आज धेरै ईतिहासमा जान चाहन्न । वि.सं. २०६२÷६३ सालको जनआन्दोलनसंगै मेरो पुस्ता सचेत भएर अगाडी आयो । त्यसअघि के भयो वा के भएन, त्यता पनि जान चाहन्न,कसले यो देशलाई कस्तो बनायो, त्यता पनि नजाऔं तर यो बाह्र वर्षलाई निर्मम भएर समिक्षा गर्नैपर्छ ।
अलिकति व्यक्तिगत प्रसंगमा जाऔं । मसंगै हुर्किएको मेरो पुस्ता जो मेरो विद्यालय तहमा संगै थिए, अधिकांश खाडी वा मलेसिया भासिए । त्यसपछि कलेज दिनका साथीभाईहरु प्लस टु, व्याचलर र मास्टर्स सकेर आ–आफ्ना औकात अनसारका युरोप,अमेरिका वा अष्ट्रेलिया गए । यो क्रम आजका दिनसम्म यथावत नै छ । केहि अहिलेपनि विदेश जान झोलामा डकुमेण्ट बोकेर हिँडेका छन । त्यसपछि लागौं, व्यवसायिक जीवनमा । आफ्नो क्षेत्रमा राम्रै जमेका साथीहरु दिनहुँजसो अमेरिका वा युरोप भासिईरहेकै छन । यो कुरा मेरो सेरोफेरोको मात्र होईन,सायद मेरो पुस्ताको सामुहिक कथा हो । यो कुरा किन पनि विशेष रुपमा उठाईरहेको छु भने सक्षम र दक्ष युवा जनशक्तिलाई दिनहुँ विदेश जान बाध्य बनाएर हामी कसरी,कसका लागी या मुलुक बनाउँछौ भनेर भनिरहेका छौं ?
आखिर किन मेरो पुस्ता जुनसुकै हालतमा पनि नेपाल छोड्ने उद्देश्यमा छ त ? किन यो देशले उनीहरुलाई यहि मुलुकमा बस्ने वातावरण बनाउन सकेके छैन त ? यसको कारण गम्भिर रुपमा खोजी गरिएन भने सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा नारामै सिमित हुनेछ । त्यसका कारणहरुमा जानुभन्दा पहिले वर्तमान पुस्ताको वारेमा केहि विषयवस्तुहरु राख्न चाहन्छु ।
झोलामा ज्ञानका सर्टिफिकेट बोकर विदेश जानेहरु के देशको माया नभएर विदेश भासिएका हुन त ? पक्कै होईन । मेरो पुस्ता सचेत हुँदै गर्दा देशमा ठूलो राजनीतक परिवर्तन मात्र आएन, विश्वले प्रविधिमा ठूलो फड्को मा¥यो । देशको राजनीतिक परिवर्तन ल्याउन मेरो पुस्ता पनि होमियो । प्रविधिकै कारण पनि मेरो पुस्ताले नेपालै रहेर पनि विश्व संग प्रतिस्पर्धा गर्न सक्ने ज्ञान,सीप र क्षमता आर्जन ग¥यो । तर त्यसलाई व्यवहारिकतामा उतार्ने वेला न यहाँ उसलाई कुनै अवसर छ न उ ज्यु हजुर गरेर यो देशमा आँफुलाई टिकाईमात्र राख्न चाहन्छ । किनकी यो पुस्ता आफ्नो क्षमतामा पूर्णत विश्वस्त छ । देशमै केहि गरौं भनेर उद्यम गर्न चाहनेका लागी न यो देशमा कुनै प्रोत्साहन छ, न त एक्कासी कुनै ठूलो पुँजी नै लगानी गर्न सक्ने अवस्थामा उ छ । कुनै पनि किसिमका अवसरहरु नभएपछि उसको एउटामात्र विकल्प छ, आफ्नो क्षमता अनुसार विदेश जाने । हरेक दिन कति नेपाली युवाहरु विदेश जान्छन,तथ्यांक तिर पनि म जान चाहन्न । तर हरेक दिन योग्य युवा जनशक्ति विदेश पठाएर हामी कस्तो सम्बृद्ध मुलुक निर्माण गर्दै छौं, अवको बहस यसमा गर्न जरुरी छ ।
