११ असार/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से समान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३३ अंकले घटेर २६ सय दशमलब २० विन्दुमा झरेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि सामान्य घटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति तथा सूचीकृत कम्पनीको चालु आव चौथो त्रैमासको वित्तीय विवरण पर्खेका लगानीकर्ता अहिले सेयर बजारमा देखिएको साइडवेजका कारण थप अन्योलमा देखिएका छन् । मौद्रिक नीति र चालु आवको विवरण नआएसम्म लगानी बढाउने वा घटाउने निर्णय गर्न नसक्दा सेयर बजारले अपेक्षाकृत रुपमा गति लिन नसकेको सम्बन्धीत लगानीकर्ताहरुको अनुमान छ ।
यसदिन १ सय १२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । जस मध्ये मोदी हाइड्रोपावर कम्पनी र तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतको सर्किट लेवलमा बढेको छ । १ सय ३४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
बुधबार नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । कुल ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार २ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन ५ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा सबैभन्दा धेरै रकम बराबरको सेयर कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । यसदिन सो कम्पनीको ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।
यसदिन बैंकिङ उपसमूहको सेयर मुल्य १.२९ प्रतिशत , वित्त उपसमूहको ११.४१ प्रतिशत, लगानी उपसमूहको ०.४३ प्रतिशत , उत्पादन उपसमूहको १४.४३ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ९.९३ प्रतिशत, अन्य समूह उपसमूहको ४.८१ प्रतिशत र व्यापार उपसमूहको ४५.११ प्रतिशतले घटेको छ ।
यसैगरी, विकास बैंक उपसमूहको १.३३ प्रतिशत, होटल उपसमूहको ९६.१९ प्रतिशत, जलविद्युत् उपसमूहको २३.७१ प्रतिशत, जीवन बीमा उपसमूहको ८.०१ प्रतिशत, लगानी उपसमूहको ०.०१ प्रतिशत र निर्जीवन बीमा उपसमूहको १२.४५ प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया