१२ असार/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको टोलीले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण अनुगमन गरेको छ ।
प्राधिकरणका सञ्चालक तथा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोलीले आयोजनाको कार्यप्रगतिको निरीक्षण अनुगमन गरेको हो ।
सो प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि सम्पूर्ण कर्णालीमा देखिएको विद्युतको समस्या समाधान हुने विश्वास लिइएको छ । त्यस क्षेत्रमा अन्य साना जलविद्युत् आयोजना निर्माणका लागि बाटो खोल्ने लगायत कणालीको विकासमा महत्त्वपूर्ण योगदान गर्ने सो प्रसारण लाइन नेपाल सरकार र प्राधिकरणको उच्च प्राथमिकतामा छ ।
प्रसारण लाइन निर्माणको क्रममा बाँकेको बानियाभार क्षेत्रमा ३ ओटा पोल निर्माण तथा कन्डक्टर तान्न स्थानीयले अवरोध गरिरहेको अवस्थामा उक्त निरीक्षण गरिएको हो। अवरोध भएको स्थानमा के कसरी काम गर्ने भन्ने सम्बन्धमा बाँकेका प्रमुख जिल्ला अधिकरीको उपस्थितिमा बैठक तथा छलफल भएको थियो ।
सो बैठकमा प्रमुख जिल्ला अधिकारीले सारा कर्णालीवासीलाई गुणस्तरीय भरपर्दो विश्वसनिय विद्युत् आपूर्ति गर्ने परियोजना कुनैपनि बहानमा रोकिन नहुने बताए । उनले वास्तविक प्रभावित जग्गाधनीसँग छलफल गर्न सकिने तर पीडितको नाममा विभिन्न सरोकारवाला वा अन्य गैरपीडित पक्षसँग कुनै छलफल परामर्श नहुने बताए । उनले विकास निर्माणमा अवरोध पु¥याउनेप्रति प्रशासन निर्ममता पूर्वक प्रस्तुत हुने चेतावनी दिए ।
कोहलपुरदेखि सुर्खेतसम्म नै स्थलगत निरीक्षण गरेको टोलीले विभिन्न स्थानमा निर्माण व्यवसायीबाट भएको कामको गुणस्तर अनुगमन समेत गरेको थियो । सोही अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई समेत भेटेर सम्पूर्ण कर्णालीको विद्युतीकरणका लागि प्राधिकरणले प्राथमिकताका साथ काम गरिरहेको टोलीले जानकारी गराएको थियो।
मुख्यमन्त्री कँडेलले प्रदेश तथा स्थानीय सरकारहरू विकास निर्माणको काममा हातेमालो गर्न तयार रहेको बताए । उनले प्राधिकरणले समेत विकास निर्माणको काममा अधिकतम छलफल र परामर्श गरी काम गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया