गरेको तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगले पनि छानविन सुरु गरेको जनाइएको छ । पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएअनुसार छानविन अगाडि बढाइएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया