१६ असार/अर्थ र व्यापार – विश्व बैंकको दक्षिण एसिया क्षेत्रको उपाध्यक्षमा योहानेस जुट नियुक्त भएका छन्। यसअघिका उपाध्यक्ष मार्टिन रेजरको स्थान उनले लिने भएका हुन्। जुटको नियुक्ति मंगलबारदेखि लागू हुनेछ ।
दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा विश्व बैंकको नेतृत्व गर्नेछन् । साथै, उनले ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग तथा वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्ने जिम्मेवारी पाएका छन्।
उनको नेतृत्वमा दक्षिण एसियामा रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता, मानव पुँजी विकास र निजी पुँजी परिचालनका क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ।
जुट डच नागरिक हुन् । उनी सन् १९९९ मा विश्व बैंकमा आबद्ध भएका थिए । त्यसयता उनले विभिन्न जिम्मेवारीहरू सम्हालेका छन् ।
हालै उनी ब्राजिलका लागि विश्व बैंकका निर्देशक थिए। त्यसअघि उनी संचालन नीति तथा देश सेवा उपाध्यक्षको कार्यालयमा रणनीति, नतिजा, जोखिम र अध्ययनका निर्देशक थिए।
यसअघि उनले नेपाल, बंगलादेश र भुटानका साथै टर्कीए, कोमोरोस, इरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देशीय निर्देशकको रूपमा काम गरिसकेका छन्।
‘म दक्षिण एसियाले पछिल्ला १० वर्षमा हासिल गरेका उल्लेखनीय विकास प्रगतिलाई देखेर निकै खुशी छु,’ जुटले भनेका छन्, ‘यो नयाँ अवसर पाएर म उत्साहित छु र फेरि एकपटक यस क्षेत्रका जनताको आत्मीयता र यहाँको सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गर्न पाउनेछु भन्ने अपेक्षा गरेको छु। ’
जुटले टोरन्टो विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर गरेका छन्। साथै, हार्वर्ड विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । जुट भारतको नयाँ दिल्लीमा रहेर काम गर्नेछन् ।
तपाईको प्रतिक्रिया