वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंग लामो जेल र भुमिगत जीवनको अनुभव छ, लामो संघर्षको ईतिहास छ । त्यसका प्रति हाम्रो पुस्ताको अगाध श्रद्धा र सम्मान छ, हुनैपर्छ । त्यो भन्दा ठूलो सम्मान सपना देख्न छोडिसकेका नेपालीहरुलाई ओलीले सपना देख्न सिकाए । पछिल्ला वर्षहरुमा आम नेपालीहरुमा यति सम्म निराशा छाएको थियो कि अव यस देशमा नै केहि हुन्छ भनेर आशावान हुन पनि मान्छेले छोडिसकेको थिए । ठीक,त्यसैबखत नेपाली राजनीतिमा ओलीयुगको सुरुवात भयो ।
ओलीले ठट्यौली शैलीमा नै किन नहोस, नेपाली जनतामा राष्ट्रियताको भावना मात्र जगाएनन, धेरथोर आशा पनि जगाए । उनी अघिल्लोपटक प्रधानमन्त्री हुँदा जनतामा खासै ठूला अपेक्षा पनि थिएनन, तर यसपटक उनी प्रधानमन्त्री भएको नौ महिनामा नै जनता सरकारका गतिविधिवाट खुशी देखिँदैनन । आखिर किन त ?
नौ महिनामै रेल वा पानीजहाज आएन भनेर जनता भनिरहेको छैनन वा नौ महिनामै घरघरमा खाना पकाउने ग्याँस पाईपवाट आएन भनेर जनतामा असन्तुष्टि बढेको होईन । तर विहानीले कस्तो दिनको संकेत ग¥यो त ? प्रश्न त्यतातिर हो । र यदि सरकारले जनताको चाहनालाई सम्बोधन गर्ने हो भने त्यसको उत्तर पनि यहि विन्दुवाट खोज्नुपर्ने हुन्छ । समृद्धिको सपना मिठो सुनिएको छ, तर सपनाले मात्र कतिदिन जनता खुशी भएर बस्न सक्लान ।
रातारात परिवर्तन हुँदैन,गर्न पनि सकिँदैन । तर झल्को मात्र दिन नौ महिनाको समय पर्याप्त हो । त्यसमाथि यो फास्टफुडको जमाना हो । जनता पात्रोमा चिन्ह लगाएर वसेका छन ।
उदाहरणका लागी २०६२ / ६३ को जनआन्दोलनमा वालिग हुँदै गरेको र आन्दोलनमा सरिक एक व्यक्ति आज ३० वर्षको भयो । देशको लागी यो लामो समय हुन सक्छ तर एउटा व्यक्तिको जीवनमा यो कालखण्ड जीवनको सवैभन्दा उर्जाशील समय हो,जुन उसले कहिले संविधान,कहिले निर्वाचन वा कहिले समृद्धिको सपना मा वितायो । अव त दुई तिहाईको सरकार छ, त्यसमाथि वर्तमान सरकारले सपना पनि देखायो भने सपना देख्नेको के दोष ? चिन्ता वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन भने जनतामा अव कसले गर्ला भन्ने सोच छिट्टै नै आउनेछ । यदि यो पुस्ता वर्तमान देशको अवस्था प्रति निराश भयो भने देशको भविष्य कस्तो होला ?
धेरै विगतमा पनि फर्कन चाहन्न, तर बहुदल आएपश्चातको हालसम्मको राजनीतिलाई हेर्ने हो भने सत्ता र शक्तिमा रहने, मन्त्री भएकाहरुको जीवनमा परिवर्तन आयो,आम जनताको जीवनमा खासै केहि बदलाव आएको छैन । बहुदल आएपश्चात नै ठूलो नेपाली जनता बैदेशिक रोजगारीको लागी विदेश पलायन भयो । यदि केहि परिवर्तन आएको छ भने त्यो व्यक्तिको व्यक्तिगत प्रयास र विश्वभर आएको परिवर्तनका वाछिटा वा प्राकृतिक परिवर्तन मात्र हो ।
आखिर सपना र सोच राम्रै थियो,तर सपना देखाए अनुसार काम किन हुन सकेन त ? तथ्य, तथ्यांक र सुचकांकमा पनि जान चाहन्न । प्रधानमन्त्री ओलीले देखाएको सपनाप्रति उनकै टिम अर्थात मन्त्रीपरिषद्मा रहेका सदस्यहरु वा मन्त्रीहरुले त्यहि अनसार काम गरेका छन त ? छातीमा हात राखेर ईमान्दारीपूर्वक भन्ने हो भने प्रधानमन्त्री ओली नै आफ्ना मन्त्री परिषद्कका कति जना मन्त्रीहरुको कार्य देखेर चित्त बुझाउलान ? एक वा दुई ? कमसेकम जनताको स्तरवाट हेर्दा त्यो भन्दा वढि देखिन्न ।
आखिर किन त्यस्तो हुन्छ र भईरहेको छ त ? मन्त्री हुनुअगाडी र भएपछिका व्यक्तिको जीवनस्तरमा आकाश जमिनको फरक आउँछ । त्यसका लागी नेकपा भित्रकै एकपटक मन्त्री भएका र नभएका व्यक्तिहरुको जीवनस्तर हेरे पुग्छ । अधिकांश मन्त्रीहरु (अपवाद लाई छोडेर) उनीहरुको विगतमा जे–जस्ता संघर्षका ईतिहास भएपनि एकपटक मन्त्री हुने हो,जीवनलाई आर्थिक रुपमा सुरक्षित वनाउनुपर्छ भन्ने मान्यतावाट निर्देशित छन ।
अव रह्यो समृद्ध नेपाल कसरी ? नौ महिना मा के पहल भए त ? प्रधानमन्त्री कहाँ सडक र जनताको मानोविज्ञाको यथार्थ पुग्छ कि पुग्दैन । म भन्न सक्दिन तर आजको युवा पुस्ता अव बोलेर,लेखेर पनि केही हुँदैन भन्ने अवस्थामा पुगिसकेको छ ।
गाउँका अवस्था विल्कुलद फेरिएको छ । हर घरका हरेक व्यक्ति विदेशिएका छन,मासिक केही हजार कमाउनका लागी । गाउँमा मान्छे मर्दा मलामी जाने व्यक्तिको समेत अभाव भईरहेको छ । कृषिकर्ममा लाग्न चाहने व्यक्ति अत्यन्त न्युन छ । केहि सेलब्रेटि कृषकहरु आउनुलाई सकारात्मक नै मान्नुपर्छ ।
जो–जो उद्योगी व्यापारी सरकारको आसपासमा रहेर काम गरेका छन,अर्बौ पैसा उनीहरुले नै कमााएका छन, अरुमा त्यस्तो उत्साह देखिँदैन । सरकारी कोषमा रकम थुप्रिएर बसेको छ, काम हुन सकेको छैन । न्यान्य माग्दै जनता महिनौंसम्म आन्दोलित छन । यस्तै अवस्था रहे कतै, समृद्ध मन्त्री र दुःखी नेपाली भन्ने नारा स्थायी रुपमै कायम रहने त होईन ?
राजनीतिक नेतृत्वले कर्मचारीलाई,कर्मचारीले नेतालाई दोष दिएर कतिन्जेल यो देशलाई पछौटेपन र जनतालाई दुःखी राखिरहने त ? त्यसैले अव द्रुतगतिमा काम गरेर जनतालाई रिजल्ट दिनुपर्छ । त्यसका लागी ध्यान दिनुपर्ने विषयवस्तुहरु बुँदागत रुपमा राख्न चाहन्छु ।
१) सरकारले आफ्ना प्राथमिकता के हुन र त्यसलाई पुरा गर्न कति समयमा के काम सम्पन्न गर्ने कार्यतालिका सम्पन्न गरोस । सिंगो राज्यको ध्यान जनतावाट निर्वाचित राष्ट्रपतिलाई हेलप्डाड वा करोडौंको खाडी खरिदमा दिएर आम जनतालाई भुईंमान्छे र दुःखी महशुश गर्नुपर्ने अवस्था नल्याईयोस । वा कुनै विवादित अन्तर्राष्ट्रिय धर्म प्रचारक संस्थाका गतिविधिमा सम्पूर्ण राज्य लाग्नु जनताको खुशी हुँदै होईन ।
२) आर्थिक वा नैतिक रुपमा विवादित मन्त्रीहरुलाई फिर्ता बोलाईयोस । मन्त्रीहरुले आँफैले घोषणा गरेका कार्ययोजना पुरा नगरेमा उनीहरुलाई उनीहरुकै कार्यतालिका प्रति जिम्मेवार वनाईयोस ।
३) हरेक मन्त्रालयलाई समय तोकेर यति समयभित्र यति काम र बजेट खर्च गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था गरियोस । त्यसको अनुगमनका लागी छुट्टै अनुगमन युनिट खडा गरियोस ।
४) जनताको प्रत्यक्ष दैनिकीसंग जोडिएका सडक,मालपोत,यातायात व्यवस्था विभाग,सार्वजनिक सवारी जस्ता विषयमा तत्काल सुधारका प्रयास थालियोस ।
५) समयमै काम सम्पन्न गर्ने सरकारी कर्मचारीलाई प्रोत्साहन र ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डको व्यवस्था गरियोस ।
६) राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयले अनुगमन र निरक्षणको व्यवस्था गरियोस ।
यति काम मात्र गर्न सकेको खण्डमा मात्र पनि जनताले राहत महशुश गर्न सक्छ ।
तपाईको प्रतिक्रिया