३ फागुन /अर्थ र व्यापार - कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) कार्यान्वयनमा ल्याइने भएको छ । अब तेस्रो मुलुकबाट आउने सामान इसिटिएस प्रणालीमार्फत आएपछि कागजपत्रको झझण्ट कम हुने जनाइएको छ । तेस्रो मुलुकबाट आएको सामान कोलकातामा कागजात जाँचपासको प्रकृयाका लागि लामो समय लाग्दैन् । वीरगंज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि ढुवानी लागत सस्तिने दाबी गरेको छ ।
विगत ८ महीनादेखि विशाखापट्टनम्बाट इसिटिएसको सुविधा उपलब्ध छ । हाल रेल्वेको कन्टेनरमा यो सुविधा शुरु गर्ने र डेढ महिनापछि कोलकाताबाट ट्रकमा आउने कन्टेनरमा समेत इसिटिएसको सुविधा जडान गर्ने बताइएको छ । इसिटिएस लागू भएपछि नेपाली आयातकर्ताले क्लियरिङ एजेन्टमार्पmत् ८ वटा कागजपत्र २४ ठाउँमा हस्ताक्षर गराउने झन्झट हट्नेछ भने शिपिङ लाइनले वीरगंजसम्म कन्टेनर पुयाएपछि कन्टेनर बुझाएको समय शुरु हुनेछ । जुन पहिले जहाजबाट कोलकाता बन्दरगाहमा कन्टेनर झार्ने बित्तिकै समय शुरु हुन्थ्यो ।
एजेन्टहरुले हस्ताक्षर गराउनुपर्ने निहुँमा चलखेल गरी सामान्य जाँचपासमा झन्झट र भन्सार प्रक्रियाको नाममा व्यवसायीहरुबाट पैसा असुल्ने कामको पनि अन्त्य भएको बताइएको छ । अनलाइन प्रणालीबाट विदेशबाट शिपिङ लाइनले नै ती सामानहरु वीरगंजसम्म ल्याइदिन्छन् ।
कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्छ । तर ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट पर्दैन ।
२१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च लाग्छ । अब यो खर्च जोगिएको छ । कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा मालसामान छुटाएर ट्रेलरमा कन्टेनर हालेर ल्याउँदा कोलकाता बन्दरगाहमा ८ प्रकारका कागजात जुटाउनुपर्छ । ती कागजातमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सिटिडी फर्म), इन्भ्वाइस, बिल अफ लेडिङ, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, इम्पोर्ट लाइसेन्स अफ नेपाल, इन्सुरेन्सको कागज, एलसी वा ड्राफ्ट हुन् ।
पहिला कोलकाता बन्दरगाह र भन्सारका अधिकारी गरी ३० चरण पार गर्नुपर्छ र २२ वटा दस्तखत गराउनुपर्छ । नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले एक इलेक्ट्रोनिक डिभाइस लगाएर सिधै नेपाल पठाइदिन्छ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर)ले बन्दरगाहमा लेखेर दिनुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया