१७ पुस/ अर्थ र व्यापार - वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री र तीन पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गर्ने भएको छ । खरिद प्रक्रियामा छानबिन गरिरहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित चार जनालाई कारबाहीको सिफारिस गरिएको छ ।
स्रोतका अनुसार बहालवाला मन्त्री अधिकारी पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको छ । अन्य पूर्वमन्त्रीहरू मुछिए पनि चार जनाको कार्यकालमा शङ्कास्पद गतिविधि भएकोले कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ ।
समितिले तयार पारेको ५७ पृष्ठ लामो प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ । प्रतिवेदनमा अझै थपघट गर्न बाँकी छ । बुधवार दिउँसो ११ बजे मात्र प्रतिवेदन समितिलाई बुझाउने तयारी गरिएको छ । सोमबारसम्म तयार पारिएको प्रतिवेदनमा कमिसनलगायत हालसम्म पेस भएको प्रमाणका आधारमा ३ अर्ब ७७ करोड अनियमितता भएको ठहर गरिएको छ । तर यो रकम बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
वायुसेवा निगम र मन्त्रालयले अहिलेसम्म पनि खरिदबिक्रीको सक्कल कागजात उपलब्ध गराएका छैनन् । उक्त कागजात आउँदा अनियमितताको रकम खुल्ने स्रोतले जनाएको छ । प्रतिवेदनमा महाप्रबन्धक सुगरत्न कंशाकारलाई तत्कालै निलम्बन गर्न सुझाव दिइएको छ भने नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न सुझाव दिइएको छ । यसै गरी निगम सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पनि निलम्बन र कारबाहीको सिफारिस गरिएको छ ।
वाइडबडी विमान खरिदका लागि भन्दै फ्रान्सको भ्रमण गरेका ३८ जनालाई पनि कारबाहीको सिफारिस गरिएको छ । उक्त टोलीमा विज्ञभन्दा विचौलियाहरु सहभागी भएकोले उनीहरूलाई कारबाही गरी रकम असुल उपर गर्न उपसमितिको प्रतिवेदनमा भनिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले वाइडबडी विमान खरिदमा प्रक्रियागत अनियमितता भएको उल्लेख गरेको थियो । प्रतिवेदन अध्ययन पछि लेखा समितिले छानबिन सुरु गरेको हो । छानबिनका क्रममा महालेखा परीक्षक, बहालवाला मन्त्री, पूर्वमन्त्रीहरू, निगम र सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरिएको थियो । छलफलका क्रममा पर्यटनमन्त्री रबीन्द्र अधिकारीले महालेखा परीक्षककै राय अनुसार आफूले किस्ता तिर्न अनुमति दिएको बताएका थिए । तर महालेखा परीक्षक टङ्कमणि शर्माले उक्त भनाई को खण्डन गरेका थिए ।
तपाईको प्रतिक्रिया