देशको नेतृत्व गर्नेहरुमा कुनै हतारो देखिँदैन । कहिले संविधान निर्माण, कहिले संक्रमणकाल, कहिले संघियता कार्यान्वयन भन्दा भन्दै आखिर यो पुस्ताको उमेरमा बाह्र वर्ष त थपिईसक्यो । त्यो पनि जीवनको सवैभन्दा उर्जाशील समयमा तर यहाँ कुनै छाँटकाँट यो पुस्ताले देखेकै छैन ,अहँ देखेकै छैन । यहि लेख लेखिरहँदा पनि हजारौं युवाहरुले पक्कै सोचिरहनुभएको छ–अहँ, अव यहाँ केहि हुनेवाला छैन,अव वाटो लाग्नुपर्छ ।
आखिर यो पुस्ता किन यो सोचिरहेको छ त ? उत्तर एउटै छ, यो पुस्तालाई हाम्रो राजनीतिक नेतृत्व, उनीहरुको भिजन, उनको कार्यक्षमता, उनीहरुले गर्ने भाषणमा अव रत्तिभर विश्वासै छैन । यता हाम्रा राजनीतिक नेतृत्व र आगामी दिनमा तयार हुँदै गरेको नेतृत्व, क्षमताका आधारमा होईन, हिजोका राजनीतिक संघर्षमा उनीहरुले पु¥याएको योगदानको आधारमा तयार हुँदैछ, नकि उनीहरुको कार्यक्षमता र भिजनका आधारमा । तर अहिलेको युवा पुस्तालाई अव हतार भईसकेको छ, उनीहरु अव तत्काल रिजल्ट खोजिरहेका छन ।
वर्तमान सरकार निर्माणसंगै जनस्तरमा जुन आशा पलाएको थियो,त्यो हरेक दिन नैराश्यतामा परिणत भईरहेको छ । हाम्रा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरुले जसरी समय लाग्छ, काम हुँदैछ भनिरहेका छन, तर त्यो कुरा जनताले विश्वास गरेकै छैन । किन त ? किनकी यो पुस्ताले देश बन्ने कुनै लक्षण नै देखेकै छैन । आखिर किन यो पुस्तालाई सपना देखाउन सकिएको छैन त ? वर्तमान मन्त्रीपरिषद्का निकै आशा गरिएका मन्त्रीज्युहरुको खस्कदों शाख यसको उदाहरण हो । यत्तिका आशा गरिएका व्यक्तिहरुवाट त केहि हुँदैन भने अव कसको आशामा हामी विश्वस्त हुने भन्नेमा यो पुस्ता पुगेको अनुमान गर्न कुनै अप्ठ्यारो छैन । त्यसैकारण दैनिक रुपमा मेरो देश बनाउने आशालाग्दा युवाहरु विदेशिईरहेका छन ।
हिजोको राजतन्त्रका बेलाका राजावादी दलका कुरा छाडौं,कांग्रेसको कुरा पनि छाडौं, आज दुई तिहाई मतका साथ सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेताका छोराछोरीको कुरा गरौं । कसका छोराछोरी नेपालमा छन र कसका विदेशीएका छन त ? पक्कै तपाईं धेरै नेताका छोराछोरी विदेशमा रहेको जानकारी जनताले पाएकै छ । तपाईं आँफैले आफ्ना छोराछोरीलाई यो मुलुकको भविष्यप्रति विश्वस्त पार्न नसकेर विदेश पठाईरहनुभएको छ भने आम युवापुस्ता तपाईंले भनेका र बोलेका कुरामा विश्वस्त भएर कसरी यो मुलुकको सुन्दर भविष्य कुरेर बसिरहने त ? बहस यहि विन्दुवाट सुरु गरौं, समाधान यहिँ वाट सुरु गर्न सन्छि ।
अव के त ?
