२५ पुस/अर्थ र व्यापार - स्थलमार्गबाट नेपाली धागो आयातमा लगाउँदै आएको प्रतिबन्धलाई बंगलादेशले सशर्त फुकुवा गरेको छ । बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले बंगलाबन्ध स्थल भन्सार नाकाबाट नेपालमा उत्पादित धागो आयात गर्न दिने निर्णय गरेको हो ।
बंगलादेशी संचारमाध्यमका अनुसार यो प्रतिबन्ध एक वर्षको लागी मात्र फुकुवा गरिएको छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न बंगलादेशले सन् २००२ देखि बेनोपोल स्थल भन्सार नाका र समुद्री मार्गबाट मात्र धागो आयात गर्न पाउने प्रावधान लागू गरेपछि नेपालबाट धागो निर्यातमा अघोषित प्रतिबन्ध लागेको थियो । बंगलादेशसँग बंगलाबन्ध र फुलबारीस्थल भन्सार नाकाबाट आयात निर्यात कारोबार हुँदै आएको छ ।
नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले प्रतिबन्ध फुकुवा स्वदेशी उद्योगको लागी सुखद उपलब्धी भएको बताए । उनले भने, हामीले वर्ष दिनमै पाँच अर्ब रुपैयाँ बराबरको ऊन बंगलादेश निर्यात गर्न सक्ने संभावना छ । ठूलो परिमाणमा पूँजी ,श्रम र उर्जा खपत हुने भएकोले धागो उद्योग पूर्ण क्षमतामा संचालन हुनु आवश्यक छ । स्वदेशी उद्योगले हाल वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरिरहेका छन् । एक्रेलिक यार्न (ऊन),भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) निर्यात हुन्छ ।
बंगलादेश निर्यातको बाटो खुलेसँगै सरकारले धागो र कपडा उद्योगलाई उपलब्ध गराउने घोषणा गरेको विशेष सुविधा कार्यान्वयनमा ल्याए दुई वर्षभित्र धागोको निर्यात दोब्बर बनाउन संभव रहेको अध्यक्ष गोल्यानले बताए । बंगलादेशमा सोमबार मात्रै नयाँ सरकारको गठन भएकोले औपचारिक जानकारी प्राप्त हुन दुई साताको समय लाग्न सक्ने बंगलादेशी समकक्षीलाई उद्घृत गर्दै संघले जानकारी दिएको छ । उद्योगीका अनुसार धागो र कपडा उद्योगमा कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्ने प्रकृयाबाट ४० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एडिशन) भइरहेको छ । रंगिन धागो उत्पादनमा ६० प्रतिशत सम्म मूल्य अभिवृद्धि हुन्छ ।
सरकारले स्वदेशी धागो तथा कपडा उद्योगलाई प्रोत्साहन गर्न बिजुली महशुलमा पचास प्रतिशत र बैंक ब्याजमा पाँच प्रतिशत सहुलियत दिएकोले बंगलादेशको बजारमा मूल्य प्रतिस्पर्धा सामना गर्न सकिनेमा धागो उद्योग संचालक विश्वस्त छन् । यो बाहेक निर्यातजन्य उद्योगलाई निर्यात प्रोत्साहन वापत थप रकम समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सन् २०१७ देखि नै नेपाली व्यवसायीले बंगलादेशको पञ्चगढस्थित तेतुलिया नाका(बंगलाबन्ध)बाट निर्यातको सुविधा दिन माग गर्दै आएका थिए । बंगलादेशको विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले समेत नेपालबाट एक्रेलिक धागो आयातमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि २८ डिसेम्बरमा एनबीआरले सरोकारवालासँग यसबारे छलफल गरेको थियो ।
नेपालमा सुती धागोको उत्पादन नहुने भएकाले बंगलादेशी सुती धागो उत्पादकलाई असर नपर्ने निष्कर्ष सहित प्रतिबन्ध फुकुवा गरिएको एनबीआरलाई उद्घृत गर्दै बंगलादेशी संचार न्युएजले उल्लेख गरेको छ ।एनआरबीले सन् २०२० जनवरीमा पुनःमूल्यांकन गरेर प्रतिबन्ध फुकुवाको म्याद थप्नेरनथप्ने बारे निर्णय लिनेछ । मूल्यांकन समितिमा बंगलादेश कपडा उद्योग संघ, बंगलादेश उद्योग वाणिज्य महासंघसमेतको सहभागिता रहने छ ।
तपाईको प्रतिक्रिया