यो लेखको उद्देश्य कसैलाई दोष दिने होईन,यो मुलुकमा केहि हुनेवाला छैन भनेर निराश वनाउन खोजिएको पनि होईन, हो त खाली हाम्रा युवाहरुमा आशा जगाउन सक्ने केहि त होस भन्ने मात्र चाहना हो । अहिलेको मेरो पुस्ता मेरो बुवाको पुस्ता जस्तो छैन । मेरो बुवाको पुस्ताजस्तो आदर्शमा मात्र अहिलेको पुस्ता छैन । संसार बदलिएको छ, मानव जीवनमा बदलाव आएको छ । प्रविधिमा आएको फड्कोले हाम्रा महत्वाकांक्षाहरु पनि उचालिएका छन । देशको सम्वृद्धिको कुरा गरिरहँदा हरेक व्यक्ति आफ्नो जीवनमा पनि सम्वृद्धि खोजिरहेका छ । हो, त्यसलाई सम्बोधन गर्ने नीति र कार्यक्रम, तत्काल रिजल्ट देखिने केहि काम मात्र गर्न सकेपनि यो पुस्ताले ठूलो आशा देख्नेछ ।
त्यसका लागी तत्काल गर्नुपर्ने कामहरु वारे निम्न सुझावहरु राख्न चाहन्छु ।
१) यो देशमै उद्यम गर्न चाहने युवाहरुका लागी ऋण,अनुदान,सहुलियत जस्ता कुनै न कुनै कार्यक्रम तत्काल ल्याईयोस । यो कार्यक्रम पार्टीका युवाहरुलाई पोस्ने होईन कि विषयगत ज्ञान,सीप र क्षमता भएका युवाहरुलाई प्रोत्साहन गर्नका लागी होस ।
२) हरेक मन्त्रालयहरुवाट एक महिने,दुई महिने,तीन महिने र छ महिने सुधार र निर्माणका योजनाहरु ल्याईयोस र त्यसलाई पुरा गर्न हरेक मन्त्रालयमा अनुगमन तथा निरिक्षण विभाग गठन गरियोस । जसले गर्दा मुलुकमा सुधारका कामहरु भईरहेका छन भन्ने सकारात्मक सन्देशहरु प्रवाहित हुन सकोस र जनतामा आशा जाग्न सकोस ।
३) कर्मचारीतन्त्रमा अपुग क्षमता लाई परिपुर्ती गर्न विषयगत विज्ञहरु राख्ने व्यवस्था गरियोस ।
४) सरकारका मन्त्रीहरुले भाषणमा बोलेका कुराहरुलाई फलोअप गर्ने एउटा विशेष टोलि निर्माण गरियोस,जसले गर्दा मन्त्रीज्युका भाषणहरु अनुसार काम भएको वा नभएको फलोअप गर्ने र नभएको भए तत्काल त्यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकियोस । जसले गर्दा जनताले मन्त्रीज्युहरुका बोलि र व्यवहारमा एकरुपता पाउन सकोस र मुलुकको भविष्यप्रति आशावान बन्न सकोस ।
५) सरकारले प्राथमिकतामा राखेका कृषि,जलस्रोत र पर्यटन क्षेत्रमा सुविधाका विशेष प्याकेजहरु घोषणा गरियोस । जसले गर्दा दिर्घकालिन महत्वका यि क्षेत्रमा आकर्षण वृद्धि हुन सकोस ।
६) दिर्घकालिन ठूला परियोजनाहरुको नियमित अनुगमन प्रभावकारी वनाईयोस ।
तपाईको प्रतिक्रिया